
केही समयअघि दैलेखमा ११ वर्षीय बालकको हत्या भएको समाचार आएको थियो। प्रहरी अनुसन्धानपछि उक्त बालकको हत्या उसैको उमेरका साथीहरूले मिलेर गरेको भन्ने पत्ता लागेको थियो। प्रहरीका अनुसार चोरी गरेर ल्याएको सुनको गहना बिक्री गर्ने विषयमा विवाद हुँदा बालकलाई आफ्नै साथीले मारेका थिए।
अमेरिकामा सन् १९९८ मा, १५ वर्षीय किशोरी करेन कर्टिसले इर्ष्या र व्यक्तिगत विवादका कारण १६ वर्षीया आफ्नी सहपाठी एड्रियन जोन्सको हत्या गरेकी थिई। जापानमा सन् २००४ मा, ११ वर्षीय छात्राले अनलाइन च्याटमा भएको विवादपछि आफ्नी सहपाठी १२ वर्षीया सतोमी मित्राईको स्कूलमा हत्या गरेकी थिई। त्यस्तै भारतमा पनि सन् २०१७ मा, गुरुग्रामको एक स्कूलमा १६ वर्षीय छात्रले दुई कक्षामा पढ्ने ७ वर्षीय प्रद्युम्न ठाकुरको हत्या गरेको थियो। यस्ता प्रकृतिका घटनाहरू खोज्ने हो भने विश्वभर थुप्रै भेटिन्छन्।
किशोर-किशोरीहरूको बीचमा हुने यस्ता हिंसात्मक घटनाहरूले बेलाबखतमा सबैतिर गम्भीर चिन्ता उत्पन्न गराउने गरेको छ। यी घटनाहरूले किशोरावस्थामा हुने मानसिक तथा भावनात्मक परिवर्तनहरू, साथै सामाजिक र पारिवारिक वातावरणले कसरी गम्भीर परिणामहरू निम्त्याउन सक्छ भन्ने देखाउँछन्। त्यसैले, किशोर-किशोरीहरूको मानसिक स्वास्थ्य र व्यवहारमा विशेष ध्यान दिनु आवश्यक रहेको छ।
एडोलेसन्स अर्थात् किशोरावस्था। बाल्यावस्था र युवावस्था बीचको संक्रमणकालीन समय, जुन १३-१९ वर्षको बीचमा पर्दछ। यस अवधिमा कुनै पनि व्यक्तिमा शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक परिवर्तनहरू तीव्र रूपमा हुन्छन्। यस समयमा कस्तो परिस्थिति र मनस्थितिमा बाँचिरहेको छ, त्यसले उक्त व्यक्तिको भविष्यलाई आकार दिने गर्छ।
केही समयअघि मात्र नेटफ्लिक्समा यही मुद्दा र विषयमा आधारित भएर एउटा मिनी-सिरिज आएको छ, ‘एडोलेसन्स’, जसले अहिले जताततै तहल्का मच्चाइरहेको छ। जो कसैले यसैको मात्र चर्चा गरिरहेका छन्। ‘एडोलेसन्स’ केवल एक मनोवैज्ञानिक क्राइम-थ्रिलर मात्र नभएर किशोर अपराध, सामाजिक मूल्य र पारिवारिक सम्बन्धको जटिलतामाथि गरिएको गहिरो अध्ययन पनि हो। मार्च १३ मा नेटफ्लिक्समा प्रिमियर भएको चार एपिसोडको यस मिनी-सिरिज एक १३ वर्षीय स्कुले केटा ‘जेमी’को वरिपरि घुम्छ, जो आफ्नै महिला सहपाठी ‘क्याटी’को हत्याको आरोपमा पक्राउ पर्छ। सिरिजले अपनाएको अनौठो कथन शैली र ‘वन-टेक’ प्रविधिले दर्शकहरूलाई निकै आकर्षित गरेको छ। सकारात्मक प्रतिक्रियाका कारण यसले नेटफ्लिक्समा उल्लेखनीय सफलता पाइरहेको छ।
पहिलो एपिसोडको कथा मुख्य पात्र जेमीको गिरफ्तारी वरिपरि केन्द्रित छ भने, दोस्रो एपिसोडमा अनुसन्धानकर्ताहरूको यात्रालाई देखाइन्छ, जसले विद्यालयमा अपराधको कारण र हत्यामा प्रयोग भएको हतियारबारे जवाफ खोज्छन्। सिरिजको तेस्रो एपिसोड जेमी र बाल मनोवैज्ञानिक बीचको सेसनमा केन्द्रित छ र चौथो एपिसोड जेमीको गिरफ्तारीपछि परिवारमा परेको भावनात्मक तनावलाई चित्रित गरिएको छ।
