+
+
Shares
स्ववियु चुनाव :

फर्जी परिचयपत्रको लफडाले राराब क्याम्पसको स्ववियु चुनाव अन्योल

जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा भने फर्जी परिचयपत्रको लफडाले स्ववियु चुनाव अन्योलमा छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ चैत ४ गते २२:१३

४ चैत, जनकपुरधाम । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा भोलि ‌मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुँदैछ । तर जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा भने फर्जी परिचयपत्रको लफडाले स्ववियु चुनाव अन्योलमा छ ।

सोमबार दिउँसो ३ बजे जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कुनै चहलपहल थिएन । केही विद्यार्थी र विद्यालयका प्रोफेसर क्याम्पस प्राङ्गणमा थिए भने स्ववियु सभापति मनिष यादव एक विद्यार्थीको फारम भर्ने काममा समन्वय गर्दै थिए ।

सोमबार यस क्याम्पसमा चुनावका लागि गत फागुन १३ गते उपप्राध्यापक धीरेन्द्रकुमार यादव निर्वाचन अधिकृत रहेको १३ सदस्य निर्वाचन समिति गठन भएको छ । तर तोकिएको समयमा चनाव नहुने स्ववियु सभापति यादवले बताए ।

‘यहाँ त दल र मनोनयन नै दर्ता भएको छैन । मतदान त परको कुरा हो,’ उनले अनलाइनखबरलाई सुनाए ।

फागुन १९ गते दल दर्ताको समय तोकिएको थियो । तर १८ गते नै क्याम्पस प्रमुख बसन्तलाल कर्ण र निर्वाचन अधिकृतको कार्यालयमा गत फागुन १८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी छ । विभिन्न सात विद्यार्थी संगठनले कार्यालयमा लगाएको ताला अझैसम्म खुल्न सकेको छैन । अनेरास्ववियु बाहेकका विद्यार्थी संगठनले संयुक्त रुपमा ताला लगाएका छन् । ताला लाग्नुको कारण हो, चुनावको मुखमा क्याम्पसले बनाएको विद्यार्थीको फर्जी परिचयपत्र ।

स्ववियु सचिव करण साहका अनुसार गत फागुन १८ गते क्याम्पस बाहिर सडकमा एकजनासँग करिब २५ वटा फर्जी विद्यार्थीको परिचयपत्र फेला परेको थियो । त्यही दिन विद्यार्थी संगठनहरुले तीनसूत्रीय माग राख्दै क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाइदिए ।

‘यहाँ त दल र मनोनयन नै दर्ता भएको छैन । मतदान त परको कुरा हो’- मनिष यादव, स्ववियु सभापति

‘क्याम्पस बाहिर सडकमा एकजनाको साथबाट विद्यार्थी नै नरहेका २५ जनाको फर्जी परिचयपत्र भेटियो । मलगायत तीनजनाले फेला पार्यौं,’ लोकतान्त्रिक विद्यार्थी संघबाट स्ववियु सचिव जितेका साहले भने ।

उनका अनुसार फेला पार्ने बेला जसपा नेपाल निकट जनता समाजवादी विद्यार्थी युनियनका क्याम्पस इकाई सभापति गौतम यादव र उपसभापति राजेश कर्ण थिए । त्यति मात्र होइन, क्याम्पस प्रमुखले विभिन्न शाखाहरुमा छड्के गर्दा दर्ता-चलानी शाखामा हुनुपर्ने स्ट्याम्प अन्य शाखामा फेला परेको विद्यार्थीहरुको दाबी छ ।

‘दर्ता-चलानीमा हुनुपर्ने स्ट्याम्प अन्य शाखाहरुमा फेला परेको छ । यसले फर्जी विद्यार्थीको परिचयपत्र बनाएर चुनावमा चलखेल हुने शंका छ,’ अखिल स्वतन्त्र विद्यार्थी युनियनका इकाई सभापति अजयसिंह कुशवाहाले भने ।

विद्यार्थी संगठनहरुले फर्जी परिचयपत्रबारे छानबिन हुनुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने र डिजिटल कार्ड लागू हुनुपर्ने सहितको माग राखेका छन् ।

यस विषयमा क्याम्पस प्रमुख कर्णले तदारुकता नदेखाउँदा विवाद समाधान हुन नसकेर निर्वाचन अन्योल बनेको विद्यार्थी संगठनहरुको गुनासो छ । ‘क्याम्पस प्रमुखले यस विषयमा चासो लिएको भए समयमै विवाद समाधान हुन्थ्यो । तर उहाँले खासै चासो दिनुभएको छैन । त्यसकारण निर्वाचन प्रक्रिया अन्योल बनेको हो,’ अखिल क्रान्तिकारीका इकाई सभापति सुशान्त यादवले गुनासो गरे ।

