
१३ चैत, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारमा रहेको ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले रिले अनशन सुरु गरेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुनिश्चितताको माग गर्दै आजबाट नेविसंघले रिले अनशन सुरु गरेको हो ।
त्रिभुवन विश्वविद्यालयले गत चैत ५ गतेका लागि स्ववियु निर्वाचन तोकिएकोमा सबै तयारी पूरा हुँदासमेत विभिन्न बहानामा निर्वाचन रोकिएको थियो ।
नेविसंघले निर्वाचन जित्ने भएसँगै विभिन्न बहानामा निर्वाचन रोकिएको र त्यसको सुनिश्चितताको माग गर्दै रिले अनसन सुरु गरिएको नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पसका ईकाइ अध्यक्ष महेशमणि पौडेलले जानकारी दिए ।
उनका अनुसार आज नेविसंघबाट स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले रिले अनसनमा बसेका छन् । ‘कलेजमा हाम्रो संगठनले जित्ने देखिएपछि विभिन्न बहानामा निर्वाचन नगराउने प्रपञ्च रचिएको छ । हामी विद्यार्थीको हक अधिकार सुनिश्चितताका लागि निर्वाचन चाहान्छौं’, उनले भने ।
स्ववियु निर्वाचन सुनिश्चित गर्न, कार्यतालिका सार्वजनिक गर्नेसहित स्ववियु निर्वाचन निर्देशिका कार्यान्वयन गर्दै विद्यार्थीको मताधिकार सुनिश्चित गर्न समेत माग गरिएको छ ।
यी मागहरु पूरा गरी छिटोभन्दा छिटो स्ववियु निर्वाचन सुनिश्चित नभएमा आफूहरु आमरण अनसन बस्न समेत बाध्य हुने स्ववियु सभापतिका उम्मेदवार सुल्तान मियाँले बताए । ‘हामी स्ववियु निर्वाचन चाहान्छौं । यदी हाम्रो मागलाई बेवास्ता गरियो, हाम्रो रिले अनसनलाई कमजोर सोचेर निर्वाचन नगर्ने प्रपञ्च रचियो भने हामी भोलिका दिनमा आमरण अनसन समेत बस्ने चेतावनी दिन्छौं’, मियाँले भने ।
लामो बिरासत बोकेको ग्रामीण आदर्श बहुमुख क्याम्पसमा गत २०६५ सालदेखि स्ववियु निर्वाचन हुनसकेको छैन । यस वर्ष निर्वाचनको सम्पूर्ण तयारी हुँदा समेत क्याम्पस प्रशासनले नै निर्वाचन गराउन नचाहेको नेविसंघको आरोप रहेको छ ।
प्रतिक्रिया 4