
स्पेनको एल मार्को र पोर्चुगलको भार्जिया ग्रान्डे गाउँलाई जोड्ने एल मार्को पुल विश्वकै सबैभन्दा छोटो अन्तर्राष्ट्रिय पुल हो ।
जम्मा ६ मिटर (१९ फिट) लम्बाई र १.४५ मिटर चौडाइ भएको यो काठे पुल तर्दा पश्चिम युरोपको एक ग्रामीण इलाकाको एउटा सानो खोलामात्रै तरिएको हुँदैन, तपाईं एक देशबाट अर्को देशमा पुगिसक्नु भएको हुनेछ ।
यतिमात्र कहाँ हो र ? यो पुल तर्दा प्रामाणिक समय नै फरक हुन्छ । किनकि युरोपले केन्द्रीय युरोपेली समयलाई प्रमाणिक समय मान्दछ भने पोर्चुगलले ग्रिनविच मिन टाइमलाई प्रामाणिक समय मान्दछ । त्यसैले टाइम ट्राभलका लागि यो पुल तर्नु नै संसारकै सबैभन्दा सजिलो बाटो हो ।
विगतमा स्पेन र पोर्चुगलबीचको तस्करीको अनौपचारिक मार्गको रुपमा रहेको यो पुल हाल सामुदायिक लगानीको संरचनाको रुपमा स्थापित भैसकेको छ र सन् २००८ मा हालको यो पुल बनेको हो ।
सेन्जेन सम्झौताले यी दुई युरोपेली मुलुकबीचको आवागमनलाई स्वतन्त्र र सहज बनाइदिएकोले अहिले यहाँबाट तस्करी आवश्यक पर्दैन ।
यो काठे पुलबाट पैदल तथा दुईपांग्रे सबारी साधन मात्रै वारपार हुन सक्छन् । यो पुल तर्नेमा केवल स्थानीय गाउँलेहरु मात्र छैनन्, यो अन्तर्राष्ट्रिय पर्यटकको समेत आकर्षणको केन्द्र बनेको छ ।
प्रतिक्रिया 4