जनकपुरको रामस्वरुप सामसागर बहुमुखी क्याम्पसका स्ववियु सभापति मनिष यादव, सचिव करण साह सहितका विद्यार्थी नेताहरु । तस्वीर : शैलेन्द्र महतो/अनलाइनखबर

क्याम्पस प्रमुखले फर्जी परिचयपत्र बाँड्ने, असम्बन्धित शाखामा भेटिएको स्ट्याम्प छाप राख्ने कर्मचारीलाई कारबाही गर्न नचाहेकाले विवाद समाधान हुन नसकेको जनमत विद्यार्थी संघ इकाई सभापति अजय दासले आरोप लगाए ।

स्ववियु सभापति मनिष यादवका अनुसार वर्तमान अवस्थामा पनि स्ववियु निर्वाचन गर्न नेपाल विद्यार्थी संगठन (नेविसंघ) र अनेरास्ववियु सहमत छन् । तर अन्य संगठन भने फर्जी कार्डबारे पत्ता लगाएर दोषीमाथि कारबाही र डिजिटल कार्ड बनाउनुपर्ने अडानमा छन् ।

तालाबन्दीको समयदेखि विद्यार्थी संगठनका स्ववियु इकाई सभापतिहरुसँग पाँच पटक क्याम्पसले छलफल गरिसकेको छ । तर छलफल विनानिष्कर्ष लाग्न नसकेको सभापति यादवको भनाइ छ ।

बीबीएस र एमबीएस प्रथम वर्षका विद्यार्थीको परिचयपत्रबारे ठूलो समस्या रहेकाले त्यसलाई खारेज गरी आफ्नै हस्ताक्षर भएको नयाँ परिचयपत्र जारी गर्ने प्रस्ताव राख्दा विद्यार्थी संगठनहरूले अस्वीकार गरेका छन् ।

अखिल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका सभापति सुशान्त यादवका अनुसार चैत ७ गते फेरि त्रिपक्षीय वार्ताको समय तोकिएको छ ।

यता, क्याम्पस प्रमुख कर्णले निर्वाचन प्रक्रियामा उत्पन्न अन्योल आफ्नो कमजोरीका कारण नभएको दाबी गरे ।

‘विद्यार्थी संगठनहरूको माग सम्बोधन गर्न पाँच पटक बैठक गरिसकेका छौं । छलफल गर्न तयार छौं । तर हस्ताक्षर गर्न मान्दैनन् । यस्तो अवस्थामा क्याम्पस प्रमुख दोषी कसरी हुन सक्छ ? मैले सक्दो प्रयास गरिरहेको छु,’ उनले भने।

उनका अनुसार बीबीएस र एमबीएस प्रथम वर्षका विद्यार्थीको परिचयपत्रबारे ठूलो समस्या रहेकाले त्यसलाई खारेज गरी आफ्नै हस्ताक्षर भएको नयाँ परिचयपत्र जारी गर्ने प्रस्ताव राख्दा विद्यार्थी संगठनहरूले अस्वीकार गरेका छन् ।

‘उनीहरू डिजिटल परिचयपत्र लागू गर्नुपर्ने अडानमा छन् । त्यसका लागि समय र रकम दुवै चाहिन्छ । मतदाता नामावली जस्तै आईडी कार्ड बनाउन तस्वीर खिचाउन विद्यार्थीहरूलाई क्याम्पस आउनुपर्छ । जसका लागि कम्तीमा एक महिना लाग्छ र करिब १० लाख रुपैयाँ खर्च हुन्छ । यो तुरुन्त सम्भव छैन,’ उनले स्पष्ट पारे ।

बीबीएस र एमबीएस प्रथम वर्षका विद्यार्थीहरूको परिचयपत्रसम्बन्धी समस्या गम्भीर भएकाले छानबिन समिति गठन गर्न प्रस्ताव गरिएको तर विद्यार्थी संगठनहरूले सहमति नजनाएको उनको भनाइ छ ।

२०७९ मा भएको राराबको स्ववियु निर्वाचनमा प्रत्यक्षतर्फ सचिवबाहेक सबै नेविसंघले जितेको थियो । २१ सदस्य स्ववियु समितिमा नेविसंघबाट प्रत्यक्ष र समानुपातिक गरी सभापतिमा मनिष यादव लगायत १४ जना जितेका थिए । सचिवमा भने लोकतान्त्रिक विद्यार्थी संघको प्रत्यक्ष र समानुपाति गरी ४ सदस्य छन् । अखिल क्रान्तिकारीका दुई र जनमतका १ सदस्य छन् ।

राराब क्याम्पसमा उत्पन्न विवादका कारण त्रिभुवन विश्वविद्यालयले केही दिनअघि नै सूचना जारी गरी निर्वाचन स्थगित गर्ने सूचना जारी गरिसकेको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?