+
+
Shares

वडाध्यक्ष कुटपिट प्रकरण : प्रहरीसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले प्रहरीमा जाहेरी दिएका थिए । शुक्रबार जाहेरी दर्तापछि प्रहरीले आइतबार अदालतसँग पक्राउ अनुमति मागेको थियो । सोही अनुसार सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १० गते १८:३४

१० चैत, काठमाडौं । पर्साको वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको घटनामा सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार पर्सा जिल्ला अदालतले सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी गौतम मिश्रले बताए ।

‘पक्राउ पुर्जी जारी भएको छ । अब कानुनी प्रक्रिया अघि बढाउँछौं,’ एसपी मिश्रले अनलाइखबरसँग भने ।

आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले प्रहरीमा जाहेरी दिएका थिए । शुक्रबार जाहेरी दर्तापछि प्रहरीले आइतबार अदालतसँग पक्राउ अनुमति मागेको थियो । सोही अनुसार सात जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

पक्राउ पुर्जी जारी हुनेहरूमा नेपाल प्रहरीका बहालवाला वरिष्ठ सई सागर शमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानु, वीरगञ्ज–११ घर भएका ४२ वर्षीय भुषण यादव, वीरगञ्ज–३२ का भुसाल चौरसिया, वीरगञ्ज–६ का ३७ वर्षीय विक्की गुप्ता, वीरगञ्ज–१० का लखनलाल गुप्ता छन् । पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

यो समूहले २९ फागुनको राति सवा ९ बजेतिर होलीको दिन वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेको आरोप छ । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमन्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । उक्त पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मित्रमिलन कार्यक्रममा गएका बेला आक्रमण भएको वडाध्यक्ष चर्तुवेदीको भनाइ छ ।

आफूमाथि ७ जनाको समूहले आक्रमण गरेको उनको भनाइ छ । सीसीटीभी फुटेजमा समेत आक्रमण भएको देखिन्छ । पार्टी प्यालेसमा खानपिन भएरहेका बेला एक समूह हो–हल्ला गर्दै वडाध्यक्षमाथि आक्रमणमा उत्रिएको दाबी गरिएको छ । सीसीटीभी फुटेजमा वडाध्यक्ष चतुर्वेदीसहित चार जना खानपानमा व्यस्त रहेको देखिन्छ ।

त्यही समयमा निलो ज्याकेट लगाएका व्यक्ति उनीहरू भएको ठाउँ नजिक आइपुग्छन् । बसेर खाइरहेका चारमध्ये एक जना उठेर निलो ज्याकेट लगाएका व्यक्तिलाई बाहिर पठाउन खोजेको फुटेजमा देखिन्छ । फोनमा कुरा गर्दै आएका ती व्यक्ति बाहिर जान मान्दैनन् र भित्र पस्छन् । उनकै पछिपछि अरू व्यक्ति पनि आएको देखिन्छ ।

यही मौकामा पार्टी प्यालेसको अर्को ढोकाबाट एक हुल मान्छे जबरजस्तीभित्र प्रवेश गरेको देखिन्छ । त्यही समूहले वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेको फुटेजमा देखिन्छ । त्यहाँ दुई पक्षबीच अन्धाधुन्दा आक्रमण हुन्छ । आक्रमणबाट घाइते भएका वडाध्यक्ष चतुर्वेदी उपचारपछि अहिले घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?