+
+
Shares

बानेश्वरमा संसद् बैठक राखेर बालुवाटारमा सत्तापक्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १२:४४

१३ चैत, काठमाडौं । बानेश्वरमा संसद् बैठक राखेर सत्तारुढ दलहरू भने प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन् ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक आधा घण्टा ढिलो सुरु भएको थियो । त्यसबेला सत्तापक्षका शीर्ष नेताहरू संसद् भवनभित्र थिएनन् । उनीहरू बालुवाटारमा सत्तापक्षको बैठकमा भेला भएका थिए ।

शीर्ष नेताहरू मात्रै नभएर संसद् बैठक सञ्चालनका लागि सहजीकरण गर्ने जिम्मेवारीमा रहेका प्रमुख सचेतकहरू समेत बालुवाटारमै थिए ।

यता संसद् भवनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा सरकारको जवाफ माग्दै विपक्षीले अवरोध गरे ।

उता बालुवाटारमा सत्तापक्षको बैठक सुरु भयो । यता सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर अर्को बैठकका लागि वातावरण बनाउन लागिपरे । तर, सत्तापक्षकै प्रमुख सचेतक बालुवाटार छन् ।

बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका शीर्ष नेताहरू उपस्थित छन् ।

यता बानेश्वरमा विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेका छन् । सभामुख देवराज घिमिरेले जवाफका लागि प्रधानमन्त्रीलाई सूचना दिनुपर्ने भनेर विपक्षीलाई सम्झाउन खोजेका थिए । त्यतिबेला संसद् भवनमा प्रधानमन्त्री भएको भए जवाफ दिन्छु भन्न सक्थे वा वातावरण सहज बनाउन प्रधानमन्त्रीको भूमिका हुन सक्थ्यो । तर, प्रधानमन्त्री संसद् भवनमा नभएर बालुवाटारमा सत्तापक्षको बैठकमा थिए ।

बालुवाटारमा जारी सत्तापक्षको बैठकमा अन्य सत्तापक्षका शीर्ष नेताहरू पनि उपस्थित छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू सहभागी छन् ।

यता बानेश्वरमा संसद् बैठक सहज रूपमा चलाउन प्रमुख सचेतकको भूमिका खोजिरहेका छन् । तर, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे यता बालुवाटारमा सत्तापक्षको बैठकमा छन् ।

आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक सुचारु गर्नका लागि सभामुख घिमिरेले दलहरूसँग संवाद गरिरहेका छन् । तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?