
७ चैत, काठमाडौं । २५ फागुनमा पोखराबाट काठमाडौं फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीले धुमधाम स्वागत गरे । त्रिभुवन विमानस्थल अगाडिको रिङरोडमा राजाको समर्थनमा देखिएको उपस्थितिले राजतन्त्रको वकालत गर्नेहरू उत्साहित भएका छन् ।
राजावादीहरूको सक्रियता गणतन्त्र पक्षधरलाई भने टाउको दुखाइ बनेको छ । सत्ताका मुख्य दुई शक्ति नेपाली कांग्रेस र नेकपा एमाले राजावादीविरुद्ध सदनदेखि सार्वजनिक मञ्चसम्म सुनिएका छन् ।
प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र त हुलाकी राजमार्गको अभियान नै रोकेर ‘प्रतिगमन र निरशंकुता’ अस्वीकार्य भन्दै चर्को आवाजमा मुखरित भयो ।
संसद्मा रहेको पहिलोदेखि तेस्रो दलसम्म गणतन्त्रविरोधीप्रति आक्रामक हुँदा चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा भने अलमलको अवस्थामा देखिएको छ । वर्तमान संविधानको परिधिभित्र रहेर नागरिकको अवस्था फेर्ने भन्दै गठन भएको रास्वपाको उपल्लो तहबाट व्यवस्था रक्षार्थ सार्वजनिक रुपमा मुख खुलेको छैन ।
रास्वपाका माथिल्लो तहका एक नेताका अनुसार पार्टीले रणनीतिक रूपमा ‘राजावादीको चलखेल’ प्रति मौन बस्ने नीति लिएको छ । ‘जुन दिनदेखि ज्ञानेन्द्र अपदस्थ भए, राजावादी झण्डा बोकेर हिँड्न थालेकै हुन् । जति बढी प्रतिक्रिया दियो, त्यति सल्बलाएको देखिन्छ । त्यसकारण हामी प्रतिवादमा उत्रेका छैनौं ।’
बोलेनन् रवि
राजावादी शक्तिको प्रदर्शन गरेको भोलिपल्ट (२६ फागुन) सञ्चारकर्मीसामु छोटो प्रतिक्रिया दिन तयार भएका रास्वपा सभापति रवि लामिछानेले वर्तमान राजनीतिक प्रणालीको पक्षमा जवाफ फर्काएनन् । सहकारीको रकम अपचलनमा धरौटी रिहा भएपछि सभापति लामिछाने मौन रहँदै आएका छन् ।
धरौटी खारेजीको माग गर्दै बुटवल अदालत पुगेका लामिछानेसँग पत्रकारले राजावादीको प्रदर्शन र गणतन्तप्रतिको धारणाप्रति दोहोर्याएर प्रश्न गरे । तर, उनले सोधिएको प्रश्नभन्दा बाहिर गएर जवाफ फर्काए ।
‘लोकतन्त्र जोगाउने उत्तरदायित्व तपाईंहरूको होइन ?’ भन्ने प्रश्नमा पनि व्यवस्थाको पक्षमा बोलेनन् । प्रश्नको सिधा जवाफ नफर्काएर सत्तारुढतिर खनिँदै भने, ‘मलाई पुर्न भनेर सरकारले यति ठूलो खाल्डो खन्यो कि त्यो खाल्डोमा यी सबै जना जाकिन्छन् ।’
सडकमा नागरिक किन आए ? त्यसको जवाफ सत्तापक्षले दिनुपर्ने लामिछानेको जिकिर थियो । लामिछानेले आफ्नो बोल्ने समय अत्यन्तै नजिक आएकोले त्यसबेला प्रतिक्रिया दिने बताएका थिए । ‘म बोल्ने समय एकदम नजिक आएको छ । म त्यसको तयारीमा बसिरहेको छु । प्रतीक्षा गर्नुहोला । म बोल्ने नै मान्छे हो,’ लामिछानेले भनेका थिए, ‘म विशेष सम्बोधनसहित साथीहरूको जिज्ञासाको जवाफ दिन आउँदैछु ।’
आफ्ना विचारहरू ‘छिट्टै’ सार्वजनिक गर्ने बताएको ११ दिन बितिसक्दा लामिछानेले मुख खोलेका छैनन् । संविधान र व्यवस्था विरोधी प्रदर्शनले राष्ट्रिय राजनीति तरंगित हुँदा रास्वपाको पदाधिकारी तहबाट पनि विचार प्रभाहित हुन सकेको छैन ।
‘द्विविधा छ’
२०८० मंसिरमा जलेश्वर बैठकबाट रास्वपाले पार्टीको सैद्धान्तिक विचारधारा बाहिर ल्याएको थियो । पार्टीको दस्तावेजमा ‘पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली’ अपनाउने उल्लेख छ । रास्वपाले अबलम्वन गर्ने प्रणालीको पक्षमा सार्वजनिक रूपमा शीर्ष तहबाट विचार आएको छैन । यद्यपि, प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य गणेश कार्की, पुकार बम गण्डकी सभापति राजन गौतम लगायत व्यवस्थाको पक्षमा धारणा सार्वजनिक गरेका छन् ।
मार्टिन चौतारीको ‘गणतन्त्रः आजको सन्दर्भ’ विषयक विमर्शमा प्रमुख सचेतक परियारले रास्वपा गणतन्त्र पक्षधर भएको स्पष्टीकरण दिए । पार्टीले अबलम्वन गरेको गणतान्त्रिक प्रणालीका बारेमा कतिपयमा द्विविधा देखिएको प्रमुख सचेतक परियार स्वीर्काछन् । पार्टीको सैद्धान्तिक धारलाई प्रचारमा कमी वा पार्टीले आफ्नो विचार स्पष्टसँग भन्न नसक्दा पनि द्विविधा देखिएको परियारको विश्लेषण छ ।
वर्तमान संविधानको परिधिभित्र रहेर सञ्चालन हुनेगरी पार्टी गठन भएकाले रास्वपा गणतन्त्रविरोधी हुन नसक्ने परियारको तर्क छ ।
रास्वपाका केन्द्रीय सदस्य कार्की र गण्डकीका सभापति गौतमले व्यवस्था हैन, अवस्था फेर्नुपर्ने विचार राखेका छन् । कार्कीको दाबी अनुसार गणतन्त्रको विकल्प खोज्ने पक्षमा पार्टीमा कोही व्यक्ति छैन ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले गणतान्त्रिक व्यवस्थामा पार्टी पूर्ण प्रतिवद्ध रहेको बताए । ‘गणतन्तप्रति रास्वपा प्रतिवद्ध छ । नेपालीहरुले लडेर ल्याएको यो व्यवस्थाबाट रास्वपा डगमग हुँदैन,’ बुर्लाकोटीले भने ।
प्रस्तावना तयार गर्ने क्रममा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रमुख सचेतक परियार र तत्कालीन महामन्त्री मुकुल ढकालले बढी भूमिका खेलेका थिए । पार्टी नेताहरूका अनुसार वाग्ले र परियार ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली’ प्रस्तावनामा राख्न चाहेका थिए । सभापति लामिछाने र ढकालको चाहना अनुसार ‘संघीय’ उल्लेख नगरेर ‘पूर्ण’ शब्द दस्तावेजमा राखिएको हो ।
सडकमा देखिएको गणतन्त्रविरोधी शक्तिबारे रास्वपाले २६ फागुनमा विचार सार्वजनिक गर्ने अपेक्षासमेत गरिएको थियो । कार्यवाहक महामन्त्री मनीष झाले २६ फागुनमा पत्रकार भेटघाटसँगै होलीको शुभकामना आदानप्रदान हुने सूचना जारी गरेका थिए । उक्त कार्यक्रम केही समयमै स्थगित गरेको अर्को सूचना जारी गरियो ।
‘भेटघाटको आगामी विवरण म चाँडै सविनय अनुरोध गर्नेछु’ भनिए पनि हालसम्म नयाँ जानकारी गराएको छैन भने त्यसबेला कार्यक्रम रोक्नुपरेको कारण पनि खुलाइएको छैन । कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार ‘सरकारले नियतवश दुःख दिएन’ भने सभापति लामिछाने सक्रिय राजनीतिमा फर्केर विचार राख्नेछन् ।
३ चैतमा रास्वपाको सचिवालय बैठक बस्यो । उक्त बैठकका निर्णय सार्वजनिक गर्दा वर्तमान राजनीतिक घटनाक्रमका बारेमा केही उल्लेख नगरी निर्णयहरू बाहिर ल्याइएको छ । निर्णय २ नम्बर बुँदामा भनिएको छ, ‘वर्तमान राष्ट्रिय राजनीतिको बारेमा केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेबाट जानकारी गराउने काम भयो ।’
सचिवालय बैठकमा वाग्लेले पार्टीको राजनीतिक विचारधारा स्पष्ट रहेको उल्लेख गरेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी गराए । वाग्लेको भनाइ उधृत गर्दै बुर्लाकोटीले भने, ‘राजावादी सडकमा आए भनी हामी सडकमा प्रतिवादमा उत्रिँदा प्रोत्साहित गरे जस्तो हुन्छ ।’
रास्वपाका एक नेता भन्छन्– जुन दिनदेखि ज्ञानेन्द्र अपदस्थ भए, राजावादी झण्डा बोकेर हिँड्न थालेकै हुन् । जति बढी प्रतिक्रिया दियो, त्यति सल्बलाएको देखिन्छ । त्यसकारण हामी प्रतिवादमा उत्रेका छैनौं ।
मूल नेतृत्व र शीर्ष तहका नेताहरूबाट प्रणालीबारेमा विचारहरू नआउँदा नेता/कार्यकर्तामा संशय पैदा भएको छ । सडकमा देखिएको आवाज पुराना दललाई देखाएर रास्वपाले छुट्कारा नपाउने एक केन्द्रीय सदस्यले सुनाए । उनले भने, ‘ग्रे एरियामा बस्ने शीर्ष तहको मनस्थिति देखिन्छ । भिडअनुसार पार्टीको विचार बनाउने कि समाजलाई दिशानिर्देश गर्नेमा अन्योल जस्तो देखिन्छ ।’
पार्टी नेताहरूका अनुसार उपसभापति वाग्ले गणतन्त्रको पक्षमा अडिग छन् । मौसम बदलिएअनुसार पार्टीको विचारधारा परिवर्तन नहुने वाग्लेले नेताहरूसँगको आन्तरिक छलफलमा भन्ने गरेका छन् । वाग्लेको धारणाबारे एक नेताले सुनाए, ‘मौसम बदलिएअनुसार पार्टीको विचारधारा परिवर्तन हुँदैन । पूर्वराजाको पक्षमा सडकमा कोही आउँदैमा आत्तिएर विचार परिवर्तन हुन सक्दैन ।’
‘रविको राजसंस्थाप्रति झुकाव छ’
दल गठन गर्नुअघि सभापति लामिछानेले पूर्वराजाप्रति देखाएको व्यवहारले समेत उनीप्रति आशंका गरेर विश्लेषण गर्नेहरू छन् । संस्थापक महामन्त्री ढकालका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचन लगत्तै लामिछानेले पूर्वराजा ज्ञानेन्द्रलाई झापामा भेटेका थिए । रास्वपा गठन गर्ने तयारीका बीचमा गणतन्त्र वा राजतन्त्रको विचारधाराका बारेमा छलफल गरेर लामिछाने पूर्वराजालाई भेट्न झापा गएको ढकालको दाबी छ ।
ज्ञानेन्द्र स्वयं त्यसबेला राजतन्त्रका पक्षमा तयार नभएको हुँदा ‘हामीहरू तात्तिएर मात्रै हुँदैन’ भनेर लामिछानेलाई विश्वास दिलाएको ढकाल दाबी गर्छन् ।
१९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा समेत अमेरिकामा रहेका लामिछाने राजतन्त्रको पक्षमा देखिएको उनलाई त्यस बेलादेखि चिन्नेहरू बताउँछन् । हाल क्यानडा रहेका र त्यस समय अमेरिका रहेका कलाकार तथा कार्यक्रम प्रस्तोता शैलेश श्रेष्ठ राजाको कदमविरुद्ध आफूहरू उत्रिँदा लामिछाने राजाको पक्षमा देखिएको बताउँछन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा मित्र रवि लामिछाने अमेरिका रहुञ्जेल राजावादी कित्तामै हुनुहुन्थ्यो । हामीले मकरतन्त्रको विरोधमा राष्ट्रसंघको कार्यालय र वासिंगटन डीसीमा ज्ञानेन्द्र शाहको कदम विरुद्धमा विरोध र्यालीहरू गर्यौं । रविजी भने प्रतिकारवाला राजावादीहरूको जत्था बाल्टिमोर कोटरी’ का निकटस्थ हुनुहुन्थ्यो ।’
प्रतिक्रिया 4