+
+
Shares

बाढीपहिरोबाट भएको क्षति विवरण संकलन कार्य आगामी सातादेखि सुरु हुन्छ : गृहमन्त्री

बिहीबार सिंहदबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३०औं बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले आगामी साताभित्रै यो काम सुरु गरिने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १२:४०

७ चैत, काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत असोजमा बागमती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम तत्काल अघि बढाउने बताएका छन् ।

बिहीबार सिंहदबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३०औं बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले आगामी साताभित्रै यो काम सुरु गरिने बताएका हुन् ।

‘गत असोज महिनामा बागमती, कोशी लगायत अन्य प्रदेशमा अविरल वर्षापछिको बाढी, पहिरो डुबानले जुन क्षति भएको थियो, अब तत्काल त्यसको क्षतिको विस्तृत विवरण संकलन कार्य अघि बढाउने विषयमा छलफल भएको छ,’ गृहमन्त्री लेखकले भने, ‘निजी आवासहरू अस्थायी बनाउने ठाउँमा अस्थायी र स्थायी बनाउने ठाउँमा स्थायी आवास बनाउने गरी अघि बढ्छौं ।’

उनले बैठकमा आगामी दिनमा विपद्‍बाट हुने सक्ने सबै खालका जोखिम नियन्त्रणका लागि तयार रहँदै आगामी दिनमा तयारीका साथ अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए ।

‘यसअघिको बैठकले पश्चिम नेपालको भूकम्प (डोटी, अछाम र जाजरकोट) विस्तृत क्षति आकलन नभएको ठाउँमा क्षति आकलन गर्ने, क्षति आकलन भएको ठाउँमा निजी स्थायी आवास निर्माण कार्य अघि बढाउने निर्णय गरेका थियौं,’ लेखकले भने, ‘पश्चिम नेपालको भूकम्पका बारेमा काम गर्नका लागि तीन वटा कार्यालय पनि म आफैं गएर स्थापना गरेका छु, आजको बैठकमा त्यसका बारेमा जानकारी लिने काम भयो । पश्चिम नेपाल भूकम्पबाट उत्पन्न पीडा क्षति आकलन गर्न बाँकी रहेको ठाउँमा विस्तृत क्षति आकलन कार्य पनि द्रुत गतिमा अघि बढेको छ ।’

मन्त्री लेखकले क्षति आकलन भएको ठाउँमा स्थायी आवास निर्माणको कार्य पनि अघि बढेको जानकारी दिए ।

‘जाजरकोटमा पनि पुनर्निर्माण र पुनर्स्थापनाको काम अघि बढेको छ । यहाँबाट अनुदान पठाउने काम प्रारम्भ भएको छ,’ उनले भने, ‘डेढ दुई बर्षदेखि रोकिएको काम अहिले अगाडी बढ्यो । त्यसका बारेमा पनि समीक्षा भयो ।’

बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, गृहसचिव गोकर्णमणि दुवाडी लगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?