
१३ चैत, काठमाडौं । एकपछि अर्को राजनीतिक घटनाक्रमले सेयर बजार प्रभावित हुँदै आएको छ । राजावादीको सक्रियता र उनीहरूले चैत १५ गते गर्ने प्रदर्शनका कारण केही साता नै बजार प्रभावित बन्यो ।
लगातार घटेको ६ दिनपछि सोमबार केही सम्हालिएको थियो, तर मंगलबार नै ५८ अंकको गिरावट आयो भने बुधबार ३९ अंक बढ्यो । अघिल्लो दिन ठूलो अंकको गिरावट आएको बजारमा आजको वृद्धिलाई कतिपयले बेच्ने मौकाका रुपमा लिए भने कतिपयले खरिदको मौकाका रुपमा लिए ।
नेपाल विद्युत् प्राधिकरणबाट कार्यकारी प्रमुख कुलमान घिसिङ हटाइएपछि सत्ता पक्षमा देखिएको विरोधाभाष अभिव्यक्तिले पनि अघिल्लो दिन बजारलाई प्रभाव पारेको कतिपयको बुझाइ छ । उनी हटाइएपछि नेपाली कांग्रेसभित्रकै एउटा समूहले असन्तुष्टि जनाएको थियो । यहीं कारण कतिपयले सरकार नै ढल्न सक्ने अनुमान गरे ।
कुलमानलाई मन्त्रिपरिषद् बैठकले प्राधिकरणबाट हटाउने निर्णय गरेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालबाट विरोध जनाउँदै भनेका थिए ‘निर्णय गलत छ सरकार, उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन ।’
सत्ता साझेदारकै प्रमुख दलभित्र देखिएको यो असन्तुष्टिले सरकार नै संकटमा पर्ने हो कि भन्ने शंका लगानीकर्तामा देखिएको थियो । जसले मंगलबार बजार ५८ अंकले घट्न पुग्यो । त्यो विषय पनि केही मत्थर हुने संकेतपछि बुधबार नै बजारले सकारात्मक प्रतिक्रिया जनाएको छ ।
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे अहिलेको बजार विशेष कारणले नभई अफवाह र नकारात्मक सोचका कारण झरेको बताउँछन् ।
‘कुलमानप्रति केही उद्योगी व्यवसायी नै असन्तुष्टि थिए, उनको बहिर्गमनले व्यवसायीको मनोबल बरु थप बढाउला, जुन बजारलाई असर पार्ने विषय नै होइन’ उनले भने ‘तर कांग्रेसका केही नेताले असन्तुष्टि जनाए, त्यसलाई धेरैले सरकार नै ढल्नेजस्तो नकारात्मक बुझे ।’
कतिपयले त बजार घटाउनकै लागि अनेक होहल्ला चलाउने गरेको उनको भनाइ छ । बजार घटाएर सस्तो मूल्यमा खरिद गर्न खोजेकाले अफवाह फैलाउने गरेका छन् । ‘विना कारण झरेको बजार लामो समय जाँदैन, जसरी घट्यो, त्यसैगरी उकालो लाग्छ’ उनले भने ।
बजार हालसम्म घटाउनका लागि चलाइएका अफवाहको समेत औचित्य सकिँदै गएको उनले बताए । ‘मेरो विचारमा बजारमा यो नै अन्तिम ‘एक्युमुलेसन’ अवसर हो, फेरि यो मूल्यमा किन्ने अवसर नपाउन सकिन्छ ।’
मुख्यतः बजारलाई प्रभाव पार्ने आर्थिक परिदृष्य सकारात्मक रहेकाले यतिबेला बजारबाट भाग्नेले पछि थप बढेको मूल्यमा खरिद गर्नुपर्ने अवस्था आउने अनुभवी लगानीकर्ता बताउँछन् । बजार घटेर तल्लो विन्दुमा आउँदा डराएर बेच्ने, फेरि बढेर माथिल्लो विन्दुमा गएर खरिद गर्नेहरूले बजारबाट सधैं नोक्सानी व्यहोर्नुपर्ने रजौरे बताउँछन् ।
बजार तीन सातामा यति धेरै अंकले झर्नुपर्ने कुनै खास कारण नरहेको उनले बताए । बैंकको ब्याजदर निकै घटिसकेको, लगानीयोग्य रकम पर्याप्त रहेको, पूँजीगत खर्च बढ्ने समय सुरु भएको, बचत भुक्तानी सन्तुलन तथा पर्याप्त विदेशी मुद्रा सञ्चितिका कारण अर्थतन्त्रका सूचक सकारात्मक छन् ।
