
१२ चैत, पोखरा । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विषयले गण्डकी प्रदेश सभालाई पनि तरंगित बनाएको छ । कुलमानलाई हटाएको विषयमा कालो चस्मा लगाएर संसद्को रोस्ट्रममा उभिएर माओवादी सांसदले विरोध गर्दा बैठकमै नोकझोक हुन पुगेको छ ।
माओवादी सांसद हरि भण्डारी कुलमानलाई हटाउने सरकारको निर्णयको विरोधमा कालो चस्मा लगाएर रोस्ट्रममा मात्रै उभिएनन्, विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बोल्ने क्रममा सरकारलाई अनेक प्रश्नहरु तेर्स्याए । विधेयकको सैद्धान्तिक विषयमा भएको छलफलकै क्रममा भण्डारीले सरकारले बिचौलिया र स्वार्थ समूहको इशारामा चलेको आरोपसमेत लगाए ।
भण्डारीले आफ्नो भनाइ राखेको करिब घन्टापछि एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले नियमापत्ति गर्दै बोल्दै नबोलेको शब्द संसद्को रेकर्डबाट हटाउन माग गरेको दृश्य रोचक थियो । भण्डारीभन्दा अगाडि माओवादीकै सांसद तथा पूर्व भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीले पनि शून्य समयमा बोल्दै कुलमानलाई हटाइएकोप्रति आपत्ति जनाएका थिए ।
शून्य समयमा बोल्ने क्रम सकिएसँगै गण्डकी प्रदेशमा विद्युत विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । त्यही क्रममा माओवादी सांसद भण्डारी पनि विधेयकमाथि बोल्ने समय लिएर रोस्ट्रममा उभिएका थिए । सांसद भण्डारीले यहाँ सिद्धान्तमा खास समस्या नभए पनि सरकारको सोच र व्यवहारमा समस्या रहेको भन्दै कुलमान हटाइएको विषयमा प्रवेश गरेका थिए ।
‘आज हामी संसद्मा विद्युत विकासको विषयमा छलफल गरिरहँदा सरकारको व्यवहार र सोचमाथि मैले प्रश्न गरिनँ भने मलाई जनताले प्रश्न गर्नेछन् । जनताले मलाई सोध्नेछन्, उज्यालो नेपाल बनाउने कुलमान घिसिङमाथि संघदेखि प्रदेशसम्म दुईतिहाइ सरकारले प्रतिगमन गर्दा किन बोलेनौं, सरकारमाथि किन प्रश्न गरेनौं ?,’ भण्डारीले भने ।
उनले टुकी बालेर बसेका नेपालीलाई बिजुलीको पहुँच दिनु, मैनबत्ति बालेर उज्यालो भविष्य खोजिरहेकाहरुलाई बिजुली जोडिदिएर सहज बनाइदिनु, घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा ल्याइदिनु कुलमान घिसिङको के अपराध थियो भन्दै प्रश्न गरेका थिए ।
२०७४ सालमा गण्डकी प्रदेशको पहिलो मन्त्रिपरिषद्को बैठकले २ वर्षभित्र उज्यालो प्रदेश घोषणा गर्ने निर्णय स्मरण गर्दै उनले अहिले ९९ प्रतिशत घरधुरीमा बिजुली पुगेको बताए । त्यो कुलमानकै कारण जनताको घरमा बत्ति बलिरहेको उनको भनाइ थियो ।
केन्द्रदेखि प्रदेशसम्म अहिले एमाले-कांग्रेससहितको दुईतिहाइको सरकारले जनताको भावनामाथि खेलवाड गरेको आरोप भण्डारीको थियो । ‘बिचौलिया र माफियाको इसारामा कतै फेरि यो सरकारले जनतालाई मैनबत्ति र टुकीकै सहारा लिनुपर्ने अवस्थातिर फर्काउन त चाहिरहेको छैन भन्ने प्रश्न उब्जिएको छ,’ उनको प्रश्न थियो । बिचौलियाहरुलाई जनता बिजुलीको उज्यालोमा बसिरहेको मन नपरेको उनको भनाइ थियो ।
‘आफू बर्खास्त पर्ने बेलासम्म पनि चेपाङ बस्तीमा बिजुली बालेर खुसीको दियो जगाइरहेका कुलमान मन परेको थिएन,’ भण्डारीको आरोप थियो, ‘प्रधानमन्त्रीलाई आफ्नो आफन्तलाई बाहिर राखेर कुलमान प्राधिकरणको कुर्सीमा बसिरहेको मन परेको थिएन ।’ भण्डारीले कुलमानलाई हटाएको विषयमा आफ्ना भनाइ राखिरहँदा सभामुख कृष्ण धितालले विधेयकमाथि केन्द्रित हुन रुलिङ गरेपछि उनी विधेयकका व्यवस्थामा प्रवेश गरेका थिए ।
