
७ चैत, काठमाडौं । ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नारासाथ ललितपुर गोदावरी नगरपालिका–४ बडिखेलमा बाँसका सामग्री निर्माण सम्बन्धी सिप विकास तालिम सुरु भएको छ ।
२० चैतसम्म चल्ने तालिमको बुधबार गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं चिनियाँ दूतावासका कन्सुलर ची वाङले संयुक्त रूपमा उद्घाटन गरे ।
तालिममा गोदावरी नगरपालिकाका विभिन्न वडाबाट छानिएका २२ प्रशिक्षार्थी छन् । वडा नम्बर ४ मा बसोबास गर्ने पहरी र नगरकोटी समुदायका व्यक्तिलाई तालिममा सहभागी गराइएको छ ।
विशेषगरी पहरी र नगरकोटी समुदायका व्यक्ति बाँसका सामग्री बनाएर आफ्नो जीविकोपार्जन गर्छन् । उनीहरूको थप सिप विकास गर्न र व्यावसायिक बनाउन तालिम आयोजना गरिएको हो ।
सोसल डेभलपमेन्ट भिजन ललितपुरको आयोजनामा सुरु तालिमलाई चीनको सिजाङ (तिब्बत) मा मुख्यालय रहेको गुडविल फाउन्डेसन र काठमाडौंमा रहेको नेपाल–चाइना कैलाश कल्चर प्रमोसन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन् ।
स्थानीय साझेदारका रूपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ छन् । ग्रिन ब्याम्बो क्रिएसनले तालिम सञ्चालनका लागि प्राविधिक सहयोग गरेको छ ।
उद्घाटन कार्यक्रमम नगरपालिका प्रमुख महर्जनले गोदावरीले यो तालिमलाई अवसरका रूपमा लिएको बताए ।
सोसल डेभलपमेन्ट भिजन ललितपुर अध्यक्ष शिवकुमार बस्नेतले गोदावरीमा बाँसका सामग्रीबाट जीवन गुजारा गरिरहेका व्यक्तिलाई व्यावसायिक बनाउन तालिम सञ्चालन गरिएको बताए ।
गुडविल फाउन्डेसन तिब्बतका अध्यक्ष मा जेजियानले तालिममा बाँसको चोयाबाट विभिन्न सामग्री निर्माण गर्न सिकाइने बताए ।
उनले चोयाको माध्यमबाट जीवन कसरी आर्थिक रूपमा समृद्ध बनाउने भन्ने कुरा तालिममा सिकाइने भन्दै यसबाट नेपाल र चीनबीच सिप आदान–प्रदान पनि हुने उल्लेख गरे ।
त्यस्तै गोदावरी चेम्बर अफ कमर्स अध्यक्ष राजन महर्जनले सन् २०१५ मा चीनले बाँसबाट गरेको समृद्धि देख्ने अवसर पाएको स्मरण गर्दै यो कार्यक्रम नेपाल र चीनबीच जनस्तर र सांस्कृतिक सम्बन्ध बढाउन कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।
बाँसका सामग्री र फर्निचरमा ख्याति कमाएको चीनको सिचुआन प्रान्तस्थित मेइसान सहरका उद्योगी एवं वरिष्ठ कालिगढ लि यिनहाई र सुआई यानपिङले प्रशिक्षार्थीलाई लालटिन लगायत बाँसको चोयाबाट बन्ने सामाग्री तयार पार्न सिकाउनेछन् ।
नेपालमा ६३ हजार हेक्टर जमिनमा ५० भन्दा बढी प्रजातिका बाँस पाइन्छन् । बाँसको व्यावसायीकरण गर्न नेपालमा पनि विभिन्न प्रयास सुरु भएका छन् । १५–१७ फागुनसम्म खोटाङ दिक्तेलमा पहिलो राष्ट्रिय बाँस सम्मेलन भएको थियो ।
प्रतिक्रिया 4