
१४ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भोलि (शुक्रबार) हुने प्रदर्शनमा कुनै सुरक्षाको कमी नहुन उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।
उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग बिहीबार छलफल भएको आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलले जानकारी दिए ।
छलफलका क्रममा सुरक्षा अधिकारीहरुले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय र प्रदर्शनकारीका प्रतिनिधिसँग समेत छलफल गरेर सुरक्षा योजना तयार पारिएको ब्रिफिङ गरेका थिए ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शान्तिसुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसाथ गर्न निर्देशन गरेको प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भोलि काठमाडौंमा गणतन्त्र पक्षधर र राजावादी समर्थकबीच छुट्टाछुट्टै प्रदर्शन हुँदैछ । उक्त प्रदर्शनमा हुनसक्ने मुठभेडलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
प्रदर्शनीका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्तिसुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको हो ।
आयोगले विभिन्न टोलीहरू बनाएर शुक्रबारको प्रदर्शनीको मानव अधिकारको कोणबाट अनुगमन समेत गर्ने बताएको छ ।
‘अतः आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनमा उल्लेखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै अरुको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ,’ आयोगले भनेको छ ।
प्रतिक्रिया 4