+
+
Shares

शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै सुस्ता गाउँपालिका

रासस रासस
२०८१ चैत ८ गते १६:०९

८ चैत, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेको शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ ।

रु पाँच करोडभन्दा बढी लागतमा बनेको शीतभण्डार उपयोगविहीन भएपछि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने निष्कर्षमा पालिका पुगेको गाउँपालिका अध्यक्ष उपाध्यक्ष गीता चौधरीले बताइन् । पूर्वतयारीविना बनाइएको शीतभण्डार सञ्चालनमा ल्याउन कठिन भएको उनले बताइन् ।

गाउँपालिकाको मुख्य बाली उखु र केराखेती हो तर शीतभण्डारमा आलु र प्याज मात्रै राख्न मिल्ने भएकाले शीतभण्डार प्रयोगमा नआएको अध्यक्ष उपाध्यायको भनाइ छ । ‘यहाँको आवश्यकता पहिचान नै नगरी अघिल्लो कार्यकालमा यहाँ शीतभण्डार बनाइयो, जसकारण यसको प्रयोग हुनसकेको छैन । ठूलो लगानीमा बनेको शीतभण्डार प्रयोगमा नआउनु चिन्ताको विषय हो । त्यसैले निजी क्षेत्रलाई ठेक्कामा दिएर यसको उपयोग गर्ने सोच बनाएका छौँ’, उनले भने ।

गाउँपालिका उपाध्यक्ष गीता चौधरीले निजी क्षेत्रबाट शीतभण्डार सञ्चालनका लागि कार्यविधि तयार गरिएको बताइन् । गाउँपालिका आफैँले शीतभण्डार सञ्चालनका लागि धेरै प्रयास गरे पनि सफल नभएको उनले बताइन् ।

‘किसानलाई आलु, प्याज उत्पादनका लागि प्रोत्साहन गर्न अनुदानको कार्यक्रम पनि अगाडि सार्‍यौँ। त्यसका लागि चालु आर्थिक वर्षमा अनुदान दिनका लागि आलुमा रु १० लाख र प्याजमा रु चार लाख बजेट नै विनियोजन गरिएको छ। त्यसका लागि आवेदन पनि माग्यौँ तर किसानले चासो राखेनन्’, उपाध्यक्ष चौधरीले भनिन् ।

एक वर्षअघि शीतभण्डार गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । त्यसपछि पनि पालिकाले केही अधुरा काम सम्पन्न गरिसकेको छ ।

लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताए । शीतभण्डारको क्षमता एक हजार मेट्रिक टन छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?