
काठमाडौं । दक्षिण भारतीय मलयालम सुपरस्टार मोहनलाल र निर्देशक पृथ्वीराज सुकुमारनको बहुप्रतीक्षित फिल्म ‘एल २ : एम्पुरन’ बिहीबार नेपालमा पनि रिलिज हुने भएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले मंगलबार विज्ञप्ति जारी गर्दै प्रदर्शन हुने जनाएको छ । यो फिल्म सन् २०१९ को ब्लकबस्टर फिल्म ‘लुसिफर’को दोस्रो श्रृंखला हो ।
मोहनलालको पछिल्लो सामाजिक संजाल पोस्टअनुसार फिल्मले एड्भान्स टिकट बिक्रीबाट मात्रै विश्वब्यापी ५८ करोड भारु कमाएको छ । ट्रेड विश्लेषकले यो फिल्म सबैभन्दा छिटो १०० करोड कमाउने पहिलो मलायलम फिल्म हुनसक्ने अनुमान गरेका छन् ।
यो फिल्मलाई सन् २०२५ कै ठूलो मलायलम फिल्मको रुपमा विश्लेषकले बताइरहेका छन् । व्यापार विश्लेषक रमेश बालाले एम्पुरानको बलियो चर्चालाई स्वीकार गर्दै भने, ‘केरलामा, फिल्म पहिले नै शीर्ष स्थानमा छ र यसको सुरुवाती दिनमा १५ करोड भारु हुने अपेक्षा छ । पहिलो दिन एम्पुरानको विश्वव्यापी कलेक्सन लगभग ४०-५० करोड रुपैयाँ हुनेछ । यो मलयालम फिल्मको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो ।’
मोहनलाल आफ्नो करियरको कठिन मोडबाट गुज्रिरहेका छन् किनकि उनका पछिल्ला केही फिल्म विशेष गरी ‘मलैकोट्टई वालिबन’ र उनको निर्देशन डेब्यू फिल्म ’बरोज’ले बक्सअफिसमा राम्रो प्रदर्शन गर्न सकेनन् । केरला र अन्य राज्यहरूमा (मलयालम संस्करण) एम्पुरनको अग्रिम बुकिङ असाधारण छ ।
विश्लेषक पिल्लईले फिल्म अन्य देशमा अग्रिम टिकट बिक्री राम्रोसँग अगाडि बढिरहेको बताए । ‘आयरल्याण्डमा थोरै मलायाली जनसंख्या छ र त्यहाँ पनि फिल्म राम्रोसँग अगाडि बढिरहेको छ । अमेरिकामा यो पहिले नै ४१ मिलियन नाघेको छ र बढ्दै गइरहेको छ’ उनले भने ।
‘एल टु : एम्पुरन’ एक्सन थ्रिलर हो जुन ‘लुसिफर’को सिक्वेल हो, जसबाट पृथ्वीराज सुकुमारनले निर्देशन डेब्यु गरेका थिए । फिल्ममा मोहनलालबाहेक पृथ्वीराज सुकुमारन, मञ्जु वारियर, टोभिनो थोमस, इन्द्रजित सुकुमारन, अभिमन्यु सिंह, जेरोम फ्लिन र सुरज भेन्जारामुडु मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया 4