+

नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता र सम्भाव्यता

२०८१ चैत  ७ गते १३:२२ २०८१ चैत ७ गते १३:२२
नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता र सम्भाव्यता

खेलकुद विज्ञान विश्वस्तरबाट स्वीकार गरिएको नवीनतम ज्ञान विज्ञानको क्षेत्र हो। बहुआयामिक क्षेत्र ओगटेको खेलकुद विज्ञान समय सन्दर्भ तथा समकालीन आवश्यकताको सिद्धान्तअनुसार यो विधालाई विश्वविद्यालयस्तरको प्राज्ञिक अध्ययन अनुसन्धानको फराकिलो दायरामा समाहित गर्न नेपालमा पनि खेलकुद विश्वविद्यालय स्थापना हुन आवश्यक देखिन्छ।

खेलकुद प्रज्ञा परम्परा, यसको ज्ञान-विज्ञान विधा र अभ्यास आफैंमा वैश्विक प्रकृतिको भएको हुनाले नेपालमा स्थापना हुने खेलकुद विश्वविद्यालय नेपालको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने ढंगको र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उत्कृष्ट गुणस्तरयुक्त हुनुपर्ने मान्यता बमोजिम खेलकुदकै समाजशास्त्र, खेलकुदकै अर्थशास्त्र, खेलकुदकै विज्ञान, खेलकुदकै इञ्जिनियरिङ, खेलकुदकै प्रशासन, खेलकुदकै गणित, खेलकुदकै भाषा, खेलकुदकै व्यवस्थापन, खेलकुदकै मनोविज्ञान आदि जस्ता विधाबाट स्वदेशी एवं विदेशी विश्वविद्यालयको समकक्षी ज्ञान, सीप तथा क्षमता सुनिश्चित गर्नुपर्ने हुन्छ।

विश्वव्यापी रूपमा खेलकुद विषयको अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने विश्वविद्यालयहरू अधिक मात्रामा सञ्चालनमा आएअनुसार ती विश्वविद्यालयहरूले खेलकुद क्षेत्रमा अधिक मात्रामा सफलताहरू हासिल गरेको पृष्ठभूमिमा नेपालमा पनि खेलकुद विश्वविद्यालय स्थापनाको आवश्यकता खड्किएको छ।

अब नेपालमा स्थापना हुने खेलकुद विश्वविद्यालयको माध्यमद्वारा नेपालमा खेलकुदको औद्योगीकरण, खेल पर्यटन, साहसिक खेललगायतलाई समावेश गरी स्वस्थ र स्वच्छ जनशक्तिको निर्माण गरी विश्व ओलम्पिकसम्म खेलाडीहरूलाई सक्रिय सहभागिता गराई राज्यको शिर उच्च राख्नका निम्ति र भविष्यमा आउने नयाँ पुस्ताहरूलाई खेलकुद एक प्रमुख औपचारिक शिक्षा हो भनी विश्वास दिलाउँदै भविष्यमा राज्यले मनग्य आम्दानी गर्न मार्गदर्शनको भूमिका खेल्नुपर्दछ।

‘खेलकुद र प्राज्ञिकता सँगसँगै’ भन्ने मूल मन्त्र बोकेर नेपालमा स्थापना हुने प्रक्रियामा रहेको नेपाल खेलकुद विश्वविद्यालयले सबैका लागि खेलकुद, सबैका लागि खेलकुद विश्वविद्यालय, सधैँका लागि खेलकुद, सधैँका लागि खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय एकता, अनुशासन, सुशासन, शान्ति तथा समृद्धिका लागि खेलकुद र खेलकुद विश्वविद्यालयजस्ता कुराहरूको पक्षपोषण गर्दछ।

नेपाल रैथाने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको संगम हो। योग, आयुर्वेद, प्राकृतिक चिकित्साको जन्मथलो हो। पुर्खाको ज्ञानलाई संस्कारमा उनेर जीवन्त राख्ने धराधाम हो। शास्त्र तथा संस्कारमा ज्ञान-विज्ञान खोज्ने र खोजाउने एक्काइसौं शताब्दीको सोच कार्यान्वयन गरिरहेको ठाउँ हो। देशको यो रैथाने तागत अझै पनि छरपस्ट अवस्थामा छ। यो तागतलाई एकीकृत गरी कार्यान्वयन गर्ने संस्थाको भने अभाव छ। त्यो संस्थाले नेपालका रैथाने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको एकसाथ विकास गर्ने चिन्तन बोक्नुपर्ने हुन्छ।

