+
+
Shares
कभर स्टोरी :

ताल जोगाउन पोखराका रैथानेले गरेको संघर्ष

ताललाई प्राकृतिक वरदान ठान्ने पोखरावासी १० वर्षयता ताल वरपरको वातावरणमा आएको अकल्पनीय परिवर्तनबाट चिन्तित छन् । भविष्यको पिंढीका लागि यो सम्पदा कसरी जोगाउने भन्ने चिन्ता उनीहरूमा छ ।

स्मिता अधिकारी स्मिता अधिकारी
२०८१ चैत ८ गते २०:४०

८ चैत, पोखरा । फेवातालको अन्तिम विन्दु अर्थात् पूर्वी सीमा ड्यामसाइडकी स्थानीय ५३ वर्षीया शोभा श्रेष्ठलाई फेवातालको रूपरंग सम्बन्धमा ३० वर्ष अघिदेखि नै शुरू भएको चिन्ताले अझै छोडेको छैन । भन्छिन्, ‘आँखै अगाडि, दिन प्रतिदिन फेवाताल सुक्दै गयो, मैलो हुँदै गयो ।’

घरको जुनै कुनाबाट बाहिर हेर्दा आँखैभरि लहराउने फेवाको स्वच्छ, निर्मल पानीका सौम्य छाल अनि त्यही छालबाट निस्कने शीतल तरंगहरूले उनको गृहस्थीको शुरूआत नै तरंगित बनाएको थियो । उनलाई याद छ– धारामा पानी नआउँदा गाग्री बोकेर तालको किनार पुगेको ।

उनका भनाइमा, वल्लो–पल्लो गाउँ–टोलका साथीसँगीलाई सार्वजनिक धारामा घन्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता थियो उतिबेला । तर, पिउने र खाना पकाउने बाहेक, अन्य घरायसी कामकाजका लागि पानी खोज्न कहीं टाढा धाउनुपरेन उनलाई ।

ताललाई मैलो हुनबाट जोगाउन गरेका दौडधुप पनि उनका स्मरणमा ताजै छन् । जति नै झन्झट भए पनि तालमा पुगेर नुहाइ–धुवाइ, लुगा धुलाइ लगायत घरायसी काम गरिनन् उनले । ‘गाग्रीबाटै तालको पानी ओसार्ने गर्थ्यौं तर अब त ताल छुन पनि घिन लाग्ने भइसक्यो’, उनले भनिन् ।

फेवाको उत्तरी सिरान खहरेकी स्थानीय शान्ति पहारीको पनि फेवाताल वरपरको वातावरणप्रतिको मनोभावना, आत्मीयता र भोगाइ उस्तै छ । पछिल्ला वर्षमा जति सफाइ गरे पनि तालको प्रदूषण नघटेको उनी बताउँछिन् ।

‘आज फोहोर झिकेर फाल्यो, दुई दिनमा उस्तै भइहाल्छ’ लेकसाइडस्थित स्थानीय खहरे आमा समूहकी अध्यक्ष समेत रहेकी पहारी भन्छिन्, ‘पछिल्ला वर्षमा ताल सुक्दै गयो, गरिखाने भन्नेहरूका कर्तुतहरू प्नि देखिंदै गए ।’ तालको पानी सुक्दै जाँदा तालमा लुकाइ–छिपाइ मिसाइएका फोहोरका ढलहरू एकपछि अर्को गर्दै फेला पर्न थालेको वास्तविकता प्रति लक्षित गर्दै उनले सो कुरा भनेकी हुन् ।

‘पहिले–पहिले अँजुलीमा झिकेर पानी पिउने गरेको फेवातालमा अहिले खुट्टा राख्न घिन लाग्छ’ फेवा खपौंदीकी मीना जलारी भन्छिन्, ‘तालको प्रदूषणले रोजीरोटी समेत गुमिरहेको छ । एकदशक अघिसम्म दिनमा ३० केजीसम्म माछा झिक्ने गरेकी मलाई अहिले ५ केजी माछा भेट्टाउन लगभग दिनै खर्चिनुपर्छ ।’