जेमीले सुरुमा आफूले केही नगरेको भन्छ, तर प्रहरी अधिकारीले उसलाई क्यामेरामा कैद भएको दृश्य देखाउँछ, जसले कथालाई नयाँ र गम्भीर मोडतिर पुर्याउँछ। त्यसपछि प्रश्नहरू उब्जिन थाल्छन्। जवाफ खोज्न प्रहरी अधिकारीहरू अनुसन्धान गर्न थाल्छन्। जाँचको क्रममा पुलिसले जेमी र मृत क्याटीबीचका दर्जनौं सोसल मिडिया पोस्टहरू पनि जाँच गर्छन्, जसले उनीहरूको सम्बन्धलाई बुझ्न मद्दत पुर्याउँछ।
एडोलेसन्सले विद्यालयमा हुने बुलिङ, सामाजिक सञ्जालको प्रभाव र ‘इन्सेल’ (अविवाहित, महिला-विरोधी मानसिकता राख्ने समूह) उपसंस्कृति जस्ता विषयहरूलाई पनि उजागर गरेको छ। इन्सेल ‘इनभोलन्टरी सेलबेस’को संक्षिप्त रूप हो, जहाँ यस्ता पुरुषहरू हुन्छन्, जसले यौन सम्बन्ध बनाउन सक्दैनन् र त्यसको जिम्मेवार वा दोष समाजका अन्य सदस्यहरूलाई विशेषगरी महिलाहरूलाई दिन्छन्। उनीहरू आफूलाई समाजबाट अलग र अस्वीकृत भएको अनुभव गर्छन्। आफ्नो आत्मसम्मान घटेको महसुस गर्छन्, जसले गर्दा उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न जान्छ। त्यसैले उनीहरू अक्सर हिंसाको साहरा लिने गर्छन्।
अहिले सामाजिक सञ्जालमा इमोजीको प्रयोग व्यापक हुँदै आइरहेको छ। तर, पछिल्लो समय यसको उपयोग नयाँ तरिकाले भइरहेको छ। इमोजीहरू कुनै भावनालाई व्यक्त गर्न मात्र नभई गुप्त सञ्चारका लागि पनि प्रयोग गरिन थालिएको छ। इन्सेल समुदायका सदस्यहरूले आफ्नो विचार र सन्देश फैलाउन विभिन्न संकेत वा गुप्त भाषा प्रयोग गर्छन्, जसमा इमोजी पनि एक महत्वपूर्ण माध्यम बनेको छ। इमोजीहरू सीधै आपत्तिजनक देखिंदैनन्, तर खास समुदायबीच मात्र बुझिने संकेत हुनसक्छन्। बाहिरबाट सामान्य देखिए पनि इमोजीहरू इन्सेल समुदायका सदस्यहरूले अरूलाई हेप्ने वा दुर्व्यवहार गर्ने गरी प्रयोग गर्छन्।
‘स्मार्टफोन फ्री चाइल्डहुड’ समूहकी सहसंस्थापक ‘डेजी ग्रीनवेल’का अनुसार, ‘नेटफ्लिक्समा आएको एडोलेसन्स सिरिजले सबै अभिभावकहरूलाई गहिरो प्रभाव पारेको छ। सिरिजले उनीहरूको डरलाई सतहमा ल्याउने काम गरेको छ। हामी सबै अभिभावकहरूको ठूलो चिन्ता भनेको यही हो, हामी आफ्ना बच्चाहरूलाई स्मार्टफोन दिन्छौं, त्यसपछि उनीहरू विस्तारै हाम्रो नियन्त्रण बाहिर जान थाल्छन्।’ लेबर पार्टीका सांसद ‘जोश म्याकएलिस्टर’ले प्रस्ताव गरेको ‘सुरक्षित फोन विधेयक’माथि यसै महिनाको सुरुमा केही कडा नियमहरूको विरोध भएपछि यसलाई केही हदसम्म परिवर्तन गरिएको थियो। किशोरहरूको सुरक्षाका लागि सरकारले स्मार्टफोनको लत लगाउने एल्गोरिदमलाई प्रतिबन्ध लगाउन उचित कदम चाल्नुपर्ने भनी उनले भनेका थिए।
