१३ चैत, काठमाडौं । एएफसी महिला एसियन कप २०२६ छनोटमा नेपाल र उज्बेकिस्तान एकै समूहमा परेका छन् ।
मलेसियाको क्वालालम्पुरस्थित एएफसी हाउसमा बिहीबार भएको ड्र अनुसार नेपाल समूह ‘एफ’मा उज्बेकिस्तान, लाओस र श्रीलंकासँगै परेको हो । यस समूहको खेल उज्वेकिस्तानमा हुनेछ । छनोट चरणका खेलहरु जुन २३ देखि जुलाई ५ सम्म हुनेछ ।
छनोट खेल्ने एसियाका ३४ टोलीलाई विभिन्न पाँच पटमा विभाजन गरी ड्र गरिएको थियो । नेपाल पटक टु मा थियो । नेपाल रहेको समूहमा पट ए बाट बलियो टोली उज्वेकिस्तान छ । उज्वेकिस्तान फिफा वरियतामा ५०औं स्थानमा छ । नेपाल ९९औं स्थानमा छ । यस्तै लाओस १०७औ र श्रीलंका १५८औं स्थानमा छ ।
नेपालले उज्वेकिस्तानसँग अहिलेसम्म ३ खेल खेल्दा सबैमा पराजित भएको छ । पछिल्लो पटक सन् २०१९ को नादेज्दा कपमा दुई खेल खेलेको थियो । समूह चरणमा उज्वेकिस्तानसँग २-० ले पराजित भएको नेपाल फाइनलमा ३-२ ले पराजित हुँदै उपविजेता बनेको थियो । सन् १९९९ मा वुमन्स एसिया कपमा नेपालले पहिलो पटक उज्वेकिस्तानसँग खेलेको थियो । जसमा नेपाल ६-१ ले पराजित भएको थियो । यस्तै श्रीलंकासँग नेपालले अहिलेसम्म खेलेको सबै ८ खेल जितेको छ भने लाओससँग अहिलेसम्म खेलेको छैन ।
आफ्नो समूहमा विजेता बन्न सके नेपाल वुमन्स एसियन कपमा छनोट हुनेछ ।
सन् २०२६ मा अष्ट्रेलियामा हुने वुमन्स एसियन कपमा आयोजकसहित चार टिम स्वत छनोट भइसकेका छन् । यसअघि भएको वुमन्स एसियन कपको विजेता चीन, उपविजेता दक्षिण कोरिया र तेस्रो भएको जापान भने सिधै छनोट भएका हुन् । बाँकी ८ स्थानका लागि छनोट चरणमा एसियाका ३४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
८ समूहको समूह विजेता एएफसी वुमन्स एसियन कप २०२६ मा छनोट हुनेछन् ।
नेपालको महिला टोली लगातार दोस्रो पटक वुमन्स एसियन कप छनोट खेल्न लागेको हो । यसअ#l नेपालले सन् २०२२ मा भारतमा भएको वुमन्स एसियन कप छनोट खेलेको थियो । तर नेपाल छनोट हुन सकेन । त्यसबेला नेपाल, फिलिपिन्स र हङकङ सम्मिलित समूहबाट फिलिपिन्स समूह विजेता बन्दै वुमन्स एसियन कप खेलेको थियो ।
एसिया क्षेत्रको छनोट सन् २०२७ मा ब्राजिलमा हुने फिफा वुमन्स विश्वकपको लागि समेत छनोटको रुपमा रहनेछ । वुमन्स एसियन कपमा शीर्ष ६ मा रहने टिम वुमन्स विश्वकपमा सिधै छनोट हुनेछ ।
प्रतिक्रिया 4