स्थानीय सामाजिक नियमानुसार, फेवातालबाट माछा झिक्ने अधिकार जलारीलाई मात्रै हुन्छ । ‘माछा व्यवसाय गर्ने जलारीको संख्या बढ्दै गएको पनि छैन, पछिल्ला पुस्ता अन्य व्यवसायतिर आकर्षित भइरहेका छन्, तर पनि माछा किन घट्दैछन् थाहा छैन’, जलारीले भनिन् ।

एक दशक अघिसम्म रूपातालका चारै कुनाका किनारहरूमा कमल फूल फुल्थ्यो । कमलको बीउ, जरा र पात कमलपित्त लगायत विभिन्न रोेगको औषधि हुने विश्वास छ । ताल भ्रमणमा आएका पर्यटकले समेत यो माग्न थालेपछि २० वर्षदेखि यहाँका स्थानीय महिलाले यो वनस्पति जोगाउने अभियान थालेका हुन् । पछिल्लो आधा दशकयता यो फूलका बोट लोप हुने क्रम तीव्र छ ।

रूपाताल आमा समूहकी अध्यक्ष गंगा गुरुङ भन्छिन्, ‘अहिले त कमल खोज्न आउनेलाई भाग पुर्‍याउन औधी मुस्किल छ ।’ हुन पनि रूपातालमा पहिले–पहिले तालका धेरै कुनाकाप्चा तथा ओसिलो भागमा कमल उम्रिन्थ्यो । अहिले एक ठाउँमा मात्रै उम्रने गरेको छ, त्यही पनि फाट्टफुट्ट मात्र फूल लाग्दछ ।

यिनै स्थानीय महिला समूह मिलेर रूपातालको दक्षिणी किनार स्याउली घाटमा करीब २० रोपनी क्षेत्रफलमा कमलको फूल संरक्षण गरेका छन् । उक्त कमलको फूल, पात र जरा विशेष प्रक्रिया पुर्‍याएर निश्चित स्थानीय व्यक्तिले मात्र टिप्न पाइने व्यवस्था गरिएको छ ।

फाट्टफुट्ट भए पनि त्यहाँ भएका कमल जोगाउने, त्यस क्षेत्रमा फोहोर र मानवीय चापको विशेष ख्याल राख्ने गर्दछन् उनीहरू । तालको अन्य कुनाका झैं यहाँको कमल पनि लोप हुने हो कि भन्ने चिन्ता छ उनीहरूलाई । उनीहरूका अनुसार, रूपाको अर्को किनार जमलकुनामा यति नै क्षेत्रफलमा संरक्षित कमल चार वर्ष अघि नै लोप भइसकेको छ ।

‘बेगनास तालमा त सेतो कमल उहिल्यै हराइसक्यो । कसैले समस्या देखाउँदै आग्रह गरे भने घरको कामधन्दा छोडेर कमल खोज्न ताल छिर्थ्यौं हामी’ बेगनास महिला समूहकी निवर्तमान अध्यक्ष दुर्गा अधिकारीले अतीत सुनाइन् । उनी भन्छिन्, ‘अहिले त तालमा कमल नै देखिन छोड्यो ।’ उनका अनुसार, बेगनास ताल वरपर एकपछि अर्को गर्दै रैथाने औषधियुक्त वनस्पति हराउँदै गएका छन् ।

पोखराका ताल वरपरका धेरै रैथानेको आत्मीयता र आवश्यकता तालको पानीसँग यसरी नै जोडिएको छ । तालको पानीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दैनिक आवश्यकतासँग जोडेका छन् उनीहरूले । ताललाई प्राकृतिक वरदानको रूपमा माया गर्ने पोखरावासी ताल बचाउन चिन्तित पनि देखिन्छन् ।

फेवाको उत्तर र दक्षिणी सिरान पोखरा वडा नं. २३ स्थित पञ्चासे वनमा पाइने जंगली जनावर तथा वनस्पति पत्यार नै नलाग्ने गरी लोप हुन थालेको छ । त्यस वनसँग जोडिएको फेवातालका असला, बुदुला, सहर, कत्ले जस्ता रैथाने माछा हराउन थालेका छन् ।