त्यसै अनुरूप यूके सरकारले नयाँ कानून ‘अनलाइन सुरक्षा ऐन’ ल्याएको छ, जसको मुख्य उद्देश्य बालबालिका, किशोरकिशोरीलाई इन्टरनेटमा सुरक्षा प्रदान गर्नु हो। एडोलेसन्स सिरिजका निर्देशक ‘फिलिप बारान्टिनी’ले ‘यदि मेरो हातमा यो निर्णय गर्ने शक्ति भएको भए, म १६ वर्षभन्दा कम उमेरकाहरूलाई स्मार्टफोनको प्रयोग गर्न पूर्णरूपमा रोक लगाउने थिएँ’ भनेर पनि भनेका थिए।
उनले बनाएको सिरिजले पहिलो चार दिनमै २४.३ मिलियन भ्युज पार गर्दै लोकप्रियताको नयाँ कीर्तिमान बनाएको छ। मार्च १०-१६ को साप्ताहिक सूचीमा यो नेटफ्लिक्सको दोस्रो शीर्ष शो बन्न सफल भएको थियो, मार्च २० सम्म आउँदा यसले पहिलो स्थान हासिल गरिसकेको छ।
सिरिजलाई अझ लोकप्रिय बनाउने मुख्य कारण भनेकै यसको ‘वन-टेक’ शैली हो, जसले दर्शकहरूको रुचि बढाएको छ। हरेक एपिसोड ‘वन-टेक’मा खिचिएको छ। त्यो बाहेक सकारात्मक समीक्षाका कारण सिरिजले हरेक दिन नयाँ दर्शकहरूलाई आफूतिर आकर्षित गरिरहेको छ। सिरिज कुनै वास्तविक घटनामा आधारित छैन, तर त्यस्तै प्रकृतिका अपराधहरूबाट प्रेरित छ। सिरिजका निर्माता तथा लेखक ‘स्टेफन ग्राहाम’ले ‘ज्याक थोर्न’ सँगै सिरिज तयार पारेका हुन्। उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘हामीलाई वान-शटमा सिरिज बनाउन अनुरोध गरिएको थियो, त्यसैले हामीले विभिन्न सम्भावनाहरूबारे सोच्न थाल्यौं। त्यसै दौरान, मैले पत्रिकामा एउटा समाचार पढें, जहाँ एक किशोर केटाले आफ्नै उमेरको केटीलाई चक्कु प्रहार गरेको घटना उल्लेख गरिएको थियो। त्यो समाचार पढेर म चिसिएँ। त्यसको झण्डै तीन-चार महिनापछि फेरि समाचारमा त्यस्तै अर्को घटना देखें, एउटा किशोर केटाले एउटी किशोरीलाई चक्कु प्रहार गरेको। मर्ने र मार्ने सबै किशोरावस्थाका थिए। आखिर अहिले यस्तो के भइरहेको छ ? किन भइरहेको छ ? पहिले यस्तो हुँदैनथ्यो। मैले यसको जवाफ खोज्न एडोलेसन्स बनाएको हुँ।’
सिरिजका ४४ वर्षीय निर्देशक ‘फिलिप बारान्टिनीले भनेका थिए– ‘युकेको किशोर पुस्तामा नाइफ क्राइम (चक्कु प्रयोग गरी गरिने अपराध) निकै ठूलो समस्या बन्दै गइरहेको छ। केटाहरूले केटीहरूलाई चक्कु प्रहार गर्दै हत्या गरिरहेका घटनाहरू लगातार आइरहेका छन्। त्यसैले, हामीले यही विषयलाई गहिराइमा गएर अध्ययन गर्ने सोच बनायौं। यस कथा मार्फत समाज र देशलाई सन्देश दिनुका साथै सबैलाई नयाँ विषयमा केन्द्रित गर्नका लागि एडोलेसन्स बनायौं।’
‘अफिस फर नेशनल स्ट्याटिस्टिक्स’का अनुसार, मार्च २०२४ को अन्त्यसम्म मात्र इङ्गल्यान्डमा ५० हजार ५०० चक्कु आक्रमणका घटनाहरू भइसकेका छन्, जुन २०१२ र २०१३ को बीचमा भएका २७ हजार घटनाहरूको तुलनामा धेरै नै बढी हो। ‘मिनिस्ट्री अफ जस्टिस’को डाटा अनुसार मार्च २०२३ को अन्त्यसम्म भएका १८ हजार ५०० चक्कु अपराधका अपराधीहरूमध्ये १७.