
४ चैत, विराटनगर । विराटनगरको रत्ना होटलमा दुई विवादास्पद समूहबीच कुटाकुट भएको छ । आइतबार राति १२ बजे रत्ना होटलको क्यासिनो परिसरमा किरण लामा र रोनाल कँडेलसँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको हो ।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ । तर प्रहरी मौन बस्नाले विराटनगरको होटल बिग र होटल रत्नामा रहेको क्यासिनोमा नेपाली नागरिकले सहज प्रवेश पाइरहेका छन् ।
दुई समूहबीच कुटाकुट भएपछि प्रहरी पुगेको थियो । प्रहरी पुग्दा दुवै समूह भागिसकेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेदप्रकाश जोशीले होटलमा कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
उनका अनुसार आफूमाथि कुटपिट भएको भन्दै निकेश गिरीले किरण लामा र रोनाल कँडेलविरुद्ध उजुरी दिएका छन् । निकेश विवादास्पद अभिषेक गिरीका भतिज पर्छन् । जाहेरी परेपछि घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार आइतबार राति अभिषेक गिरी रत्नाको होटलको क्यासिनोमा थिए । (गिरी सम्पर्कमा आउन चाहेनन् । उनका सहयोगीहरु गिरी होटलमा भएको दाबी गर्छ ।)
राति करिब १२ बजे किरण लामा र रोनाल कँडेल क्यासिनोमा पुगे । बाउन्सरले उनीहरुलाई प्रवेश दिएनन् । रत्नाको क्यासिनोमा उनीहरुलाई प्रवेश निषेध छ । पटक-पटक प्रवेश गर्दै झगडा गरेका कारण उनीहरुलाई निषेध गरेको थियो ।
बाउन्सरले दुई जनालाई रोकेकै बेला निकेश गिरी सामान लिएर क्यासिनोमा प्रवेश गर्न खोजे । बाउन्सरले उनलाई भित्र जान दिए पनि मदिरा सेवन गरेका लामा र कँडेललाई रोके । त्यही विवादमा निकेशमाथि कुटपिट भयो ।
निकेशलाई कुटपिट गरेको देखेपछि अभिषेक गिरी क्यासिनोबाट बाहिर आए । उनी सधैं ५/६ जनाको समूहमा हिँड्छन् । ‘त्यसपछि दुई समूहबीच कुटाकुट भयो,’ प्रहरी स्रोतले भन्यो, ‘दुवै पक्षका घाइते छन्, तर प्रहरी पुग्नुअघि भागे ।’
होटलको क्यासिनो अगाडि गिरीको समूहसँग लामा र कँडेलबीच कुटाकुट भएको थियो । अविशेष गिरीको गमला प्रहारबाट टाउकोमा चोट लागेको छ ।
किरण लामा एमालेको नवनिर्वाचित जिल्ला कमिटी सदस्य हुन् । मिटरब्याज असुलीको धन्धामा संलग्न उनलाई एमाले नेताहरुको संरक्षण छ । राजनीति आडमा लामाले छुट्टै समूह चलाइरहेका छन् । प्रहरी प्रशासनसँग राम्रो सम्पर्क बनाएका उनले जग्गाको कारोबार पनि गर्छन् ।
रोनाल कँडेल पटकपटक विवादमा आइरहन्छन् । मोरङ प्रहरीको रेकर्ड अनुसार उनी यसअघि सात पटक पक्राउ परिसकेका छन् । २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो । २०७३ मा ज्यान मार्ने उद्योग, २०७४ सालको साउनमा सार्वजनिक अपराध, असोजमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो ।
२०७७ सालमा उनी ठगी मुद्दामा पक्राउ परेका थिए । केही समय कारागार बसेर छुटेका उनीविरुद्ध गत भदौ १ गते ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो । विराटनगर महानगरपालिका-११ का ३२ वर्षीय कँडेलसहितले पूर्वमन्त्री तथा नेकपा (एमाले)की नेतृ भगवती चौधरीका छोरा दुहबी नगरपालिका-२ घर भएका २८ वर्षीय द्रव्यराज चौधरी र उनका साथी २७ वर्षीय बालकृष्ण चौधरीमाथि गत भदौ १ गते आक्रमण गरेपछि ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो ।
२०८० पुस २७ गते होटल बिगको क्यासिनो भित्र भएको विवादका कारण बाहिर कँडेलमाथि खुकुरी प्रहार भएको थियो । कँडेलको गुण्डागर्दी विराटनगरको बसपार्कबाट सुरु भएको थियो ।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी छुटेका अभिषेक गिरीमाथि नेपाली कांग्रेस नेताहरुको संरक्षण छ । कुनै समय विराटनगरमा अभिषेक गिरी समूहको बोलवाला थियो । गिरी युवती प्रयोग गरेर फिरौती मागेको आरोपमा २०७१ साल साउन तेस्रो साता पक्राउ परे । त्यसपछि विराटनगरको गुण्डागर्दी साम्य भएको थियो ।
अपहरण मुद्दामा कैद भुक्तानपछि गिरी गत २०७९ चैत ६ गते कारागारबाट छुटे । कारागारबाट छुटेपछि उनले आफूलाई सामाजिक गतिविधिमा सक्रिय भएको देखाउँछन् । समाजेवी भएको दाबी पनि गर्छन् । कांग्रेसका कार्यक्रमहरुमा पनि देखा पर्छन् । कारागारबाट छुटेपछि उनले ‘गिरी फाउन्डेसन’ खोलेका छन् ।
गुण्डागर्दीमा संलग्न भएको आरोप लागिरहने उनी ‘कोशी सुधार अभियान’ पनि सञ्चालन गर्छन् । कारागारमा चौकीदार हुँदा गिरी पटकपटक विवादमा आएका थिए । कारागारबाट छुटेपछि पनि विवादमा आइरहेका छन् ।
प्रतिक्रिया 4