
७ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईलाई १ नम्बर प्रदेश कहाँ छ भन्दै प्रश्न गरेका छन् ।
पार्टी कार्यक्रमका लागि सुनसरीको झुम्का पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले बिहीबार फेसबुकमा फोटो सार्वजनिक गर्दै लेखेका छन्, ‘प्रदेश १ को अभिमुखीकरण कार्यक्रमको सिलसिलामा सुनसरी झुम्कामा रंगीचंगी भेषभुसामा सजिएका थारू साँस्कृतिककर्मीहरूका साथ’ ।
भट्टराईले प्रदेशको नाम नलेखेपछि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले उनको फेसबुक पोष्टमा कमेन्ट गर्दै लेखे, ‘आदरणीय डाक्टर साब नमस्कार । कहाँ छ हजुर प्रदेश १ ? यो प्रदेशको नाम कोशी हो है ।’
पहिचान पक्षधरहरूको चर्को आन्दोलनको बीच १६ फागुन २०७९ मा तत्कालीन बसेको प्रदेश सभा बैठकले प्रदेश १ को नाम ‘कोशी’ नामाकरण गरेको थियो । त्यसलाई पहिचान पक्षधरहरूले अस्वीकार गर्दै आएका छन् ।
डा. भट्टराई सुरुदेखि नै पहिचानका आधारमा नाम राख्नुपर्ने पक्षमा छन् ।
प्रतिक्रिया 4