+
+
Shares

अढाइ महिनासम्म पनि आएन बबिताको होस

न उपचारमा सहयोग, न लापरबाही गर्नेलाई कारबाही

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ चैत १४ गते १२:३१

१४ चैत, जनकपुरधाम । जनकपुरको अवैध मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बेहोस भएकी २५ वर्षीया बबिताकुमारी यादव साढे दुई महिना बित्दा समेत अचेत छिन् ।

माघ ३० गतेदेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा उनको उपचार भइरहेको छ । चिकित्सकहरूले अवस्था ‘सुधारोन्मुख’ भने पनि होस भने अझै आएको छैन । उनका श्रीमान् अंगेशकुमार यादवका अनुसार, आर्थिक अभावकै कारण प्रभावकारी उपचार हुन सकेको छैन । औषधि किन्ने पैसा अभावमा अवस्था झन् बिग्रिने चिन्ता छ ।

‘एकसाता अघि अक्सिजन पाइप हटाउँदा २४ घण्टासम्म आफैं सास फेर्न सकिन् । तर औषधि रोकिँदा फेरि अघिकै अवस्थामा फर्किइन्,’ अंगेशले दुखेसो पोखे ।

अस्पतालले उपचार जारी राखे पनि फार्मेसीले औषधि उधारो दिन अस्वीकार गर्दा समस्या भएको उनले बताए । ‘हालसम्म अस्पतालको फार्मेसीको करिब एकलाख रुपैयाँ उधारो छ,’ उनले भने, ‘केएमसी अस्पतालमा भर्ना भएदेखि औषधिमा मात्र ५ लाखभन्दा बढी खर्च भइसकेको छ । अस्पतालको सबै उपचार खर्च तिर्न बाँकी छ ।’

त्यसैले उनी एक आफन्तलाई श्रीमतीको कुरुवा राखेर ऋण/सापटी खोज्न गाउँ आएका छन् ।

‘औषधि पसलले उधारो दिन छाडेपछि तत्काललाई एक आफन्तबाट २० हजार रुपैयाँ मागेर फार्मेसीलाई बुझाएँ अनि आफन्तलाई कुरुवा राखेर मंगलबार ऋण सापटी खोज्न गाउँ आएँ,’ उनले भने, ‘हालसम्म ऋण र सापटी गरेर करिब १५ लाखभन्दा बढी खर्च भइसकेको छ ।’

गाउँघरमा ऋण र सापटी पाउनै छाड्यो । बबिताको घरको आर्थिक स्थिति कमजोर छ । अंगेश भारतको हैदरावादस्थित बोरा सिउने कम्पनीमा मजदुरी गरिरहेको बेला बबिताको स्वास्थ्य बिग्रिएको खबरपछि उनी नेपाल फर्किएका थिए ।

बबिताको उपचारमा लापरबाही सम्बन्धी समाचार अनलाइनखबरले सार्वजनिक गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरको पीडारी चोक स्थित कमल राइन संचालक रहेको अवैध मुस्कान अस्पतालमा छड्के गरेका थिए । विना स्वीकृति संचालन रहेको पाएपछि अस्पताल बन्द गराउँदै मुख्यमन्त्री सिंहले बबिताको राम्रो अस्पतालमा लगेर उपचार गराउन र सम्पूर्ण खर्च तिर्न निर्देशन दिएका थिए । तर, अस्पतालका सञ्चालकहरूले अहिलेसम्म कुनै चासो नदेखाएको अंगेशको गुनासो छ ।

उपचारमा आर्थिक अभाव सम्बन्धी अनलाइनखबरले समाचार सार्वजनिक गरेपछि मधेश सरकारको निर्देशनमा मुस्कान अस्पतालले एकलाख रुपैयाँ पीडित पक्षलाई दिएको थियो ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?