३ प्रतिशत किशोर-किशोरी (१० देखि १७ वर्षका) थिए। गत वर्ष, १७ वर्षको किशोरले लिभरपुलमा नृत्य कक्षामा तीन आफ्नै उमेरका केटीहरूलाई घातक चक्कु प्रहार गरेर हत्या गरेको थियो। उसलाई जनवरीमा कम्तीमा ५२ वर्षको कारावास सजाय सुनाइएको छ। त्यसै महिनामा, ब्रिटिश प्रधानमन्त्री ‘कीर स्टार्मर’ले एक्लै बस्नेहरू, समाजसँग राम्रोसँग नखुल्नेहरू, कोठामा आफूलाई बन्द गरेर अनलाइनका विभिन्न सामग्रीहरूसँग लती भएकाहरूलाई आतङ्ककारीको संज्ञा दिंदै चेतावनी पनि दिएका थिए।
लेखक ‘स्टेफन ग्राहाम’ले निर्देशक ‘फिलिप बारान्टिनी’सँग यस सिरिजको कन्सेप्ट कारमा कतै जाँदै गरेको बेलामा सुनाएका थिए। उनीहरू पहिल्यैदेखि सँगै सहकार्य गर्दै आइरहेका छन्। सन् २०२१ को फिल्म ‘बोइलिङ पोइन्ट’लाई उनीहरूले सहकार्य गरेको एक अद्भुत फिल्म मान्न सकिन्छ। बारान्टिनीले बोइलिङ पोइन्टलाई पनि वान सटमा खिचेका छन्। फिल्मले हस्पिटालिटी क्षेत्रभित्रको वास्तविक संघर्ष र मान्छेहरूको मानसिकतालाई गहिरोसँग अध्ययन गरेको छ। वान सट अथवा सिंगल-टेक ‘फिलिप बारान्टिनी’को सिग्नेचर स्टाइल भइसकेको छ।
आखिर वान सट नै किन ? दर्शकहरूलाई घटनाहरूको प्रत्यक्ष रूपमा महसुस गराउन, टेन्सन पैदा गर्न विशेषगरी थ्रिलर र मनोवैज्ञानिक कथाहरूमा, घटनाहरूलाई प्रभावशाली र भावनात्मक रूपमा प्रभावकारी बनाउन, चरित्रको मनोविज्ञानलाई गहिरोसँग देखाउन, समयको वास्तविक रूप देखाउन मेकरहरूले वान सट अथवा सिंगल-टेकमा फिल्महरू खिच्ने गर्छन्। यसरी वान सटमा खिचिएका फिल्महरू थुप्रै छन्। सिरिजलाई यसरी बनाएको भने मलाई याद छैन। तर, ‘ट्रू डिटेक्टिभ’ र ‘द हन्टिङ अफ हिल हाउस’का केही एपिसोडका दृश्यहरूलाई भने लङ सटमा खिचेको भनेको थाहा छ।
निर्देशक बारान्टिनीले एक अन्तर्वार्तामा भनेका थिए– ‘म दर्शकहरूलाई एक यथार्थपरक यात्रामा लैजान चाहन्थें, जसले वास्तविक समयमा पात्रहरू जस्तै अनुभव गरोस्। सिंगल-टेकले यस्तो वायुमण्डलको सिर्जना गर्छ, जसले दर्शकहरूलाई त्यो अवस्थामा पुर्याइदिन्छ, जहाँ उनीहरूले चाहेर पनि आफ्ना नजर र ध्यान हटाउन सक्दैनन्। पात्रहरू जस्तै उनीहरू पनि कथामा बाँधिन विवश हुन्छन्। यो तरिका सबै विधाका कथाहरूमा फिट हुँदैनन्, तर यो सिरिजका लागि हामी दर्शकहरूलाई एक घण्टाका लागि कथाभित्र कैद गर्न चाहन्थ्यौं। अनि फेरि बाहिर निकाल्न चाहन्थ्यौं। अर्को एपिसोडमा, कथा केही दिन वा महिनापछि सुरु हुन्छ, तर दर्शक आफैंले उनीहरू कहाँ छन् भनेर बुझ्नुपर्छ। यो नै हाम्रो उद्देश्य हो।’
वान सटमा खिच्न कसरी सम्भव भएको थियो भन्ने प्रश्नमा लेखक तथा कलाकार ‘स्टेफन ग्राहाम’ले भनेका थिए, ‘हामी हरेक एपिसोड खिच्न एक हप्ता अभ्यासमा बिताउँथ्यौं। हामी यति अभ्यास गर्थ्यौं, पछि गएर ती काल्पनिक घटनाहरू पनि हाम्रो ‘मसल मेमोरी’को रूममा विकसित भइसकेका थिए।’ मसल मेमोरी शरीरको मांसपेशीहरूको तीव्र रूपमा अथवा निरन्तर दोहोर्याइएको अभ्यासबाट स्वचालित रूपमा कुनै क्रिया गर्न सक्ने क्षमतालाई बुझाउँछ।
