१३ चैत, काठमाडौं । लोकेश बमले कीर्तिमानी ब्याटिङ गर्दै अविजित ८४ रन बनाएपछि एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि रोमाञ्चक जितसहित फाइनल सम्भावना कायमै राखेको छ ।
बुधबार सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले कोशी प्रदेशलाई २ विकेटले हराएको हो । कोशीले दिएको २५५ रनको लक्ष्य एपीएफले ४४.४ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
लोकेशले आठौं नम्बरमा ब्याटिङ गर्दै ८४ रन बनाएका हुन् र यो यस पोजिसनमा सर्वाधिक व्यक्तिगत स्कोर हो । यसअघि सन् २०१७ मा पश्चिमाञ्चलबाट सौरभ खनालले ८२ रन बनाएका थिए ।
कप्तान रोहित पौडेलले ६१ रन बनाए । १६४ रनमा ८ विकेट गुमेपछि लोकेशले इर्शाद अहमदसँग मिलेर ९४ रनको साझेदारी गरेका थिए । यो पीएम कपमा नवौं विकेटका लागि भएको उच्च साझेदारी पनि हो ।
दीपक बोहराले ३६ तथा सन्दीप जोराले ३० रन बनाए ।
कोशीका फिर्दोश अन्सारी र दिपेश कँडेलले ३-३ विकेट लिए । ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुइटेलले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ५० ओभरमा अलआउट हुँदै २५४ रन बनाएको थियो । शाकिब हकले ६८ तथा कप्तान अंकित सुवेदीले ३५ रन बनाए । आइश भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए ।
एपीएफका अभिषेक गौतम र मौसम ढकालले ३-३ विकेट लिए भने रोहित पौडेलले २, इर्शाद अहमद र अमरसिंह राउटेलाले १-१ विकेट लिए ।
यस जितसँगै एपीएफको ९ खेलमा १४ अंक भएको छ र तेस्रो स्थानमा छ । दोस्रो स्थानको आर्मीको ८ खेलमा १४ अंक नै छ तर नेटरनरेटमा अगाडि छ ।
अब भोलि हुने खेलमा आर्मी पुलिससँग फराकिलो अन्तरले पराजित भएमा मात्र एपीएफको फाइनल यात्रा तय हुन सक्छ ।
प्रतिक्रिया 4