५ चैत, काठमाडौं । अर्जुन घर्तीले अविजित रहँदै उत्कृष्ट पारी खेलेपछि कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई मध्यम लक्ष्य दिएको छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको हो । कर्णालीका लागि अर्जुन घर्तीले अविजित ८८ रन बनाए ।
७७ रनमा ५ विकेट गुमेपछि ब्याटिङमा आएका घर्तीले राम्रो पारी खेल्दै टोलीको इनिङ उकासे । ९५ बलको सामना गरेका उनले ११ चौका र २ छक्का प्रहार गरे । त्यसअघि हिमांशु शाहीले ४६ रन बनाए ।
कोशीका लागि बिपिन महतोले ३ विकेट लिए । दिपेश कँडेल र प्रकाश कार्कीले २-२ विकेट लिँदा शर्वन किस्कु र सुजन थपलियाले १-१ विकेट लिए ।
कर्णालीले ४ खेल खेल्दा १ जित मात्र निकालेको छ भने कोशीले ५ खेलमा १ जित निकालेको छ ।
प्रतिक्रिया 4