१३ चैत, देउखुरी । नेपाल क्रिक्रेट संघ (क्यान)का उपाध्यक्ष रोशन कुमार सिंहले देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदानलाई क्यानले अपनत्व गर्न पहिलेदेखि नै तयार अवस्थामा रहेको बताएका छन् ।
मंगलबार लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिक्रेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीचको खेलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सबैको पहलमा यो मैदानलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।
विगतका वर्षदेखि यो मैदानलाई नेपाल क्रिक्रेट संघ (क्यान)ले आफ्नो मातहतमा ल्याउनको लागि यहाँका सरोकारवालहरूसँग छलफलको प्रयास गर्दा कुनै चासो नदेखाएको उनले गुनासो गरेका थिए ।
‘म अघिल्लो कार्यकालमा (क्यान)को कोषाध्यक्ष हुनेबेला देखि यो मैदानलाई नेपाल क्रिक्रेट संघको मातहतमा ल्याउनको लागि पहल थालेको हुँ तर, अहिलेसम्म यहाँका स्थानिय सरकार, लमही नगर विकास समितिले कुनै चासो दिएन’ उनले भने, ‘सायद त्यती बेला देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट मैदान नेपाल क्रिक्रेट संघको मातहतमा आएको भए अहिलेसम्म यो मैदानमा आमुल परिवर्तन हुने थियो।’
उनले अगाडि थपे, ‘अहिले दाङ देउखुरी क्रिक्रेटको हब बनिसेको छ । देउखुरी क्षेत्रमा के भन्दा अन्तराष्ट्रिय क्रिक्रेट मैदान छ भनेर चिन्छन् । क्रिक्रेटले दाङ देउखुरीलाई चिनाएको छ।’
उनले नेपालभर पहिलो सुविधा सम्पन्न क्रिक्रेट मैदान देउखुरीमा रहेको उल्लेख गर्दै स्थानीय तहको सहयोगमा निर्माण भएको पूर्वपश्चिम राजमार्ग हाइवेको छेवैमा विभिन्न भौतिक संरचना सहितको सुविधा सम्पन्न क्रिक्रेट मैदान लमहीमा रहेको बताए ।
क्यानले विगत वर्षदेखि नै यस मैदानलाई माग गरिरहेको तर माग गर्दागर्दै अहिलेसम्म नपाउनु भनेको आफैमा एउटा दुखको विषय भएको बताए । ‘क्यान मातहतमा जाने बित्तिकै मैदानमा दैनिक क्युरेटरको व्यवस्था हुने थियो, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिक्रेट क्याम्पहरु राखिने थियो’ उनले भने, ‘नियमित रुपमा क्रिक्रेट प्रतियोगिताहरु संचालन हुने थिए । जसले गर्दा यस देउखुरी आर्थिक रुपले पनि चलायमान हुने थियो।’
उनका अनुसार मैदान क्यानले सञ्चालन गरेमा वार्षिक चारदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुन सक्छ। ‘हामीले वर्षमा पाँचवटा क्याम्प राख्यौं भने मात्र पनि यति आम्दानी हुन सक्छ,’ उनले भने।
क्यानले मैदान सञ्चालन गर्न खोज्दा पनि स्थानीय निकायबाट कुनै पहल नदेखिएको बताउँदै उनले देउखुरीलाई क्रिकेटमय बनाउन क्यान तयार रहेपनि मैदान किन नदिइएको हो भन्नेबारे प्रश्न सम्बन्धित निकायलाई सोध्न जरुरी रहेको औंल्याए ।
‘मैदानले धेरै अवसर सिर्जना गर्छ, स्थानीय युवालाई क्रिकेटप्रति आकर्षित गर्छ, र व्यवसायलाई पनि बढावा दिन्छ’ उनले थपे।
उनले देउखुरी क्रिकेट मैदानलाई उच्च स्तरमा पुर्याउन क्यानले तयारी गरिरहेको उल्लेख गर्दै सबै सरोकारवालालाई मैदान क्यानलाई दिनका लागि पहल गर्न आग्रह गरे।
प्रतिक्रिया 4