+
+
Shares

गोरखाबाट पूर्वराजाले भने- कोही डराउनु पर्दैन, देशमा शान्ति चाहिएको छ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ९ गते १६:०७

९ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् ।

शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् ।

उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए ।

‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । केही खराब नचिताओस् भन्ने मेरो कामना छ,’ पूर्वराजा शाहले भने ।

उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको सुनाए ।

‘गोरखा आएर मलाई खुसी लाग्यो । आफ्नो जन्मथलो त होइन, तर पुर्खाको थलो हो,’ पूर्वराजा शाहले भने ।

उनले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने पनि बताए ।

‘कोही पनि केही गर्नलाई पनि डराउनु पर्दैन । देशको शान्ति कायमै होस् । देशमा सुख होस् । सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ उनले भने ।

शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरे ।

पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे ।

गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको पाइन्छ । उनकै आशिर्वादले तत्कालीन राजाहरुले युद्ध जितेको बताइन्छ ।

इतिहासहरुमा गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाहले लिगलिगकोटमाथि विजय हासिल गर्न सफल भएको पढ्न पाइन्छ ।

गोरखनाथले दिएको दही पृथ्वीनारायण शाहको खुट्टामा परेको र तिमीले टेकेको भूमि तिम्रो राज्य हुने छ भनी आशीर्वाद दिएका कारण नेपाल एकीकरणमा उनी सफल भएको पनि बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?