रैथाने खेलकुदको खोजी गरी तिनको विकास गर्दै राष्ट्रिय खेलकुद बनाउनु पर्ने हुन्छ। राष्ट्रिय स्तरमा दरिएका खेलकुदलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने हुन्छ। यसबाहेक मधेस, पहाड तथा हिमालका सम्भाव्य खेलको खोजी गरी तिनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्नु उत्तिकै आवश्यकता छ। यसरी भएका, बनेका र बन्न सक्ने सबै खेलकुदसँग सम्बन्ध हुनेगरी स्वस्थ शारीरिक शिक्षाको बाह्य तथा आन्तरिक ज्ञान दिनुपर्ने हुन्छ।

नेपालमा खेलकुद क्रियाकलाप अभ्यास मात्र गर्ने र औपचारिक रूपमा खेलाडीहरूलाई ज्ञान नदिंदा उनीहरू शिक्षाबाट वञ्चित हुनु परेको अवस्था छ। साथै, रूचिअनुसारको शिक्षा लिन पाउनु पर्ने नागरिकहरूको नैसर्गिक अधिकारबाट समेत वञ्चित हुनुपरेको पीडालाई मूल्यांकन गर्दा नेपालमा अविलम्ब खेलकुद विश्वविद्यालयको आवश्यकता देखिन्छ।

खेलकुदकै समाजशास्त्र, खेलकुदकै अर्थशास्त्र, खेलकुदकै विज्ञान, खेलकुदकै इञ्जिनियरिङ, खेलकुदकै प्रशासन, खेलकुदकै गणित, खेलकुदकै भाषा, खेलकुदकै व्यवस्थापन आदिबाट स्वदेशी एवं विदेशी विश्वविद्यालयको समकक्षी ज्ञान, सीप तथा क्षमता सुनिश्चित गर्नुपर्ने हुन्छ। यो नवीन तर आवश्यक कामको थालनी गर्दा अनुसन्धान, प्राज्ञिक कक्षा तथा जनसेवा एकसाथ सञ्चालन गर्नु आजको आवश्यकता हो।

यसो गर्दा स्वस्थ शरीर, नैतिक मूल्य र मान्यता, उत्पादन तथा रोजगार, देशप्रेम, भौगोलिक सहकार्य सहितको शैक्षिक उपलब्धि हासिल गर्न सकिन्छ। अन्ततः नेपालमा खेलकुद विश्वविद्यालयमार्फत खेलकुद पर्यटनलाई स्थानीय तहदेखि प्रदेश हुँदै संघीय तहसम्म संस्थागत गर्न सकिन्छ।

हालसम्मको जानकारीअनुसार नेपालमा १९ रैथाने खेलहरू छन्। ११८ अन्तर्राष्ट्रिय खेल तथा खेलका संघ-संस्थाहरू छन्। राष्ट्रिय तहमा ३६ भन्दा बढी खेलहरू खेलाउन, पढाउन तथा अनुसन्धान गर्न सकिने सम्भावना पनि छ। यस्तो अपार सम्भावनालाई व्यवस्थित गर्दै उच्च शिक्षा दिने शैक्षिक संस्थाको स्थापना र सञ्चालन गर्न ढिला भइसकेको छ।

नेपालमा हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय समानान्तर रूपमा सञ्चालनमा छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालय शिक्षामा समन्वयको काम गर्छ भने विद्यालय शिक्षा सञ्चालनको क्षेत्राधिकार स्थानीय सरकारमा रहेको छ। राष्ट्रिय शिक्षाको लक्ष्यअनुसार विद्यालयहरूले विद्यार्थीहरूलाई तहगत शिक्षा सम्बन्धी ज्ञान प्रदान गर्छन् भने विश्वविद्यालयहरूले उच्च शिक्षातर्फ अध्ययनरत विद्यार्थीहरूको शिक्षा र अनुसन्धानलाई केन्द्रमा राखेर अध्यापन गर्छन्।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् र सो मातहतमा रहेका खेल सङ्घ—संस्थाले खेलाडीहरूलाई खेलसम्बन्धी शीप प्रदान गरिरहेका छन् । तर त्यो शीप तथा ज्ञान प्राज्ञिक र बैज्ञानिक ढंगले दिन र लिन नसक्दा असफलता र लगानीको सुरक्षा गर्न सकिएको छैन ।

