+
+
Shares

इटालीमा पूर्णतः एआई प्रयोग छापियो अखबार, विश्वकै पहिलो भएको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते २०:४२

५ चैत, काठमाडौं । इटालीको एउटा दैनिक अखबारले पूर्णतः आर्टिफिसियल इन्टलिजेन्स (एआई) प्रयोग गरेर एउटा संस्करण प्रकाशित गरेको छ ।

समाचार लेखन, शीर्षक, उद्धरण र व्यंग्यसम्म पनि एआईबाट तयार गरेर प्रकाशन गरिएको यो विश्वकै पहिलो अखबारको संस्करण भएको दाबी यसका प्रकाशकहरुले गरेका छन् ।

बेलायती समाचार संस्था द गार्डियनले लेखेअनुसार, Il Foglio नामको दैनिक पत्रिकाले एआईले पत्रकारिताको काम गर्ने शैली र दिनचर्यामा पारेको प्रभाव देखाउने उद्देश्यले यो काम गरेको हो । ‘यो पहल एक महिनासम्म चल्ने पत्रकारिता प्रयोगको हिस्सा हो’, पत्रिकाका संस्थापक गिउलिआनो फेराराले भनेका छन् ।

चार पृष्ठको एआई संस्करण पत्रिकाको मुख्य संस्करणसँगै समावेश गरिएको भनिएको छ । ‘यो संसारभरि पत्रिका स्टलहरुमा पाइने पहिलो दैनिक पत्रिका हुनेछ, जुन पूर्ण रुपमा आर्टिफिसियल इन्टलिजेन्सबाट सिर्जित छ’, फेराराले भनेका छन् ।

उनले भविष्यमा पत्रकारको भूमिका एआईलाई प्रश्न सोध्ने र जवाफ पढ्ने मात्र हुनसक्ने भनेका छन् । यो परीक्षण यस्तो बेला भएको छ, जतिबेला विश्वभरिका समाचार संस्थाहरु एआईलाई कसरी प्रयोग गर्ने भनेर संघर्ष गरिरहेका छन् ।

गएको महिना बेलायती समाचार संस्था बीबीसीले पनि प्रयोगकर्तालई उनीहरुको रुचि अनुसार सामग्री दिन एआई प्रयोग गर्ने तयारी गरेको सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?