
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) ले सगरमाथामा थुप्रिएको फोहोर संकलन गर्न प्रोजेक्ट केयर अभियान अन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
बिहीबार काठमाडौंको ग्लोबल कलेजमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
कार्यक्रम उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरेर कम्पनीका सीईओ पराजुली, डेपुटी सीईओ अमितकुमार कयाल, राउन्ड टेबल नेपाल अध्यक्ष अग्रवाल, निवर्तमान अध्यक्ष नितेशकुमार अग्रवाल तथा यस योजनाको प्राविधिक साझेदारका रूपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्त रुपमा गरेका थिए ।
एनएलआईसीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउन्ड टेबल नेपाल तथा प्राविधिक साझेदार सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) सँग सहकार्य गरेको कम्पनीका सीईओ पराजुलीले बताए । पराजुलीले सगरमाथा नेपालमात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको औंल्याए ।
राउन्ड टेबल नेपाल अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको बताए । साथै, उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरण क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
राउन्ड टेबल नेपालका निर्वतमान अध्यक्ष अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको जनाए । उनले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस क्रममा कुहिने फोहोरलाई आधार शिविरभन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाइ काठमाडौं समेत ल्याइने कार्यक्रममा जानकारी गराइयो ।
एसपीसीसी प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेको बताए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सगरमाथाको फोहोरबारे नकारात्मक समाचार आउन थालेको उल्लेख गर्दै उनले यो अभियानले समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
एनएलआईसीले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशव्यापी रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया 4