
१४ चैत, काठमाडौं । सरकारले ग्वार्को फ्लाइओभरका नाममा बजेट तथा योजनामा समावेश गर्ने संरचनाको नाम र यसको डिजाइन निरन्तर विवादमा छ ।
विवादबीच सडक विभागले यसको डिजाइन निर्माण कम्पनीसँगको सम्झौता अनुसार नै निर्माण भएको स्पष्टीकरण दिएको छ ।
विभागका प्रवक्ता अर्जुनप्रसाद अर्यालका अनुसार निर्माण कम्पनीसँग बोलपत्रमा जुन डिजाइन उल्लेख थियो, सोही डिजाइनमा यो संरचना बनेको छ । फ्लाइओभर वा ओभरपास भने पर्यायवाचीका रूपमा भन्ने गरेको विभागको दाबी छ ।
विभागको स्पष्टीकरणमा छ, ‘ग्वार्कोमा निर्माणाधीन संरचनालाई पर्यायवाची रूपमा कसैले फ्लाइओभर वा कसैले ओभरपास भने तापनि कस्तो संरचना निर्माणका लागि निर्णय भएको थियो भन्ने विषय बोलपत्र सम्बन्धी कागजातमा स्पष्ट उल्लेख छ ।’
विभागले अगाडि भनेको छ, ‘निर्णय एउटा, निर्माण अर्कै भएको छैन, यस सम्झौता बमोजिम निर्माणाधीन संरचना सहरको केन्द्रमा उपयुक्त हुन्छ वा हुँदैन भन्ने विषय व्यक्तिपरक हुन् ।’ संसारका कयौँ सहरी क्षेत्रमा यस्ता संरचना बन्ने गरेको दाबी गर्दै विभागले आगामी दिनमा यो संरचनाको अनुभवले थप बहस सिर्जना भने गर्ने स्वीकारेको छ ।
किन बनाइएको हो यस्तो डिजाइन ?
ग्वार्को फ्लाइओभरमा भूप्राविधिक प्रविधि प्रयोग गरी निर्माण गरिने पर्खाल (जसलाई मेकानिकल्ली स्टेबलाइज्ड अर्थ (एमएसई) वाल पनि भनिन्छ) प्रयोग भएको छ ।
सडक विभागका अनुसार एमएसई वाल प्रयोग भएको यो संरचना पूर्णरूपमा पुल निर्माण गरी गरिने संरचनाको तुलनामा धेरै सस्तो पर्छ । तुलनात्मक रूपमा यस्तो संरचना निर्माणको काम छिटो हुन्छ । डिजाइन सुन्दर देखिन्छ ।
विभागले भनेको छ, ‘नेपालमा नवीनतम प्रविधि भित्र्याउन सकिने देखिएकै कारण विभागीय निर्णय अनुसार यस किसिमको संरचना निर्माण गर्ने सम्झौता भएको हो ।’
यस्तो डिजाइनको पर्खाल नेपालको अर्को फ्लाइओभर नागढुंगा सुरुङमार्गको बलम्बुमा समेत निर्माण गरिएको छ ।
भत्किएको र नयाँ निर्माण गर्नुपर्ने विषय के हो ?
सडक विभागका अनुसार ग्वार्को फ्लाइओभर ईपीसी मोडेलमा निर्माण भएको हो । यसको मतलब डिजाइन र निर्माण दुवै काम निर्माण कम्पनीले गर्छ ।
सम्झौता अनुसार निर्माणपछिको ५ वर्षसम्म संरचनामा क्षति भए कम्पनीले नै पुनर्निर्माण गर्नुपर्छ । डिजाइनमा कुनै त्रुटि देखिए १० वर्षसम्म निर्माण कम्पनीबाटै सच्याउनुपर्ने उल्लेख छ । सोहीकारण यो प्रावधानले व्यवसायीबाट डिजाइन र निर्माण कार्यको गुणस्तरमा लापरबाही नहुने निश्चित गरेको दाबी विभागको छ ।
ग्वार्को फ्लाइओभर ठेक्का सम्झौता र डिजाइनकै क्रममा फ्लाइओभर निर्माण हुने जगको माटो भारबहनमा कमजोर रहेको र क्रमिक दब्ने पूर्वानुमान थियो । सोहीकारण माटोको बारबहन क्षमता बढाउन र प्राकृतिक रूपमा माटोको दब्ने प्रक्रिया पूरा गर्न भविष्यमा आउने भार बराबरको माटो भरेर लामो समय छाड्नुपर्ने थियो ।
यसरी माटो भर्दा उक्त अवधिभरि सर्भिस लेनमा समेत यातायात अवरुद्ध हुने र सम्झौता अनुसार समयमै नसकिने देखिएपछि निर्माण व्यवसायीले अन्तर्राष्ट्रिय विज्ञको परामर्शमा स्टोन कोलमको डिजाइन र निर्माण गरेका थिए ।
डिजाइनमा पूर्वानुमान अनुसार नै धेरै स्थानमा माटो समान रूपमा दबेको तर सातदोबाटोतर्फको एक भागमा भने असमान रूपले दब्दा प्यानल ४–५ बीचको भागमा ग्याप बढ्न गएको विभागले स्पष्ट पारेको छ ।
‘यो कंक्रिट प्यानल कमजोर भएर चर्केको होइन,’ विभागले भनेको छ । सातदोबाटोतर्फ दबेको प्यानल झिकेर पुनः जडान गर्न इन्टरलक प्यानल र ओभरल्याप भएको भागका सबै प्यानल हटाउँदा ४० मिटर खण्ड पुनः जडान गर्नुपर्ने अवस्था आएको विभागले जनाएको छ ।
यो काम निर्माण व्यवसायीको आफ्नै खर्चमा भएको भन्दै यसले लागत समेत नबढाएको दाबी विभागको छ । यी प्यानल झिकेर पुनः जडान गरी यथाशक्य छिटो काम सम्पन्न गरी यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढेको विभागको भनाइ छ ।
प्रतिक्रिया 4