फेवा ताल

स्थानीयका अनुसार, साइवेरियाबाट बसाइ सरेर आएका चरा, हाँस, कालिज, रतुवा, लोखर्के र खरायो जस्ता वन्यजन्तुको विशेष वासस्थान हो पञ्चासे वन । नेपालकै सबैभन्दा बढी पानी पर्ने लुम्ले क्षेत्रले छोएको छ पञ्चासेलाई । त्यसैगरी सुनाखरी, सिलटिमुर, चिराइतो, गाईखुरे, चौटाजोर, कम्मरी, खोटेसल्लो जस्ता वनस्पति तथा जडीबुटीको धनी छ पञ्चासे ।

यही वन अन्तर्गत चोरी–शिकारी नियन्त्रण इकाइका संयोजक स्थानीय घाटीछिना निवासी दुर्गाबहादुर घले भन्छन्, ‘जंगलमा दिनहुँ बन्दुक पड्किन्छन्, डढेलो लागिरहन्छ, वन्यजन्तु र जडीबुटी मासिंदै गए, त्यसैले फेवातालको जलाधार क्षेत्रको वन, वन्यजन्तु तथा वनस्पतिको रेखदेख गर्नु हाम्रो काम हो ।’ यहाँ ५०० हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासे वन फेवाको जैविक विविधता कायम राख्न सबैभन्दा महत्वपूर्ण बनाउन सकिने उनको विश्वास छ ।

फेवाको उत्तर पश्चिमी भेगमा वनसँगै जोडिएको तालमा रैथाने माछा जोगाउन वडा कार्यालयले समेत कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यहाँ विषादी प्रयोग गरेर माछा मार्ने काम नियन्त्रण गर्न प्रहरीको गस्ती दैनिक रूपमा परिचालन गरिंदै आइएको स्थानीयवासी बताउँछन् ।

प्राकृतिक स्रोत संरक्षण र उपयोगमा स्थानीयको सहभागिताको मर्म आत्मसात् गरेर २५ वर्षदेखि जैविक विविधता संरक्षण, परिचालन तथा उपयोग गर्दै आइरहेको रूपातालस्थित रैथाने संस्था रूपा पुनस्र्थापना तथा मत्स्य विकास सहकारी संस्थालाई पछिल्ला पाँच वर्षयता वातावरणजन्य परिस्थितिका कारण वज्रपात नै आइलाग्यो ।

यो संस्थाले तालमा सामूहिक माछापालन मार्फत आम्दानी भएको रकमले तालको रेखदेख लगायत रैथानेका लागि आयआर्जनको कार्यक्रम गर्दै आइरहेको थियो । अहिले भने आम्दानीको स्रोत क्रमिक रूपमा सुकिरहेको छ । माछा बेचेर पोहोर साल डेढ करोड आम्दानी गरेको संस्थालाई यो वर्ष ४० लाख रुपैयाँ घाटा लाग्यो ।

‘यस्तै घाटा पोहोर, परार साल पनि भयो तर त्यतिबेला अनुपात भने अलि कम थियो’ संस्थाका अध्यक्ष शिवराज अधिकारी भन्छन्, ‘पछिल्ला वर्ष घाटा रकम बढ्दो क्रममा छ । संस्थाको आम्दानीबाट माछा व्यवसाय व्यवस्थापनसँगै, ताल वरपर विषादी रहित खेतीपाती प्रोत्साहन कार्यक्रम, स्थानीय महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, रूपा जलाधार क्षेत्र व्यवस्थापन, रैथाने अन्नबाली तथा औषधियुक्त वनस्पति, चराचुरुङ्गी तथा प्राणी संरक्षण लगायत काम यस संस्थाले स्थापनाकालदेखि नै गर्दै आइरहेको छ ।

