क्षयरोग विश्वमा एक प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । विगतका केही शताब्दी अघिदेखि नै मानिसलाई क्षयरोग लाग्ने गरेको देखिन्छ । विश्वभर हरेक वर्ष लगभग १ करोड मान्छेलाई क्षयरोगले सताउँछ, त्यसमा १३ लाखको मृत्यु हुन्छ।
क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरुवा रोग हो । माइकोब्याक्टेरियम नामक ब्याक्टेरिया प्रायः हाच्छिउँ गर्दा र खोक्दा श्वास–प्रश्वासमार्फत फैलिन सक्छ । चिकित्सकीय भाषामा क्षयरोगलाई ट्युबरकुलोसिस भनिन्छ । छोटकरीमा यो रोगलाई टिबी भनेर चिनिन्छ ।
क्षयरोग कति तीब्र गतिमा सर्छ भन्ने कुरा संक्रमित व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ । रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिलाई क्षयरोगको कीटाणुले छिटो आक्रमण गर्छ । कुपोषण, दीर्घरोगी, एचआइभी संक्रमण भएका व्यक्तिमा यो रोग छिटो हुने जोखिम हुन्छ ।
क्षयरोगले फोक्सोलाई असर गर्छ भन्ने कुरा धेरैलाई थाहा छ । तर, यसले फोक्सोमा मात्र नभई शरीरका विभिन्न अङ्गलाई असर पार्न सक्छ । प्राथमिक रूपले यो रोग फोक्सोमा लाग्ने गर्छ र त्यहाँबाट रगतको बाटो हुँदै संक्रमण फैलिँदै गएर शरीरका सम्पूर्ण अंगमा असर गर्छ ।
यस्तैमा क्षयरोग फैलिन सक्ने अङ्गहरुमा मस्तिष्क पनि हो । फोक्सोको संक्रमण फैलिँदै मस्तिष्कसम्म पुगेमा त्यसले त्यहाँ क्षयरोग गराउँछ । जसलाई मस्तिष्क क्षयरोग भनिन्छ । मस्तिष्क क्षयरोगलाई ‘ब्रेन टिबी’ अर्थात् ‘ट्युबरकुलर मेनिन्जाइटिस ’ पनि भनिन्छ । शरीरमा जुन-जुन ठाउँमा बढी अक्सिजन हुन्छ, त्यो ठाउँमा माइकोब्याक्टेरियम ट्युबरकुलोसिस् ब्याक्टेरियाको संक्रमण बढी हुन्छ ।
मस्तिष्क क्षयरोगको तीन अवस्था हुन्छ । माइकोब्याक्टेरियम ट्युबरकुलोसिसले मस्तिष्कको झिल्लीहरूमा मात्र (मेडिकल भाषामा मेनिन्जेज) लाई संक्रमित पारेको छ भने त्यसलाई मेनिन्जाइटिस भनिन्छ । उक्त कीटाणुले मस्तिष्कमा पीप जमाएको छ भने त्यसलाई ट्युबरकुलर एब्सेस भनिन्छ ।
सो ब्याक्टेरिया मस्तिष्कमा पुगेपछि त्यसलाई छेक्न हरसम्भव मस्तिष्कका तन्तुहरूले प्रयास गर्छन्। त्यो क्रममा त्यहाँको भाग सुन्निन्छ । सुन्निएपछि ब्याक्टेरिया संक्रमित भागलाई डल्लो पारिदिन्छ । जसलाई ट्युबरकुलोमा भनिन्छ ।
मस्तिष्क क्षयरोगका लक्षणहरू
टाउको दुख्ने, वाकवाकी लाग्ने, चेतनास्तर कम हुने, रिंगटा लाग्ने, छारे रोगको लक्षण देखा पर्ने र दिमागको जुन भागमा गएर संक्रमण बसेको छ, त्यो भागले शरीरको कुन कार्य गर्छ त्यसलाई असर गर्छ । जस्तो बोल्ने ठाउँमा गएर त्यो बसेको छ भने आवाज निक्लन समस्या हुन्छ । हातखुट्टा चलाउने ठाउँमा असर गरेको छ भने हातखुट्टा चलाउन अफ्ठेरो हुन्छ।
जोखिमयुक्त समूह
रोगीको सम्पर्कमा धेरै पटक आउने व्यक्ति, धेरै भीडभाडमा बस्ने व्यक्ति मद्यपान वा धूम्रपान गर्ने व्यक्ति, दीर्घरोग लागेका व्यक्ति र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो संक्रमण हुने सम्भावना बढी हुन्छ । हाेस्टेल, ब्यारेक, गुम्बामा पनि यस्तो संक्रमण छिट्टै फैलिन्छ ।
पहिचान गर्न गाह्रो
मस्तिष्क क्षयरोग पहिचान गर्न सामान्यतया गाह्रो हुन्छ । मस्तिष्कमा हुने यसका तन्तु, रगत र पानीबीच जुन सन्तुलन छ, त्यसबाहेक अन्य कुरा दिमागमा आयो भने मस्तिष्क भित्र चाप बढ्छ। मस्तिष्क भित्रको चाप बढ्दा टाउको दुख्ने, वाकवाक लाग्ने, उल्टी हुने लगायतका लक्षण देखिन्छ। तर मस्तिष्क क्षयरोग नै हाे भनेर पहिचान गर्न भने गाह्रो हुन्छ ।
यसका लक्षणहरू अन्य समस्यामा जस्तै हुने भएकाले रोगीले यसलाई अन्य न्यूरोलोजिकल डिसअर्डर मानेर उपचार गरिरहन्छन् । जसका कारण गम्भीर अवस्था आएमा मात्रै पत्ता लगाउन सकिन्छ ।
मस्तिष्कमा मात्र हैन मेरुदण्डमा पनि क्षयरोग
नेपालमा मेरुदण्डमा टिबी देखिने समस्या पनि बढी छ । मेरुदण्डमा क्षयरोग हुँदा मेरुदण्डको हड्डी, हड्डीहरूको बीचमा हुने कुरकुरे हड्डीमा संक्रमण हुन्छ । संक्रमण फैलिएर मेरुदण्डको वरपर पीप जम्ने, स्पाइनल कर्ड (सुषुम्ना नली) मा संक्रमण भएर नशा च्याप्पिने पनि हुन्छ ।
नसा च्यापियो भने हातखुट्टा लुलो हुने, दिसा-पिसाबमा समस्या हुने र प्यारालाइसिस हुने समेत हुन्छ । नसामा असर गरेको छैन भने फोक्सोको जस्तै निश्चित समय औषधि खाएपछि ठिक हुन्छ । नसामा असर गरेको अवस्था देखियो भने अप्रेसन गरेर उपचार गर्नुपर्छ ।
परीक्षण कसरी ?