पछिल्लो समय मुलुकको व्यापार पनि बढ्दो देखिएकाले आन्तरिक अर्थतन्त्र चलायमान बन्ने आधार देखिएका छन् । यी नै बजार बढ्ने बलिया आधार रहेको रजौरे बताउँछन् । यद्यपि बजार केही घट्न बल पुर्याउने सानो आधार चैत मसान्तको साँवा, ब्याज भुक्तानी समयलाई लिइएको छ ।
‘पछिल्लो समय राजावादीको आन्दोलन हुने भएपछि केही दिन बजार प्रभावित बनेको थियो, खरिद गर्नेहरु पनि पर्खिरहेका थिए’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाटले भने ‘बजार घट्नुपर्ने अरु खास आधार पनि देखिँदैन ।’ आर्थिक सूचक सबै ठीकठाक रहेको र ब्याजदर घटेका कारण बजारमा नकारात्मक हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
राजावादी आन्दोलनको प्रभाव पनि बजारमा करिब सकिएको अवस्था रहेको ब्रोकर सञ्चालक बताउँछन् । बजारले हरेक विषयमा घटना हुनुअघि नै पहिले नै प्रतिक्रिया जनाउने गर्दछ । ठूलो मात्रामा सेयर एक्युमुलेसन गर्नलाई केही दिन समय लाग्ने गर्दछ । त्यहीं कारण बुधबारदेखि नै बजारमा एक्युमुलेसन सुरु भएको अनुमान गरिएको छ ।
त्यस्तै बजारमा हाल अन्तिम १५ मिनेटको भारित औसत मूल्य लागु भएको छ । यो व्यवस्था लागु भएपछि लोक्याप कम्पनीमा हुने चलखेल समेत बन्द भएको छ । यसले बजारलाई नै आगामी दिनमा थप स्थिरता प्रदान गर्नेछ ।
फागुन १८ गते २८९० अंकमा पुगेको बजार अहिले २६२१ मा छ । तीन साताको अवधिमा बजार २६९ अंक अर्थात् ९.३० प्रतिशत घटिसकेको छ । फागुन १८ गते बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको मूल्य) हालसम्मकै उच्च ४७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको थियो । बुधबार यो ४३ खर्ब ५३ अर्ब छ । यसको अर्थ तीन साताको अवधिमा लगानीकर्ताको सम्पत्ति मूल्य ४ खर्ब ४६ अर्ब गुमेको छ ।
प्राविधिक रुपमा समेत बुधबार बजारले बलियो सपोर्ट लाइनमा टेवा पाएर बढेको देखिन्छ । दैनिक क्यान्डिलस्टिकमा ट्रेन्डलाइनमा २५८० बलियो सपोर्ट विन्दु थियो । अघिल्लो दिन बजार २५८२ अंकमा झरेको थियो । बुधबार सुरुवाती कारोबारका क्रममा २५८० अंकबाटै बजार बढ्न थालेको हो ।
त्यस्तै रिलेटिभ स्ट्रेन्थ इण्डेक्स आरएसआईले पनि बजारलाई ओभरसोल्ड देखाएको थियो । अघिल्लो दिन आरएसआई ३०. ५१ मा झरेको थियो । ३० आसपासको अंकले बिक्री चाप आइसकेको र छिट्टै सुधार हुने संकेत देखाउँछ । यो अंक ७० अंकभन्दा माथि गएमा ‘ओभरबाउट’का रुपमा बुझ्ने गरिन्छ ।
दैनिक चार्टमा हेर्दा बोलिंगर ब्यान्डका तीन रेखामध्ये अन्तिम रेखा (२५७९) बाटै बजारले सपोर्ट पाएको छ । यद्यपी एक दिनको वृद्धिलाई लिएर बजार बढ्ने अनुमान गर्नु हतारो हुन्छ ।
प्राविधिक विश्लेषणका लागि फरक फरक धेरै टुल्स रहेकाले लगानीकर्ताले आफूलाई विश्वास लाग्ने टुल्स अध्ययन गर्न सक्ने प्राविधिक जानकार सुवासचन्द्र ढुंगाना बताउँछन् ।
अहिले बजारमा बेचेर बाहिरिनुपर्ने वा आत्तिनुपर्ने अवस्था नरहेको उनी बताउँछन् । ‘यो विन्दुमा सेयर बेच्नेले, भोलिका दिनमा यहीं मूल्यमा खरिद गर्न नपाउन सक्छन्’ ढुंगानाले भने ‘जुनसुकै बेला बजारले वृद्धिको लय समात्न सक्छ, त्यो विन्दु सुरुवात भइसकेको हुन सक्छ ।’
प्रतिक्रिया 4