भण्डारीभन्दा अगाडि बोलेका माओवादी सांसद जुग्जालीले कुलमानलाई हटाएर सरकारले बहादुरीपूर्ण काम गरेको भन्दै व्यंग्य गरेका थिए । १८ घन्टासम्मको लोडसेडिङ अन्त्य गरेर कुशल नेतृत्व गर्दै ऊर्जाको क्षेत्रमा नयाँ आशाको दियो बालेको कुलमान घिसिङलाई हटाउँदै निर्णयका पछाडि बिचौलियाको इशारा हुनसक्ने उनको आशंका थियो । महिनापछाडि घर जान लागेका कार्यकारी निर्देशकलाई हटाइएकोप्रति उनले आपत्ति प्रकट गरे ।
विद्युत विकाससँगै प्रदेश सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा बनेको विधेयक संसद्मा छलफल गरेर पारित गर्ने कार्यसूचीसमेत थियो । त्यही कार्यसूचीअनुसार सभामुख अगाडि बढे । करिब १ घन्टापछि एमाले प्रमुख सचेतक गोविन्द नेपालीले टेबुल ठोकेर हात उठाउँदै समय मागेपछि सभामुखले समय दिए ।
प्रमुख सचेतक नेपालीले भण्डारीको भनाइमाथि नियमापत्ति मात्रै गरेनन्, उनले संसद्को रेकर्डबाटै हटाउने मागसमेत गर्छन् । ‘माननीय हरि भण्डारीले बोल्ने क्रममा जुन शब्द प्रयोग गर्नुभएको छ, त्यसमा हाम्रो प्रदेश सभा नियमावली २०८० को नियम २० को ‘ख’, जसले सदनमा सदस्यहरुलाई बोल्दा केके नियम पालना गर्नुपर्छ भनेर लेखिएको छ । अर्को विषय प्रदेश सभा नियमावली २०८० को नियम २२ मा जुन विषयमा छलफल भइरहेको छ, त्योभन्दा बाहिर गएर बोल्न मिल्दैन । त्यसकारण दुवै नियमहरु माननीय सदस्यबाट उल्लंघन भएको छ,’ एमाले प्रमुख सचेतक नेपालीले भने, ‘त्यसैले प्रदेश सभा नियमावली ८० को नियम २५ को १ बमोजिम नियमापत्ति गराउन चाहन्छु ।’
नेपाली अगाडि बढ्दै ‘प्रधानमन्त्रीको सालो’ भन्ने शब्द घोर आपत्तिजनक भएको नेपालीले बताए । निर्वाचनमा प्रचण्डको सामु कुलमान घिसिङको फोटो टाँस्दै हिँडेको भन्दै नेपालीले कुलमान माओवादीको नेता हुन् भन्ने प्रश्नसमेत गरे । सालो भन्ने पुष्टि गर्न चुनौती दिँदै संसद्को रेकर्डबाटै हटाउन उनले माग गरे । जबकि, सांसद भण्डारीले प्रधानमन्त्रीको सालो भन्ने शब्द नै प्रयोग गरेका थिएनन् ।
‘प्रधानमन्त्रीलाई आफ्नो आफन्तलाई बाहिर राखेर कुलमान प्राधिकरणको कुर्सीमा बसिरहेको मन परेको थिएन,’ भण्डारीले यो वाक्य प्रयोग गरेका थिए ।
सभामुखले भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर केसीलाई प्रदेश सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार सम्बन्धी विधेयकमाथि संसद्मा उठेका प्रश्नहरुको जवाफ दिन समय दिए। त्यसलगत्तै फेरि माओवादी सांसद भण्डारीले उठेर समय मागे अनि एमाले प्रमुख सचेतक नेपालीले उठाएको प्रश्नको जवाफ दिन खोजे ।
सभामुख धितालले संसद्मा दोहोरी गर्ने होइन नि भन्दै भण्डारीलाई समय दिए र भण्डारीले प्रदेश सभा नियमावली २०८० को ३० स्पष्टीकरण दिने व्यवस्था गरिएको भन्दै सालो भन्ने शब्द प्रयोग नगरेको बताए । ‘सालो भन्ने शब्द प्रयोग नै गरिएको छैन, कसरी यो प्रश्न उठ्यो ? म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु,’ भण्डारीले भने । सभामुख धितालले रेकर्ड हेरेर कार्यव्यवस्थामा छलफल गर्ने उल्लेख गरेर कार्यसूचीअनुसार अगाडि बढेका थिए ।
प्रतिक्रिया 4