+
+
Shares

भक्तपुर घटना : पूजाको भेटी टिप्ने विवादमा हत्या भएको आशंका

पूजाको भेटी टिप्ने क्रममा विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १४:०१
घटनास्थलमा भेटिएको बोरा र क्याप ।

१० चैत, काठमाडौं । आइतबार बिहानै ५ः५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत भेटिए

व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो ।

प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव थियो । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । ‘घटनास्थलको प्रकृति हेर्दा प्रारम्भिक रुपमै हत्या जस्तो देखिन्छ, हत्याकै आशंकामा अनुसन्धान गरिरहेका छौं’ जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले अनलाइनखबरसँग भने ।

शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए । बोरा नजिकै क्याप, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान गर्‍यो ।

मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरिसकेको प्रहरीको भनाइ छ । ‘मृतकका एक छोरा काठमाडौंमै पठाओ चलाउने रहेछन् । आएर शव सनाखत गरेका छन् । अहिले पोस्टमार्टमका लागि शव पठाएका छौं’ एसपी बुढाथोकीले भने ।

छोरा सम्पर्कमा आएर सनाखत गरेपछि मृतक व्यक्ति खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६० वर्षीय ओम प्रकाश राई रहेको खुलेको छ । उनको शव  भक्तपुर दुवाकोटस्थित केएमसी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।

राईले कवाडीको सामान संकलन गर्ने गरेको खुलेको छ । उनका तीन छोरामध्ये एक छोरा विदेश ग्रिसमा रहेको प्रहरीको भनाइ छ । राईको हत्या गएराति भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

प्रहरीका अनुसार राईसँगै दुई जना अन्य व्यक्ति पनि कवाडीको सामान संकलन गर्दै आएका थिए । उनीहरुलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार शनिबार मात्रै राईको शव भेटिएको ठाउँ नजिकै लामाहरुले पूजापाठ गरेका थिए । पूजापाठको भेटी टिप्न उनीहरु शनिबार साँझ उक्त ठाउँमा पुगेको हुनसक्ने प्रहरीको आशंका छ । भेटी टिप्ने क्रममै विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

‘शवको प्रकृति हेर्दा राति नै हत्या भएजस्तो देखिन्छ । मृतक राई यसअघि उक्त ठाउँमा भेटी टिप्न जाने गरेको पाइएको छ । शनिबार पनि पूजापाठ भएकाले भेटी टिप्न गएको हुनसक्ने देखिन्छ । अनुसन्धानकै चरणमा रहेकाले थप विवरण खुल्न बाँकी नै छ,’ एसपी बुढाथोकी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?