१३ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका सर्वाधिक गोलकर्ता तथा च्याम्पियन नाइजेरियन फरवार्ड इमोह इजेकेलले तेस्रो संस्करण पनि ललितपुर सिटी एफसीबाटै खेल्ने भएका छन् ।
इमोहसँगै दोस्रो संस्करण खेलेका पापा इबोउ केबे पनि तेस्रो संस्करण ललितपरबाट खेल्ने छन् । दुवै खेलाडी चैत १६ देखि सुरु हुने एनएसएल खेल्न काठमाडौं आइपुगेका छन् ।
ललितपुरले इमोह इजेकेललाई छैटौं खेलाडीको रुपमा टिसममा अनुबन्ध गरेको हो । एनएसएलको तेस्रो संस्करणमा ६ विदेशी खेलाडी टिममा राख्न पाउने प्रावधान छ । इमोहले गत सिजन एनएसएलमा सर्वाधिक ६ गोल गरेका थिए । जहाँ फाइनलमा उनले धनगढी एफसी विरुद्ध दुई गोल गरेका थिए ।
ललितपुरबाट एनएसएल जितेपछि उनले रोमानिय क्लब युटीए अरदबाट खेलेका थिए ।
३१ वर्षीय इमोह इजेकेले नाइजेरियाको राष्ट्रिय टिमबाट १ खेल खेलेका छन् । उनले सन् २०१४ मा मेक्सिकोविरुद्ध खेलेका थिए । यस्तै उनले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा नाइजेरिया यू-२३ टिमबाट कांस्य पदक जितेका थिए ।
त्यसपछि भने उनले राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएनन् । नाइजेरियाको ३६ लायन्सबाट युथ करियर सुरु गरेका इमोहको फुटबल करिअरको धेरै समय युरोपमै बित्यो । उनले बेल्जियमको महारथी एन्डरलेक्ट र स्ट्यानडर्ड लिगबाट खेले ।
स्पेनको लस पालमस, टर्कीको कोन्यासपोजरबाट पनि खेले । पछिल्लो समय उनले यूएईका क्लबहरु अल-जजिरा र अल घार्फाबाट पनि खेले । इमोहले २०१५-१६ को सिजन एन्डरलेक्टमा लोनमा बिताउँदा युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग समेत खेलेका थिए ।
त्यसबेला समूह चरणमा इंग्लिस क्लब टोटनहम विरुद्ध खेल्दै इमोहले गोल गरेका थिए । त्यस खेलमा टोटनहम २-१ ले विजयी भएको थियो । उनले सन् २०१२ देखि व्यावसायिक फुटबल खेल्न थालेका हुन् ।
उनले बेल्जियन जुपिलर प्रो लिग, यूएई प्रो लिग, युरोपा लिग, ला लिगा, सुपर लिग, युरोपा लिग क्वालिफाइ जस्ता विभिन्न देशमा रहेर १५ भन्दा बढी लिग खेलिसकेका छन् ।
ललितपुरले यसअघि विदेशी कोटामा अनुबन्ध गरेका भुटानका कप्तान चेन्चो ग्याल्सेन घाइते भएकोले उनको स्थानमा अघिल्लो पापा केबेलाई अनुबन्ध गरेको क्लबले जनाएको छ । भुटानी टिमसँगै कतार जाँदा उनको मिनिस्कस टियर भएकोले उनी हाल उपचारमा रहेको ललितपुर सिटीले जनाएको छ ।
भुटानी कप्तान चेन्जोले खेल्न नसक्ने भएपछि ललितपुरले अन्तिम समयमा केबेलाई पनि अनुबन्ध गरेको हो । यी दुई बाहेक ललितपुरले दोस्रो सिजन उपाधि जित्दाका उत्कृष्ट गोलकिपर जेफ्री बाल्टुसलाई अनुबन्ध गरिसकेको छ । उनी नेपाल आइसकेका छन् ।
यस्तै हाइटीका विंगर/फरवार्ड केरभेन्स बेलफोर्ट, प्यालेस्टिनी मिडफिल्डर जोनाथान कान्टिलाना र सेनेगलका डिफेण्डर पापे अब्दुलाह देकितेलाई पनि ललितपुरले अनुबन्ध गरेको छ ।
ललितपुरले तेस्रो सिजनका लागि आफ्नो टिम लगभग पूरा गरेको छ । अब ट्यालेन्ट हन्टबाट खेलाडी राख्न बाँकी छ ।
नेपाली राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङलाई नै मार्की प्लेअरमा निरन्तरता दिएको ललितपुरले राष्ट्रिय टोलीका अर्का डिफेण्डर डिफेण्डर सनिश श्रेष्ठलाई रिटेन गरेको थियो । यस्तै मिडफिल्डर आदित्य शाक्यलाई पनि ललितपुरले रिटेन गरेको थियो ।
यस पटक ललितपुरको मुख्य प्रशिक्षकमा इंग्ल्याण्डका साइमन ग्रेसन छन् । यस बाहेक ललितपुर टिममा राष्ट्रिय टिमकै मिडफिल्डर मणि कुमार लामा पनि छन् ।
टिमका अन्य खेलाडीहरुमा सन्तोष खत्री, समित श्रेष्ठ, डिफेण्डर योगेश गुरुङ र अभिषेक वाइवा, मिडफिल्डर सुदिप गुरुङ र नविन लामा छन् । यसैगरी मनोज राई, पवन शाही, दिपेश घले र अनिश क्षेत्रीलाई पनि ललितपुरले अनुबन्ध गरेको थियो ।
ललितपुर सिटीले चैत्र १६ गते पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान थाल्नेछ ।
प्रतिक्रिया 4