
१२ चैत, भुवनेश्वर । भारतको ओडिशा राज्यको राजधानी भुवनेश्वरमा आयोजित कलिंगा लिटरेरी फेस्टिभलमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, इन्डोनेशियाका लेखक कलाकार जुटे, जहाँ अन्तिम दिन नेपाली साहित्यको अन्तर्राष्ट्रिय पदचापबारे विमर्श चल्यो ।
शुक्रबारदेखि आइतबारसम्म तीन दिन चलेको फेस्टिभलमा भारतका लेखकहरु शशि थरुर, देवदत्त पटनायक, ममता कालिया, गगन गिल, अभय के, कन्चना प्रियकन्ठ, यतिश कुमार, प्रताप सोमवंशी लगायत डेढ सय लेखक, कलाकार सहभागी रहे । अन्तिम सत्रमा चर्चित भारतीय ब्यान्ड इन्डियन ओशनले दुई घन्टा दिएको सांगीतिक प्रस्तुतिका कारण फेस्टिभल स्मरणीय बन्यो ।
नेपालका लेखकहरु बुद्धिसागर, रोहिणी राणा, रन्जना निरौला, सुमन वर्षा, पवन थापा ‘जोय’ र बसन्त बस्नेत ‘साउथ एसियन लिटरेचर :रिच नेपाली ट्रेडिसन’ नामक सत्रमा अपराह्न सहभागी थिए । लेखक बुद्धिसागरले आफ्ना तीन अलग उपन्यास लेख्दा पाएको नेपाली समाजको बुझाईबारे आफ्ना अनुभव साझा गरेका थिए । उनले आफ्नो पुस्तक ‘कर्नाली ब्लुज’को अंग्रेजी अनुवादसँगै एसिया र त्यसभन्दा बाहिर रहेका अन्तर्राष्ट्रिय पाठकहरुको रोचक पठन अनुभव सुनिरहेको बताए ।
‘जसरी चिनियाँ साहित्य र भारतीय साहित्य अनुवादकै कारण विश्व साहित्यमा दबदबा बन्न गएको छ, त्यसरी हाम्रो साहित्यको प्रभाव भने उति ठूलो देखिँदैन,’ बुद्धिसागरले भने, ‘हाम्रो नेपाली साहित्यमा निकै राम्रा किताबहरु लेखिइरहेका छन् । तिनलाई अब अनुवाद नगरी सुख छैन । नत्र हामी पुछारमै अड्किन्छौं ।’
बुद्धिसागरले सत्रमा मोडरेटर रन्जना निरौलासँग संवाद गर्दै डायमन शमशेरको सेतो बाघदेखि पारिजातको शिरीषको फूलसम्मको दृष्टान्त दिए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायत सीमित लेखकले अंग्रेजी पहुँचका कारण बाहिरी पाठक बनाए पनि बीचमा त्यो क्रम सुस्त रहेको बताए । उनले अहिले सम्भावना वृद्धि भएको भन्दै आउने दिनहरुमा नेपाली साहित्यका किताबहरु अन्यत्र रुचाइने आशा व्यक्त गरे ।
‘द नेपाल कुकबुक’ र ‘द राणा कुक बुक’ पुस्तककी लेखिक रोहिणी राणाले नेपालमा लेखकहरुबीच संवाद हुनु स्वभाविक रहे पनि भारतको महत्वपूर्ण प्लाटफर्ममा नेपाली साहित्य र समाजबारे बहस गर्न पाउनु रोचक अनुभव रहेको बताइन् । उनले प्रतिभासँगै अवसर सिर्जना हुन सके मात्रै लेखकहरुलाई आफ्नो सिर्जना अन्यत्रका समुदायका पाठकसँग पुर्याउन सहज हुने भन्दै कलिंगा लिटरेरी फेस्टिभलजस्ता मन्च अरु पनि खडा हुनुपर्ने बताइन् ।
‘साहित्यका किताबहरु त छँदैछन्, साथै मैले जस्तो खाना परिकारजस्ता विषयमा लेख्नेहरुलाई पनि यस्तो मन्चमा बोलाइनु खुसीको कुरा छ,’ राणाले भनिन्, ‘आम मानिसहरुको रुचि बदलिँदै छ, उनीहरुलाई नेपालप्रति रुचि पनि बढ्दै गएको देखिन्छ, जसलाई पाककला लगायत अरु जीवनशैलीहरुबाट अझै रुचि जगाउन सकिन्छ । बाह्य मुलुकहरुमा नेपाल यस्तै विभिन्न विषयका कारण चिनिँदै जाने हो ।’
