+
+
Shares

पत्रकारलाई रिहा गर्न इस्तानबुलको अदालतद्वारा आदेश

रासस रासस
२०८१ चैत १४ गते १७:२९

१४ चैत, इस्तानबुल । टर्कीएको अदालतले दशकौँ यताकै सबैभन्दा खराब प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा पक्राउ परेका एएफपीका एक फोटोग्राफरसहित सात जना पत्रकारलाई बिहीबार रिहा गर्न आदेश दिएको छ ।

गैरसरकारी संस्था र आन्दोलनको पक्षधर एक वकिलले पत्रकारलाई रिहा गर्न अदालतले आदेश दिएको पुष्टि गरेका छन् ।

प्रदर्शनको रिपोर्टिङ गरिरहेका टर्कीएका ११ जना पत्रकार, इस्तानबुलमा आठ जना र इजमिरमा तीन जनासहित एएफपीका फोटोग्राफर यासिन अकगुललाई प्रहरीले पक्राउ गरेको थियो ।

मङ्गलबार इस्तानबुलको एक अदालतले अकगुल र अन्य ६ जनालाई ‘कानुनको बर्खिलाप हुनेगरी’ र्याली र जुलुसमा भाग लिएको’ आरोपमा हिरासतमा राखेको थियो। यो कदमको अधिकारवादी समूह र पेरिसस्थित अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले कडा निन्दा गरेका छन् ।

टर्कीएमा गत मार्च १९ मा भएको इस्तानबुलका लोकप्रिय विपक्षी नगर प्रमुख एकरेम इमामोग्लुलाई जेल चलान गरिएपछि टर्कीमा जारी एक साता लामो प्रदर्शनका क्रममा सात पत्रकारसहित सयौँ प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिइएको थियो ।

राष्ट्रपति रेसेप तैयप एर्दोगानको मुख्य राजनीतिक प्रतिद्वन्द्वीका रुपमा हेरिएका ५३ वर्षीय इमामोग्लुको गिरफ्तारीलाई एर्दोगानले आफ्नो नेतृत्वलाई अझ निरङ्कुश बनाउने सङ्केत गर्छ ।

टर्कीएका तीन ठूला शहरमा भएको विरोध प्रदर्शन प्रतिबन्धको अवज्ञा गर्दै दिनहुँ ठूलो भीड सडकमा उत्रने गरेको छ भने रातको समयमा हुने जमघटमा पनि दङ्गा प्रहरीसँग भिडन्त हुने गरेको छ ।

अदालतले सातै जनालाई हिरासतबाट रिहा गर्न आदेश दिएको एमएलएसए अधिकार समूहले बिहीबार जनाएको हो ।

एएफपीका फोटो पत्रकार ३५ वर्षीय अकगुललाई जेलबाट रिहा गर्ने तयारी भएको उनका वकिलले बताए ।

उनले अकगुललाई सशर्त रिहा गर्न दिइएको हो वा आरोप हटाइएको हो भन्ने स्पष्ट नभएको बताए ।

एएफपीका प्रमुख कार्यकारी तथा अध्यक्ष फेब्रिस फ्राइजले अकगु्ललाई हिरासतमा लिइनु ‘अस्वीकार्य’ कदम भएको भन्दै उनको पक्राउको निन्दा गरेका थिए । फ्राइजले अकगुल ‘प्रदर्शनमा सहभागी नभएको’ र पत्रकारको हैसियतमा मात्र समाचार सम्प्रेषण गरेकाले उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

‘यासिन अकगुलको रिहाई स्वागतयोग्य छ र यसले ठूलो अन्यायको समाधान गर्छ,’ रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का एरोल ओन्डेरोग्लुले बिहीबार एएफपीसँग भने ।

उनले भने, ‘अन्यायपूर्ण व्यवहारका कारण स्वतन्त्रताबाट बञ्चित भएका अन्य सबै पत्रकारको रिहाइको माग गर्दछौँ।’

टर्कीको पश्चिमी तटीय शहर इज्मिरमा पक्राउ परेका अन्य चार जनामध्ये दुई जनालाई रिहा गरिएको र अन्य दुई जनालाई हिरासतमा राखिएको टर्कीको पत्रकार युनियनले जनाएको छ ।

गिरफ्तारीको संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय स्तरमा निन्दा भएको छ ।

गृहमन्त्री अली येर्लिकायाले मंगलबार दिउँसोसम्म प्रहरीले एक हजार ४१८ जनालाई पक्राउ गरेको जानकारी दिँदै ‘सडकमा आतङ्क मच्चाउनेलाई कुनै छुट नदिइने’ चेतावनी दिनुभएको छ । त्यसयता हिरासतमा लिइएका संख्याबारे थप अद्यावधिक गरिएको छैन ।

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल विश्वविद्यालय र राजधानीको अङ्कारा विश्वविद्यालय बाहिर विद्यार्थीहरूले बुधबार पुनः सडकमा प्रदर्शन गरेका थिए ।

विगतका दिनहरूमा जस्तै धेरैले प्रहरीले चिन्न नपाओस् भनेर स्कार्फ वा मास्कले अनुहार छोपेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?