सामान्यतया क्षयरोगको पहिचान गर्न खकारको परीक्षण र छातीको एक्स–रे गरिन्छ । मस्तिष्कको क्षयरोग परीक्षण गर्न भने सुषुम्ना नलीभित्र रहेको तरल पदार्थ निकालेर परीक्षण गरिन्छ। क्षयरोग ब्याक्टेरियाको पहिचान गरिन्छ ।
एमआरआई र सिटी स्क्यान गरेर मस्तिष्कमा असर कति परेको हेरिन्छ । मेरुदण्डको क्षयरोगको शङ्का लाग्यो भने एमआरआई गरिन्छ। त्यहाँबाट सानो मासु निकालेर परीक्षण गरेपछि टिबी हो कि होइन थाहा हुन्छ ।
उपचार
मस्तिष्क क्षयरोगको औषधि फोक्सोको क्षयरोग भन्दा अलि लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ । यो समस्या पुष्टि भएपछि अवस्था अनुसार उपचार हुन्छ । पहिलो चरणमा दुई महिना क्षयरोगका चार वटा औषधि चलाइन्छ । शरीरका अन्य अंगमा फैलिएको छ भने थप ४ महिना औषधि चलाइन्छ । मस्तिष्क क्षयरोगमा ९ देखि १२ महिना औषधि चलाइन्छ भने केही विशेष अवस्थामा १८ महिनादेखि २४ महिनासम्म पनि औषधि चलाउनु पर्ने हुन्छ ।
यदि सङ्क्रमणले झिल्ली मात्र सुन्निएको छ भने औषधिले ठिक हुन्छ । सो औषधि दुई वर्षसम्म दिने गरिन्छ । अर्को भनेको मेनिन्जाइटिस भएमा क्षयरोगको औषधि र स्टोराइड औषधि चलाइन्छ । यसले मस्तिष्क सुन्निएको कम गर्छ ।
ट्युबरकुलोमा सानो छ भने क्षयरोगको औषधिले पीप सुकाएर निको हुन्छ । पानी जमेर छारेरोग भइरहेको छ भने छारे रोगको औषधि खानुपर्ने हुन्छ । तर, आकार र मात्रा ठूलो भएमा शल्यक्रिया गर्नुपर्ने हुन्छ।
नेपाल सरकारले क्षयरोगको परीक्षण र क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरू निःशुल्क वितरण गराउँदै आएको छ ।
निको हुने सम्भावना कति ?
समयमै पहिचान र उपचार पाउने हो भने ८० देखि ८५ प्रतिशत बिरामी पूर्णरुपमा निको हुन्छन् । केही प्रतिशतमा भने यो समस्या दोहोरिने सम्भावना हुन्छ । समयमा पहिचान र उपचार भएन भने बिरामीको ज्यानै जान सक्छ ।
समाजमा अझै पनि क्षयरोगको बारेमा विभेदपूर्ण व्यवहार रहेको छ । क्षयरोग लागेका व्यक्तिको नजिक जान हुँदैन, छुन हुँदैन, छुँदा क्षयरोग सर्छ भनेर उनीहरूबाट टाढा बस्ने नकारात्मक टिप्पणी गर्ने गरिन्छ । यस्तो व्यवहारले बिरामीको आत्मबल कमजोर हुन सक्छ । त्यसैले यस्तो विभेदपूर्ण व्यवहार गर्नुहुँदैन ।
बच्ने उपाय
-पोषणयुक्त खाना नियमित रुपमा खाने । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने खानेकुराहरू खाने।
-दैनिक रुपमा शारीरिक व्यायाम गर्ने जसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।
-बिरामीले जथाभावी थुक, खकार नफाल्ने । निश्चित ठाउँमा फालिएको थुक खकारलाई राम्ररी बिसर्जन गर्ने।
-बिरामीले नियमित रुपमा औषधी खानुको साथै हावा आवत–जावत हुने कोठाको प्रयोग गर्ने ।
-धूम्रपान मद्यपानको सेवन नगर्ने ।
-बच्चालाई बीसीजीको खोप लगाउने ।
– संक्रमित अवस्थामा रहेका क्षयरोगका बिरामीको नजिक जाँदा मास्कको प्रयोग गर्ने ।
प्रतिक्रिया 4