आजको युवा विद्यार्थीहरू नै खेलाडी र खेलाडीहरू नै विद्यार्थी भएका कारण शिक्षा र खेलकुद बीच समन्वयको आवश्यकता पर्छ। हाल शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय अन्तर्गत १३ वटा विश्वविद्यालय र प्रतिष्ठानहरू छन्। यी विश्वविद्यालयहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, नेपाल खुला, राजर्षि जनक, गण्डकी र मनमोहन प्राविधिक विश्वविद्यालयहरू समावेश छन्। यी विश्वविद्यालयहरूले देशभरि उच्च शिक्षा प्रदान गर्दै आएका छन्।

विश्वविद्यालयहरूमा विभिन्न विधागत संकायहरू छन्। यी विश्वविद्यालयहरूमा खेलकुदका स्नातकोत्तर तहका कार्यक्रमहरू पनि सञ्चालनमा छन्। तर, खेलकुदका ज्ञान सम्बन्धी अनुसन्धान केन्द्र (Research Wing)हरू स्थापित भएका छैनन्।

हालसम्म नेपालमा कुनैपनि खेलकुद विश्वविद्यालय नभएका कारण हालका विश्वविद्यालयहरूले खेलकुदका संकाय सुरु गरे पनि खेलकुद सम्बन्धी कुनै अनुसन्धान र विकास गर्न सकेका छैनन्।

खेलकुदको महत्व र गहिराई बुझ्न अन्य विश्वविद्यालयबाट सम्भव छैन। खेलकुदबारे विश्वभर थुप्रै अन्तर्राष्ट्रिय संघसंस्थाहरू, जस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र विभिन्न खेल महासंघहरू छन्, जसले खेलकुद सम्बन्धी विविध अनुसन्धानात्मक कार्य, खोजी कार्य र पाठ्यक्रम निर्माणका कार्यहरू गर्दै आएका छन्।

खेलकुदका ज्ञानहरू खेलाडीसम्म पुर्याउन पर्याप्त खेल विज्ञ जनशक्तिको आवश्यकता पर्छ। ती जनशक्ति उत्पादन गर्न विभिन्न देशहरूमा खेलकुद विश्वविद्यालयहरूको स्थापना भएका छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका खेलाडीहरूलाई सम्बन्धित संघका प्रशिक्षकहरूले खेल विज्ञान, खेल कानून आदि जस्ता विषयहरू बारे सैद्धान्तिक, विशिष्टीकृत र यथेष्ट ज्ञान दिनु पर्छ।

यस्ता विषयहरूको ज्ञान नियमित प्रशिक्षणबाट मात्र सम्भव छैन। यसको लागि सम्बन्धित विषयका विज्ञको आवश्यकता पर्छ, जुन खेलकुद विश्वविद्यालयबाट उत्पादन हुन्छ। नेपालमा खेलकुद विश्वविद्यालय नहुँदा खेलकुद विज्ञान विषय अध्ययन अनुसन्धान गर्न विद्यार्थीहरू अन्य देशहरूमा जानु परेको छ। यदि नेपालमा खेलकुद विषयका विज्ञ उत्पादन नभएसम्म नेपालको तर्फबाट अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदको पदक हात पार्न, खेलकुद सामग्री उत्पादन र खेल पर्यटनको विकासमा लगभग असम्भव छ।

यसका साथै, खेलकुद विश्वविद्यालयमा खेल व्यवस्थापन, खेलकुद बजार (Sport Marketing), खेल सञ्चार (Sport Media), खेल सम्बन्धी पूर्वाधार, खेल कार्यक्रम व्यवस्थापन (Sport Event Management) जस्ता विषयहरूको अध्ययन पनि हुने भएकाले यसबाट खेलका संघसंस्था, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्रालयहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, नियमित आम्दानी गर्न र खेल प्रतियोगितामा जीत हासिल गर्न मद्दत पुर्याउने छ।

