+
+
Shares

पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र जितेका धामी भन्छन् : विचारले कोही स्वतन्त्र हुँदैन

लामाचौरमा विद्यार्थी संगठनलाई स्वतन्त्रको धक्का

क्रान्तिकारी विद्यार्थीको छवि बनाएका दार्चुलाका धामी क्याम्पसमा लोकप्रिय थिए ।  सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत धामी विद्यार्थीका समस्या लिएर क्याम्पस प्रशासनमा गइरहन्थे । त्यसैले संगठनलाई हराएर निर्वाचित भए । 

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते ७:४१

७ चैत, पोखरा । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) संगठनको बिरासतलाई भत्काउँदै स्वतन्त्र उम्मेदवार प्रकाश धामीले इन्जिनियरिङ अध्ययन संस्थानको पश्चिमाञ्चल क्याम्पसमा इतिहास रचेका छन् । यसअघि तीन संगठनले पालैपालो स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गरेका थिए ।

विद्यार्थीका समस्या उठाइरहने धामीले भारी मतान्तरले जित्दा संगठनहरुाको दबदबा तोडिएको छ । नेत्रविक्रम चन्द्र विप्लवनिकट अखिल (समाजवादी) समर्थित धामीले स्वतन्त्रबाटै उम्मेदवरी दिएका थिए ।

दार्जुलाबाट इन्जिनियरिङ पढ्न पोखरा आएका धामी स्वतन्त्रबाट उम्मेदवार बनेर चुनावी अभियान चलाउँदा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ भने आन्तरिक विवादमा थियो । नेपाल विद्यार्थी संघको एउटा समूह रिले अनसनमै थियो भने अनेरास्ववियु (क्रान्तिकारी)भित्र पनि राजनीतिक गुटको प्रभाव थियो ।

एमालेनिकट अनेरास्ववियुका उम्मेदवार उनको निकटतम् प्रतिद्वन्द्वी थिए । तर, एजेण्डा र लोकप्रियताले जित आफ्नो पोल्टामा पारेका धामीले २६७ मतअन्तरले जितेका हुन् । धामीले ७१६ मत ल्याउँदा अनेरास्ववियुका अनुप न्यौपानेले ४४९ मत ल्याएको निर्वाचन अधिकृत दीपक थापाले जानकारी दिए ।

अध्यक्षमै नेविसंघका उम्मेदवार सौगात पण्डितले ३४६ र माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)का आदर्श महत क्षेत्रीले १७८ मत प्राप्त गरे ।

स्थापनाकालदेखि नेपाल विद्यार्थी संघले दबदबा राखेकोमा २०६५ सालमा अखिल (क्रान्तिकारी) बाट सुमन गिरीले स्ववियु चुनाव जितेका थिए । २०७३ सालमा अनेरास्ववियुका इन्द्र पौडेलले जितेका थिए । २०७९ सालमा विवादका कारण चुनाव हुन सकेको थिएन ।

क्रान्तिकारी विद्यार्थीको छवि बनाएका धामी क्याम्पसमा लोकप्रिय थिए । सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत धामी विद्यार्थीका समस्या लिएर क्याम्पस प्रशासनमा गइरहन्थे ।

राजनीति आफ्नो जीवनको अभिन्न अंग भएपछि विद्यार्थीको सुझावबाट स्वतन्त्र उम्मेदवारी दिएको धामी बताउँछन् । ‘मैले आफ्नो जीवन यात्राको ४ वर्ष यस पश्चिमाञ्चल क्याम्पसको काखमा बिताउने अवसर प्राप्त गरे । मनले यो चार वर्ष बन्दकोठामा बसेर मात्र बिताउन मानेन । विद्यार्थीहरुका समस्याहरुमाथि प्रहार र अभावहरुको पूर्ति गर्ने गहिरो चाहनाले तीन वर्ष विद्यार्थी राजनीति पनि गरे,’ धामी भन्छन्, ‘त्यहाँ मैले के-के गरे, केके योगदान दिएँ त्यो डब्लुआरसीका सारालाई अवगत नै छ ।’

नयाँ ढंगले जीवनलाई लैजान खोजिरहेका बेला विद्यार्थी राजनीतिको सर्वोच्च मेला स्ववियु निर्वाचनले आफूलाई स्वतन्त्र उम्मेदवारका रुपमा उभ्याएको धामी बताउँछन् ।

अहिलेसम्म गरेको क्रान्तिकारी विद्यार्थीको राजनीतिक अनुभव र विद्यार्थीका मागलाई ध्यान दिएर स्वतन्त्र उठेको उनको भनाइ छ । ‘धक फुकाएर भन्छु, यो देशमै विद्यार्थी राजनीतिले कतै पनि नगरेका कामहरु गरे, कसैले पनि नदिएको सन्देश दिए । विद्यार्थीका लागि सिधा भन्दा गोरु जस्तै पनि जोतिएँ । नराम्रो भन्ने केही पनि गरिएन । सबैलाई प्रेमपूर्ण व्यवहार नै गरयो । जीवन्त रहने काम गरिए र यात्रा मेरो लागि सदैव सम्झनाका पत्रहरुमा अमर छ,’ धामी भन्छन्, ‘लेखेर राख्दा हुन्छ मेरो नेतृत्वको स्ववियु देशकै उत्कृष्ट हुने छ ।’

मानिस विचारले कोही पनि स्वतन्त्र रहन्न तर संगठित रुपले कहिले संगठित त कहिले स्वतन्त्र हुने उनको बुझाइ छ । अबको २ वर्ष कसैको दबाब र प्रभावमा नपरी काम गर्ने उत्कृष्ट मनसाय बोक्दै स्ववियुको नेतृत्व गर्ने धामीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?