राणाले खानाको रेसिपी निर्माण, त्यसलाई तीनचारपल्ट पकाउने चरण, अनि फोटोग्राफीदेखि प्रकाशनसम्म भोग्नुपर्ने थुप्रै उतारचढावबारे सुनाइन् । अचेल अनलाइनबाट खाना अर्डर गरी खाने चलनले पाककलाको पुरानो स्वादलाई फरक पर्न सक्ने चुनौतीबारे पनि संकेत गरिन् । साथै परिवारको सहयोग बेगर महिलाहरुलाई लेखकका रुपमा अगाडि आउन कठिन हुने भन्दै परिवारहरु सोचाईमा उदार बन्न पनि आग्रह गरिन् । राणाको पाककलासम्बन्धी दुवै किताब पेन्गुइन र्यान्डम हाउसबाट प्रकाशित छन् ।
लेखक सुमन वर्षाले नेपाली लेखनमा महिलाहरुको लेखन अझै छायामा रहेकाले अनुवादमा पनि त्यसको प्रभाव परेको बताइन् । उनले प्राज्ञिक क्षेत्रमा समेत नेपाली लेखनहरुको बारेमा छलफल बढ्दै गएको भन्दै त्यसले निरन्तरता पाउनुपर्ने मत राखिन् ।
लेखक तथा अनुवादक पवन थापा जोयले अरु भाषाका किताब नेपालीमा अनुवाद क्रम बढे पनि नेपाली किताबलाई अन्य भाषामा पु¥याउन जरुरी रहेको बताए । सन्त कबिरकी जीवनसंगिनी लोईको बारेमा हिन्दुस्तान दैनिकका पत्रकार प्रताप सोमवंशीले लेखेको पुस्तक ‘लोई’ नेपाली अनुवाद गरेका थापाले अंग्रेजीबाहेकका भाषामा पनि नेपाली पुस्तक लैजानुपर्ने मत राखे ।
सत्रकी सहजकर्ता लेखक निरौलाले बदलिँदो डिजिटल माहोलमा कसरी लेखकहरुले आफूलाई समयअनुसार अद्यावधिक गर्दै जाने भनेर जिज्ञासाहरु राखेकी थिइन् । उनले साहित्यमात्रै नभई अरु किताबहरुमा पनि विदेशी पाठकको पहुँच बढाउनुपर्ने राय व्यक्त गरिन् ।
नेपाली लेखकहरुले अरु सत्रहरुमा पनि भाग लिएका छन् । लेखक बुद्धिसागरलाई कलिंगा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरियो ।
फेस्टिभल डाइरेक्टर रश्मीरन्जन परिदाले नेपाली भाषा भारतीय संविधानको समेत अनुसूचीमा रहेको भन्दै नेपाली सत्र सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गरे । उनले ओडिशा र काठमाडौं दुवै ठाउँमा कलिंगा लिटरेरी फेस्टिभल जारी रहेको भन्दै यसलाई दक्षिण एसियाभरि फैलाउने विश्वास दिलाए ।
फेस्टिभलमा भारतको प्रसिद्ध सांगीतिक ब्यान्ड इन्डियन ओशनले भव्य प्रस्तुति दिएको छ । फोक–रक तथा ज्याज संगीतको प्रभाव रहेको ब्यान्डका लिड सिंगर राहुल राम, हिमांशु जोशी, अमित किलम, निखिल राव, तुहिन चक्रवर्तीले फेस्टिभलको कन्सर्टमा आफ्ना चर्चित गीतहरु गाए ।
मसान फिल्ममा आफूले गाएका दुई गीत तु किसी रेलसी गुजरती है, अनि ‘मन कस्तुरी रे’ लगायत आठ गीतहरु गाउँदा देशीविदेशी दर्शकहरुले उनीहरुलाई पूरा झुमेर साथ दिएका थिए । इन्डियन ओशन ब्यान्डले आफ्नो स्थापनाको ३५ वर्ष मनाइरहेको भन्दै आफ्ना दर्शकहरुलाई कन्सर्टबाटै धन्यवाद दिएको छ ।
कार्यक्रमको दोस्रो दिनमा भारतका कलाकार मन्थन सोमवंशीले आफ्ना ‘अमोर’ ‘रेन्कोन्टर’ ‘रुज’ जस्ता अंग्रेजी गीतहरु सुनाएका थिए । इन्डानेशियाका कलाकारले तीन दिन लगातार आफ्ना सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा भुवनेश्वरस्थित उडिशा राज्यका गर्भनर हरिबाबु खम्बापति, विभिन्न मन्त्रीहरु, पद्मविभूषण प्राप्त कलाकारहरुको सहभागिता थियो । सेप्टेम्बरमा काठमाडौंमा अर्को संस्करण आयोजना गरिने कलिंगा फेस्टिभलका डाइरेक्टर रश्मिरन्जन परिदाले जानकारी दिए ।
प्रतिक्रिया 4