सिरिजको हरेक मिनेटले वास्तविक र मानसिक रूपमा अनुभूत गरिने हिंसाको मानसिक-भावनात्मक गहिराइलाई खोतल्ने काम गरेको छ। सामान्यतया ग्याङस्टर वा हास्य भूमिकामा देखिने स्टेफन ग्राहामले यस सिरिजमा जेमीको बुबाको भूमिकामा आफ्नो सम्पूर्ण अभिनय क्षमता पोखेका छन्। जेमीको भूमिकामा १४ वर्षीय ओवेन कूपरले अभिनय उत्कृष्ट छ।
एडोलेसन्स संवेदनशील तथा मनोवैज्ञानिक रूपमा एकदमै प्रभावशाली मिनी-सिरिज बनेको छ, जसले किशोरावस्थाको जटिलता, सामाजिक दबाब र आधुनिक प्रविधिको प्रभावलाई सहजताका साथ सतहमा ल्याएको छ। सिरिजले विशेष रूपमा किशोरहरूको मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध तथा समाजमा उनीहरूले खेप्नुपर्ने चुनौतीलाई नजिकबाट चित्रण गर्ने कोसिस गरेको छ।
तर, यो भनिरहँदा एडोलेसन्सको कथा संरचनामा केही कमजोरी पनि देखिन्छ, कम्तीमा मलाई लाग्यो। प्राय: महिला हिंसाका घटनाहरूमा अपराधीहरू नै चर्चामा आउँछन्, तर पीडितहरूको आवाज हराएर जान्छ। सिरिजमा हत्या भएको किशोरी पात्र फगत एउटा टुल मात्र बन्न पुगेको छ। उसलाई अथवा उसको पारिवारिक स्थितिलाई नियाल्ने कुनै झ्याल छैन।
एडोलेसन्स हेरिरहँदा मलाई अर्को मिनी-सिरिज ‘डिफेन्डिङ ज्याकब’को पनि याद आएको थियो, जुन ‘विलियम लान्डे’द्वारा लिखित सोही नामको उपन्यासमा आधारित रहेको छ। यस सिरिजले पनि परिवार, न्याय, र नैतिकताको परिभाषा खोजेको छ। यसको कथा एक सरकारी वकिल ‘एन्डी बार्बर’को वरिपरि घुम्छ, जसको १४ वर्षीय छोरा, ‘ज्याकब’ आफ्नै सहपाठीको हत्या अभियोगमा फस्छ। एन्डी र उनकी पत्नी लोरी आफ्ना छोराको निर्दोषिता प्रमाणित गर्न संघर्ष गर्छन्, तर प्रमाणहरू ज्याकबको विपक्षमा देखिन्छन्। म ‘डिफेन्डिङ ज्याकब’ हेर्न पनि सिफारिस गर्छु।
धेरै समयपछि कुनै सिरिज हेरेर तृप्त भएको भनेको यही ‘एडोलेसन्स’ हेरेर हो। अहिले जुन रूप र रफ्तारले डिजिटल दुनियाँको आयतन फैलिरहेको छ, जहाँ नक्कली पहिचानको नकाब पछाडि लुकेर साइबरबुलिङ, हिंसा, दुर्व्यवहार भइरहेका छन्, त्यसको प्रभाव र नतिजालाई यस सिरिजले मज्जासँग उतारेको छ। अहिलेका नव-पुस्ता आफ्नो पहिचान खोज्ने क्रममा विभिन्न प्रकारका सामाजिक र व्यक्तिगत संघर्ष गर्छन्। त्यस क्रममा उनीहरू सामाजिक सञ्जालको प्रभाव, सहकर्मीहरूको दबाब, पारिवारिक असमझदारी, तनाव, प्रतिस्पर्धा झेल्दै जान्छन्। यसरी उनीहरूले भोग्ने मानसिक द्वन्द्व, आत्म-संकोच र समाजबाट गरिने अपेक्षाहरूले सिर्जना गर्ने तनावलाई सिरिजले गहिराइमा गएर देखाएको छ। समाजमा यस्ता विषयहरूबारे गम्भीर बहस र सुधारको लागि भए पनि एडोलेसन्स जस्ता सिरिजहरू महत्त्वपूर्ण छन्। सिरिज नेटफ्लिक्समा उपलब्ध छ।
प्रतिक्रिया 4