६ चैत, काठमाडौं । स्पीनर ललित राजवंशीले लगातार तेस्रो खेलमा तथा समग्रमा चौथोपटक ५-विकेट प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौं जित निकालेको छ ।
बुधबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई हराउँदै अपराजित यात्रा कायमै राखेको हो । पुलिसले गण्डकीलाई ७ विकेटले हराएको हो ।
गण्डकीले दिएको ९३ रनको सामान्य लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । कप्तान दिपेन्द्रसिंह ऐरीले ५४ रन बनाए । अर्जुन साउदले अविजित १८ रन बनाए ।
गण्डकीका बिपिन खत्री र सुबास भण्डारीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी पुलिसका बलरसामू संघर्ष गर्दै २३.२ ओभरमा ९२ रनमा अलआउट भएको थियो । अर्जुन कुमालले सर्वाधिक ४८ रन बनाए । रोहित चन्द र सुबास भण्डारीले समान १० रन बनाए ।
पुलिसका ललित राजवंशीले ५.२ ओभरमा ७ रन दिएर ५ विकेट लिए । उनको प्रतियोगितामा यो चौथो ५-विकेट प्रदर्शन हो । उनले ६ खेलमा कुल २६ विकेट लिइसकेका छन् । गुल्शन झाले ८ ओभरमा ४२ रन दिएर ४ विकेट लिए ।
योसँगै पुलिसले ६ खेलमा १२ अंक जोडेर शीर्षस्थानमा कायमै रहँदै फाइनल पुग्ने सम्भावना लगभग निश्चित गरेको छ । गण्डकी ६ खेलमा २ अंकसहित १०औं स्थानमा छ ।
प्रतिक्रिया 4