स्थानीयका अनुसार, चार वर्षयता रूपातालमा ‘जलेवा’ चरा देखिन थाल्यो । यो चरा के कारणले आयो, कहाँदेखि आयो र कहाँ बस्दछ भन्ने उनीहरूले अहिलेसम्म भेउ पाएका छैनन् । भएका चरा लोप भइरहेका बेला नयाँ चरा देखिनु राम्रो भए पनि यो चरा उनीहरूको दैनिक जीवनयापनका लागि भने अभिशाप जस्तै भएको छ ।

विशेषगरी हिउँदको समयमा पश्चिम दिशाबाट हरेक दिन जलेवा चराको बथान रूपाताल आउँछन् र एकै पटकमा सयौंको संख्यामा माछा टिपेर फर्किन्छन् । जलेवाले माछा खाइदिएकै कारण उनीहरूले माछा व्यवसायका लागि तालमा गरेको लगानी डुब्ने चिन्ता बढेको छ ।

उक्त सहकारी संस्थाका अध्यक्ष अधिकारीका अनुसार, दिनमा लगभग दुई सय जलेवा रूपातालको माछा टिप्न आउँछन् र प्रति चराले आधा केजी बराबरको माछा टिप्छन् । तालभित्रकै रैथाने माछाको संख्या लोप भएपछि, माछा व्यवसाय गर्ने उद्देश्यले, संस्थाले वर्षेनि २० देखि ३० लाख माछाका भुरा तालमा हाल्ने गरेको छ ।

तर, पछिल्ला वर्ष चराले खाइदिएकै कारण ती माछा हुर्किन नपाउँदै लोप भएको उनीहरूको अनुमान छ । ‘ताल तथा यस वरिपरिको वातावरण जोगाउन दिन–रात नभनी दशकौंदेखि काम गरियो, आखिर प्रतिफल भने उल्टो हुनथाल्यो’, अधिकारीले भने ।

पोखरा तालैतालको शहर हो जसमध्ये सबैभन्दा ठूलो ताल फेवा हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले २०७७ सालमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार, फेवातालको क्षेत्रफल ५.७ वर्गकिमि अर्थात् ११ हजार रोपनी छ । सन् १९९८ मा ‘सर्भे अफ इन्डिया’ ले गरेको अध्ययनमा फेवातालको क्षेत्रफल २२ हजार रोपनी थियो ।

आजभन्दा भोलि फेवातालमा फोहोर थुप्रिने क्रम बढिरह्यो, स्थानीयले वर्षौंदेखि सकेजति सफा गरिरहे । उनीहरूसँगै होस्टेमा हैंसे गर्न पछिल्ला वर्ष यता पोखराभरका वातावरणप्रेमीहरू बेलाबखत भेला हुने गरेका छन् ।

‘तर खोइ, फेवाको रूप फर्काउने आशाका किरणहरू हराउँदैछन्, मेसो पाइएन’ स्थानीय अग्रज तथा सक्रिय सामाजिक संस्था ड्यामसाइड टोल विकास संस्थाकी अध्यक्ष समेत रहेकी शोभाले लामो सुस्केरा हाल्दै घुमाउरो पारामा भनिन् ।

संरक्षणमा स्थानीयका दुःख

वडा नम्बर २३ मा पर्ने फेवा जलाधार अन्तर्गतको पञ्चासे क्षेत्रमा भूक्षय, बाढी–पहिरोले पुरेका करीब २०० वटा कुवा तथा पोखरी स्थानीयले उत्खनन् गरेका छन् । ताल जोगाउन, वनजंगल, वन्यजन्तु, कुवा पोखरी र खोलानाला व्यवस्थापन गर्ने उनीहरूको अभियान नै छ ।

वडाध्यक्ष राजकाजी गुरुङ भन्छन्, ‘फेवामा छिर्ने गेगर र फोहोर नियन्त्रण मात्र गर्न पाए फेवाताल सुक्नबाट रोक्न सकिन्थ्यो ।’ फेवामा छिर्ने खहरे खोलाहरूले बगाएर ल्याउने माटो र गेगरले वर्षैपिच्छे ताल पुरिंदै गएको तर यो नियन्त्रणका लागि पर्याप्त बजेट नभएको उनको भनाइ छ ।