खेलकुदलाई व्यवसायिक ढंगले सञ्चालन गर्न खेलकुद विश्वविद्यालयको आवश्यकता पर्छ। शिक्षासित सम्बन्धित विश्वविद्यालयले शिक्षा, विज्ञान र प्रविधिको खोजी गर्न सक्छ। त्यसैले मानसिक र बौद्धिक पहिचानमा संख्यात्मक रूपमा बढिरहेका विश्वविद्यालयहरूले विद्यार्थीहरूको शारिरीक तन्दुरुस्तीको लागि खेलकुद सञ्चालन गर्न सक्छन्, तर खेलाडीहरूको शारीरिक बनोट र यसका प्राविधिक पक्षमा विकास गर्न सक्दैन।

नेपाली युवा शारीरिक रूपमा बलिया, फुर्तिला र जाँगरिला हुन्छन्, तर यिनीहरूको प्राकृतिक क्षमताले सही दिशा प्राप्त नगर्दा शक्ति खेर गइरहेको छ। यी युवाहरूले खेलकुदको क्षेत्रमा धेरै गरेर देखाउन सक्छन्, तर आजका दिनमा अन्य देशमा गई सस्तोमा आफ्नो श्रम बेचिरहेका छन्। सक्षम खेलाडीहरूले देशको पहिचान र एकताका साथ साथै थुप्रै प्रतियोगितामा उच्च स्थान हासिल गरी खुशीका साथ, विना अभावका जीवन बिताउन सक्छन्।

खेलकुद विश्वविद्यालयको स्थापनाबाट खेलाडीहरूको क्षमताविकासका साथै मुलुकमा खेल प्रतियोगिताको स्तर वृद्धि हुनेछ। यस्ता प्रतियोगिताहरूका लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रायोजक (Sponsor), टिकट बिक्रीबाट हुने आय, खेलकुद सामग्रीको उत्पादन र पर्यटन क्षेत्रको विकासमा प्रमुख आधार बन्ने छ। रोजगारी सिर्जना गर्न पनि मद्दत हुनेछ।

यस्तो विश्वविद्यालयको स्थापनाबाट नेपाल सरकार र अर्थ मन्त्रालयका लागि राजस्वका नयाँ बाटोहरू खुल्नेछन्। खेलकुद र खेलाडीहरूको उत्पादनसँग जोडिनु भएकाले देशको अर्थतन्त्रलाई टेवा पुग्ने छ। युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, खेलकुदका संघसंस्थाहरू र देशका सबै विद्यालयहरूमा खेलकुद विश्वविद्यालयबाट डिग्री प्राप्त गरेका विद्यार्थीहरूले उचित रोजगारी पाउने छन्।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, खेलाडी, नागरिक, युवा र अभिभावकहरू जसका छोराछोरीहरूले खेलकुदलाई आफ्नो पेशा (Career)को रूपमा बढाउन चाहेका छन्, उनीहरूले सबैले खेलकुद विश्वविद्यालयको आवश्यकता महसुस गरिरहेका छन्। खेलकुदबाट स्वस्थ नागरिक तयार हुनेछ। स्वास्थ्य क्षेत्रमा लगानी गर्दा राष्ट्रको ढुकुटीमा जोगिन मद्दत मिल्नेछ।

खेलकुद विश्वविद्यालय स्थापनाका लागि राजनीतिज्ञहरू, प्रबुद्ध व्यक्तिहरू र सञ्चारकर्मीहरूबाट पनि सकारात्मक सन्देशहरू प्राप्त भइरहेका छन्। त्यसैले हाम्रा होनहार युवाहरूलाई एउटा खेलकुद विश्वविद्यालय दिऊँ र नेपाली खेल क्षेत्रको प्राज्ञिकता माथि उठाऔं।

(लेखक नेपाल खेलकुद विश्वविधालयका बोर्ड सदस्य हुन्)

खेलकुद विश्वविद्यालय
लेखक
डा. ओमकृष्ण प्रसाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय