
११ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पछिल्लो समय विश्वविद्यालयमा हुने झगण र तालाबन्दीको समस्या पेचिलो बन्दै गएको बताएकी छिन् ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागी हुँदै मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।
‘अहिले सबैभन्दा पेचिलो विषय भनेको विश्वविद्यालयमा हुने तालाबन्दी, त्यहाँ हुने झै–झगडा तथा संस्कारजन्य कुरामा कसरी जाने भन्ने विषयमा हामी जानैपर्छ,’ मन्त्री भट्टराईले भनिन्, ‘यो विषयलाई समेत विधेयकमा समेटेर जानको लागि म यहाँ अनुरोध गर्न चाहन्छु ।’
साथै, उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानुन बनाउन सुझाव दिएकी छिन् ।
यस विषयको समाधान सहित विधेयक अगाडि बढाउनुपर्नेमा उनको जोड छ ।
उनले विधेयकलाई विश्वविद्यालयहरुमा देखिएको क्यालेण्डर, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने पनि बताइन् ।
‘हामीले यो विश्वविद्यालयलाई अहिलेसम्मका विश्वविद्यालय र अब बन्ने विश्वविद्यालयमा समेत एउटा मानक स्थापित गर्नसकौं । अहिले विश्वविद्यालयभित्र तीनवटा समस्याहरू रहेका छन्,’ मन्त्री भट्टराईले भनिन्, ‘एउटा क्यालेण्डरको कुरा, अर्को त्यहाँभित्रको जनशक्ति व्यवस्थापनको कुरा र लिडरसिप कसले लिने र विश्वविद्यालयको जिम्मेवार को हुने भन्ने कुरा ।’
प्रतिक्रिया 4