फेवाको पश्चिम तथा उत्तर सिरान पामे, वामदी, मार्कीतिरका स्थानीयवासी भने यतिबेला फेवातालले पुरिदिएको आफ्नो धानखेत खोजी तथा उत्खनन् गरिरहेका छन् । १२ साउन २०७२ मा कास्कीको अन्नपूर्ण गाउँपालिकाको ठूलाचौरस्थित डहरे डाँडामा भएको भूक्षयले बगाएर ल्याएको माटोले फेवाताल वरपरका स्थानीयको करीब ४०० रोपनी धानखेत पुरिदिएको थियो ।

‘तालमा अनावश्यक झार उम्रिने क्रम झन् बढ्यो, सोही बेला आफ्नो १४ रोपनी धानखेत गुमाएका स्थानीय कृतिबल्लभ त्रिपाठीले भने, ‘पछिल्लो स्थानीय सरकार आएपछि पनि हाम्रो खेतको कहीं कतैबाट खोजीनिती भएन । हामीले अहिलेसम्म मुआब्जा पनि पाएका छैनौं ।’

स्थानीय खगेन्द्र गुरुङ भन्छन्, ‘बाढी ओभर फ्लो भएर तालले हाम्रो खेत डुबायो, तर त्यसयता तालको आकार भने हेर्दाहेर्दै घट्दै गयो ।’ उक्त भूक्षयबाट १०० रोपनी क्षेत्रफलको जंगल सहितको माटो बगेर फेवातालमा छिर्‍यो । जिल्ला भूसंरक्षण कार्यालयले दिएको जानकारी अनुसार, त्यस घटनामा फेवातालमा पसेको बाढीसँगै एक दर्जन मानिस र सयौं चौपाया पनि फेवातालको पानीमा अस्ताए ।

दलदले जमिन, धेरै संख्यामा हाँस तथा बकुल्लाको वासस्थान भनेर चिनिने मैदी ताल संरक्षण गर्न डेढ दशकअघि यहाँ वरपरका करीब २०० घरपरिवारले आफ्नो धानखेत त्यागे । तालको चेक ड्याम बनाउँदा ‘ओभर फ्लो’ भएको पानीले उनीहरूको खेत मासिएको थियो । तर अहिलेसम्म उनीहरूले फाइदा भने पाएनन् ।

‘बरु तालमा अनावश्यक झार उम्रिने क्रम झन् बढ्यो, सोही बेला आफ्नो १४ रोपनी धानखेत गुमाएका स्थानीय कृतिबल्लभ त्रिपाठीले भने, ‘पछिल्लो स्थानीय सरकार आएपछि पनि हाम्रो खेतको कहीं कतैबाट खोजीनिती भएन । हामीले अहिलेसम्म मुआब्जा पनि पाएका छैनौं ।’

ताल सफाइ अभियानमा सहभागी हुँदाका तिता–मिठा कथा छन् लेकसाइडको खहरे आमा समूहकी अध्यक्ष शान्ति पहारीसँग । दुई वर्ष अघिको कठ्याग्रिंदो हिउँदका बेला एक बिहानको घटना उनले सम्झिइन् । बिहान ६ः३० बजेको समयमा एनसेलको नम्बरबाट फोन आयो । फोन रिसिभ गर्ने बित्तिकै धम्कीको शैलीमा एउटा पुरुष आवाज आयो, ‘तपाइँ आमा समूहको अध्यक्ष होइन ? तपाइँको टोलमा राखेको फोहोरको डस्टबिनमा आगलागी भइरहेको छ । बिजुलीको पोलमा छोएर घटना घट्यो भने तपाइँ जिम्मा लिनुहुन्छ ?’

नाथे डस्टबिन जलेको आगो निभाउन छोडेर अरूलाई थर्काउँदै आदेश दिएको आवाजले उनी छाँगाबाट खसे झैं भइन् । समुदायमा सरसफाइ सम्बन्धी चेतना विकास गर्न दुई दशकदेखि खाई–नखाई गरेको दौडधुप सम्झिइन् । अनि मन मुटुमा सँगालेका आशा, भरोसा, सपना क्षणभरमै चकनाचूर भएको महसुस गरिन् ।

हत्तपत्त घटना भएको ठाउँतिर दौडिन् । एउटा डस्टबिन बटुवाले सल्काएर फालेको चुरोटले जलेर आधा भएको रहेछ । बाँकी रहेको आगो उनी आफैंले निभाइन् । फेवा किनारमा राखिएका ती डस्टबिनमा उनको आमा समूहले रत्यौली गाएर जम्मा गरेको पैसा लगानी भएको थियो ।

दुई–चार जनाले गरेको निःशुल्क सामाजिक कामको प्रशंसा गर्नु र फोहोर गर्नुहुँदैन भनेर सचेत, जिम्मेवार बन्नु त कहाँ हो कहाँ, उल्टै थर्काउने, धम्काउने काम समुदायकै मानिसले गरेको अनुभव उनले गरेकी छन् । करीब २० वर्षको ताल संरक्षण सामाजिक कर्ममा यस्तो धेरै पटक भएको उनको भनाइ छ ।

बेगनास ताल सफा गर्ने स्थानीयका दुःख बेग्लै छन् । यहाँ, स्थानीय जलारीहरूले हप्ताको एक दिन अनिवार्य रूपमा स्वेच्छिक श्रम गर्दछन् । कठ्याङ्ग्रिने जाडो होस् या हरेक शनिवार बिहान कम्तीमा दुई घन्टा उनीहरूले तालभित्र निरन्तर उम्रिने र फैलिने जलकुम्भी लगायत फोहोरजन्य पदार्थ फाल्न निःशुल्क खर्च गर्छन् ।

यसका लागि बेगनास ताल वरपर बसोबास गरिरहेको करीब ५० घर प्रत्येकबाट एक जना सहभागी हुनै पर्ने नियम छ । बेगनास तालको पचभैया जंगलमा पाइने करीब दुई दर्जन प्रजातिका प्राणी संरक्षण गर्न स्थानीय पचभैया सामुदायिक वन समितिले पाँच वर्षदेखि प्राणी उद्यान केन्द्र सञ्चालन गरिरहेको छ । केन्द्रमा करीब २३ प्रजातिका प्राणीलाई विभिन्न अवस्थाबाट उद्धार गरी संरक्षण गरेर राखिएको समितिका अध्यक्ष दिननाथ ढकालले बताए ।

शहरभरिको फोहोर तालमा

पोखरामा रहेका तालहरूमध्ये सबैभन्दा ठूलो फेवा हो । वातावरणविज्ञहरू वर्षेनि फेवातालको क्षेत्रफल घटिरहेको बताउँछन् । वातावरणविद् डा. अनिल सुवेदीका अनुसार, फेवातालमा वर्षेनि १४ हजार २०० टन गेगर थुप्रिन्छ । उनी भन्छन्, ‘पोखराका तालहरू प्रदूषित छन् भन्ने कुरा यहाँ क्षणभरमै फैलिइरहेको जलकुम्भीले पनि प्रमाणित गर्दछ ।’

पोखराका तालमा फोहोर जम्मा भएपछि पानीमा हुनुपर्ने पोषणतत्व विशेषगरी नाइट्रोजन र फस्फोरस व्यापक रूपमा बढ्यो र सिमसारको पारिस्थितिक प्रणालीका लागि पानीमा हुनुपर्ने पोषण व्यापक रूपमा घट्दै गयो ।

‘यी पोषणतत्व  घट्ने र नाइट्रोजन, फस्फोरस बढ्ने बित्तिकै तालमा जलकुम्भी लगायत सन्तुलित वातावरणका लागि अन्य हानिकारक झारको मात्रा बढ्छ’ डा. सुवेदीले भने, ‘यसको सबैभन्दा प्रमुख कारण नै फस्फोरस र नाइट्रोजनयुक्त ढल तथा नालाहरू, कृषि कार्यमा प्रयोग हुने रासायनिक मल तथा पेस्टीसाइट्सयुक्त माटो तथा गेगर पानीमा मिसिनु हो ।’

उनका अनुसार, जलकुम्भीको प्रजनन् अत्यन्तै तीव्र गतिमा हुुन्छ, प्रत्येक हप्ता दोब्बर संख्यामा वृद्धि हुँदै जान्छ । उनी भन्छन्, ‘जलकुम्भी बेर्नाबाट चार महिनामा १२०० बिरुवा उत्पादन हुन्छ र एक वर्षमा प्रति हेक्टर १८ हजार मेट्रिक टन वजन बढ्छ ।’

त्यस्तै करीब ४ लाख जनसंख्या भएको पोखरा शहरका मुख्य बस्ती भित्रबाट बग्ने फिर्के र बुलौंदी खोला बढ्दो शहरीकरणसँगै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ढल बोक्ने खोलामा परिणत भएका छन् । स्थानीयले जथाभावी फोहोर फालिदिंदा ती फोहोर विभिन्न नालाहरू मार्फत तिनै खोलाहरूले टिपेर फेवातालमा फाल्ने गरेका छन् । खेतीपातीमा प्रयोग गरिने विषादी सहितका कुला तथा खोल्सा तालमा मिसाइएको छ ।

त्यसैगरी ताल वरपरका होटल तथा घरहरूले फेवातालमै जोडेर बनाएका ढल तथा सेफ्टी ट्यांकीहरूले ताल फोहोर बनाइरहेको छ । उचित वातावरणीय प्रभाव मूल्यांकन विना गरिएका विकास निर्माणका कामले पछिल्लो समयमा भूक्षय भई तालमा माटो मिसिन थालेको र वातावरण तथा तालको आकार प्रभावित भएको वातावरणविज्ञ डा.सुवेदी बताउँछन् ।

वर्षमा दुईपटक सफाइ

यहाँको नागरिक समाजले मात्रै वार्षिक रूपमा कम्तीमा दुई पटक ताल सफा गर्दछ । फेवातालमा मात्रै प्रत्येक पटक कम्तीमा ३० ट्रक जलकुम्भी तथा प्लास्टिकजन्य फोहोर झिक्ने गरिएको छ । नागरिक समाज कास्कीले २०६४ सालदेखि यता प्रत्येक वर्ष दुई वा तीन पटक तालको सरसफाइ गर्दै आएको छ ।

‘तर पनि तालको प्रदूषण घटेन’ नागरिक समाज कास्कीका अध्यक्ष नरेन्द्रमान लालचन भन्छन्, ‘ताल फोहोर गर्नु भनेको यस वरपरका सम्पूर्ण प्राणीको जीवनचक्र प्रभावित हुनु हो भन्ने बुझाउन अझै बाँकी नै छ ।’

नागरिक समाज कास्कीका संस्थापक अध्यक्ष रामबहादुर पौडेल भन्छन्, यो अभियानमा अहिलेसम्म आमा समूह, टोल विकास संस्था, विभिन्न पेशागत संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, सेना, पुलिस लगायत संघसंस्था आबद्ध छन् । तर क्षणभरमै भित्रिने फोहोर, अनियन्त्रित बसोबास तथा वरपरको प्रदूषणले लोप भइरहेका रैथाने औषधियुक्त बोटबिरुवा तथा बालीनाली, रैथाने जलचर तथा प्राणीको रक्षा चिन्ताका विषय हुन् ।

यही चिन्ताबाट भविष्यका पिंढीलाई मुक्त गर्न चाहन्छन् उनीहरू । ताल सफा भएपछि नै ताल क्षेत्रका वनस्पति, जीवजन्तु तथा मानिस शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुने उनीहरूको बुझाइ छ । ताल छिर्ने मुहानमा तारजाली तथा चेकड्याम लगाउनुपर्ने हो, ढलहरू खोजी खोजी थुन्नुपर्ने हो, स्थानीयलाई सरसफाइको महत्व व्यापक बुझाउनुपर्ने हो, विकास निर्माणका काम गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अक्षरशः कार्यान्वयन गर्नुपर्ने हो, त्यो हुनसकेको छैन ।

नागरिक समाजका संस्थापक अध्यक्ष पौडेल भन्छन्, ‘कि त जथाभावी फोहोर गर्नेलाई कडा सजाय दिन सक्नुपर्‍यो, कि त फेवातालमा ढल छिर्ने मुहान थुन्नुपर्‍यो । यसकै लागि हामी पटक–पटक सम्बन्धित निकायमा डेलिगेसन गयौं तर सुनुवाइ भएन ।’

आठ तालको शहर

पोखरा आठ वटा सुन्दर तालको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा परिचित शहर हो । यहाँका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, खास्टे, गुँदे र न्यूरेनी गरी आठ वटा तालहरू सन् २०१६ मा अन्तर्राष्ट्रिय रामसार सूचीमा सूचीकृत भइसकेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्यापका अनुसार, नेपाल भित्रिने पर्यटकमध्ये ४१ प्रतिशत ट्रेकिङका लागि आउँछन् र त्यसमध्ये लगभग ५० प्रतिशत अन्नपूर्ण क्षेत्रमा आउँछन् । त्यसैले, विश्व प्रसिद्ध पदयात्रा गन्तव्य अन्नपूर्ण राउण्ड ट्रेकको प्रवेश विन्दु पनि भएको पोखराको वातावरण तथा जैविक विविधता चासोको विषय हो । २०८० साल चैतमा नेपाल सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गरेको थियो ।

यहाँको तालको सङ्लो पानीमा प्रतिबिम्बत हुने माछापुच्छ्रे र अन्नपूर्ण हिमाल शृंखला र पोखराका प्रायः सबै ठूलातालको दृश्यावलोकन गर्न पर्यटकहरू आउने गर्छन् । यसरी पोखरा शहर र शहर वरपरको हरियाली नियाल्ने अग्लो डाँडा सराङकोट, काहुकोट, पुम्दीकोट लगायत पर्यटकीय गन्तव्य लोकप्रिय छन् ।

त्यसैगरी डेभिड फल्स, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा लगायत प्राकृतिक गुफा, ल्वाङघलेल झरना, माझठाना स्याखुदी झरना लगायत विभिन्न प्राकृतिक झरनाहरूले पोखरामा स्वच्छ हराभरा वातावरण र जैविक विविधताको आवश्यकता उजागर गर्दछ ।

पोखरा महानगरको तथ्यांक अनुसार, नेपालमा पाइने ८६० थरीका चराचुरुंगीहरू मध्ये करीब ३०० चराचुरुंगी पोखरामा पाइन्छन् । त्यस्तै पोखरामा मात्र २० भन्दा बढी प्रकारका जीवजन्तु र ३४ प्रजातिका रैथाने अन्नबाली पाइन्छन् । पोखराको सबैभन्दा ठूलो फेवाताल वरपरको सिमसारमा मात्र ५५ प्रजातिका रूख, ४२ प्रजातिका बुट्यान, १८ लहरे प्रजाति, ११ प्रजातिका सुनाखरी र २८ प्रजातिका उन्यूँ पाइन्छन् ।

यतिविघ्न महत्व बोकेको यो पर्यटकीय गन्तव्य कसरी स्वच्छ र आकर्षक बनाउने भन्ने चिन्ता यहाँका रैथानेहरूमा छ । उनीहरू भन्छन्, ‘पछिल्लो १० वर्षयता ताल वरपरको वातावरणमा अकल्पनीय परिवर्तन आएको छ, यसले हाम्रो दैनिक जीवनयापनमा नराम्रो प्रभाव त पारेको छ नै, भविष्यका पिंढीका लागि पनि तालतलैया जोगाउने कसरी हो भन्ने चिन्ता थपेको छ ।’

कभर स्टोरी
लेखक
स्मिता अधिकारी

स्मिता पोखराबाट पत्रकारिता गर्छिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?