+
+
Shares

अवैध भेप भाटभटेनीको होइन, सांसदहरूको आरोपमा सत्यता छैन : गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते १८:१६

७ चैत, काठमाडौं । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले ‘अवैध भेप’ बारे सांसदद्वय गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणाप्रति ध्यानाकर्षण गराएका छन् ।

सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिइएको ट्रकमा फेला परेको ‘भेप’ भाटभटेनी सुपरमार्केटको भएको उनीहरूले बिहीबारको बैठकमा आरोप लगाएका थिए ।

तर, उक्त धारणामा कुनै सत्यता नभएको गुरुङले बताएका छन् ।

सार्वभौम जनताका प्रतिनिधिमुलक थलो प्रतिनिधिसभामा व्यक्त भएका धारणाहरू तथ्यमा आधारित हुनुपर्ने गुरुङले बताएका छन् ।

‘तथापी सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उहाँहरूले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ,’ गुरुङले भनेका छन् ।

तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने जानकारी पनि उनले गराएका छन् ।

‘तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनी जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो,’ गुरुङले भनेका छन् ।

मुलुकको समृद्धि र राष्ट्र निर्माणको अभियानको अग्रणी कर्पोरेट संस्थाका बारेमा फैलाइएको कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न गुरुङले नागरिकलाई अपिल पनि गरेका छन् ।

पक्राउ परेका चालकलाई राज्यका निकायले निष्पक्ष ढंगले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउने विश्वास पनि उनले राखेका छन् ।

‘भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि यहाँहरूमा विश्वास दिलाउन चाहन्छौँ,’ गुरुङले भनेका छन् ।

अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र भएको भाटभटेनीले ठहर गरेको छ ।

एकजना चालकले गरेको अपराधसँग जोडेर भाटभटेनीजस्तो अग्रणी कर्पोरेट संस्थाको बदनाम गराउने कार्यमा नलाग्नु उनले अपिल गरका छन् ।

साथै सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेसँग पनि जोडेर राखिएका धारणाको जिम्मेवारी स्वयम् सांसदहरूनै हुनुपर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?