
७ चैत, काठमाडौं । काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियुको मतदान आज भइरहेको छ । विवादका कारण चैत पाँच गते हुन नसकेको स्ववियु निर्वाचन आज बिहानदेखि जारी छ ।
पद्मकन्यामा नेविसंघका दुई उम्मेदवार कायम छ । नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार र बागी उम्मेदवार भूपि ऐर छन् ।
परियारले नेविसंघबाट र ऐरले स्वतन्त्र समूह बनाएर उम्मेदवारी दर्ता गराएकी थिइन् । त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भूपि ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका थिए । तर, निर्वाचन समितिले पूर्णिमाया परियारलाई नै आधिकारिकताको मान्यता दिएको छ ।
परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।
पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका छन् ।
सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी कायम छ ।
अनेरास्ववियुले सभापतिसहित चार पद लिने सहमति भएको छ ।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव निकट अखिल समाजवादीले पनि गठबन्धन गरेका छन् ।
उनीहरुको गठबन्धनबाट विप्लव निकट विद्यार्थी संगठन अखिल समाजवादीबाट प्रजिता दर्नाल सभापतिको उम्मेदवार छिन् । उनको प्यानलबाट अरुणा गौतम सचिव र आयुषा पण्डित क्षेत्री कोषाध्यक्षको उम्मेदवार छन् ।
पद्मकन्यामा नेविसंघको दबदबा छ । २०३६ सालयता यो क्याम्पसमा कम्युनिस्ट धारको विद्यार्थी संगठनबाट शशी श्रेष्ठबाहेक कसैले पनि नतिजा आफ्नो पक्षमा पार्न सकेका छैनन् । श्रेष्ठले २०३८ सालमा पीकेको स्ववियु अध्यक्ष जितेकी थिइन् ।
तर यसपटक नेविसंघलाई विगतको बिरासत जोगाउने चुनौती छ । नेविसंघमा एकता हुन नसक्दाको लाभ उठाउने दाउमा अन्य विद्यार्थी संगठन छन् । तर फुटमा पनि जित निस्किने दाबी नेविसंघका नेताहरुको छ ।
प्रतिक्रिया 4