+
+
Shares
विचार :

हामी व्यक्तिनिर्भर छौं, प्रणाली पत्याउँदैनौं

अब आउने पुस्ताले समस्या देखेर गुनासो गर्ने होइन, समाधान खोज्ने राजनीति गर्नुपर्छ। व्यक्तिगत महत्त्वाकांक्षाको होइन, संस्थागत स्थायित्वको राजनीति गर्नुपर्छ।

क्रान्तिशिखा क्रान्तिशिखा
२०८१ चैत १५ गते ८:३६

एकछिन नसम्झौं-

भान्साको डिलमा मट्टितेलबाट बल्ने टुकी, सिरानीको छेउको टुकिमारा, दलानमाथिको लाल्टिन, जर्किनभरि मट्टितेल, दियालोको साथ ।

अब सम्झौं-

बिजुलीको उज्यालोमा चम्किरहेको झलमल्ल सडक बत्ती, ढुक्कसँग मेसिन चलाइरहेका उद्योगी, रातभरि पढ्न बसेका विद्यार्थी, सबै कुनै समय सपना मात्र थिए।

कुलमान घिसिङको नेतृत्वमा त्यो सपना यथार्थ बन्यो। लोडसेडिङको भयावह अँध्यारो हटाएर उनले बत्ती बालेका मात्र थिएनन्, जनताको अविश्वास पनि जलाइदिएका थिए।

तर, जब उनलाई हटाउने खबर सार्वजनिक भयो, सडक तात्यो, संसद् गुञ्जियो अनि सामाजिक सञ्जालमा आगो बल्यो। सामान्यत: आफ्ना विचार लेख्न हिच्किचाउनेहरू पनि त्यो दिन रोकिएनन्। जसले कहिल्यै कुनै पोस्ट गरेन, उसले पहिलोपटक स्टाटस लेख्यो। जो सधैं तटस्थ बस्यो, उसले पहिलोपटक पक्ष या विपक्ष रोज्यो। मानिसहरू केवल गुनासो पोख्दै थिएनन्, आफ्नो आशा र विश्वास गुम्दै गएको महसुस गरिरहेका थिए।

अब उनी प्रतीक बनिसके, क्षमताको,  इमान्दारीको, परिणाममुखी नेतृत्वको। विद्युत् प्राधिकरणलाई डुबेको घाटाबाट नाफामा पुर्याए, जनताको विश्वास जिते। जब सरकारको एउटा निर्णयले बाहिर आयो, प्रश्नहरू बर्सिन थाले।

के उनको बर्खास्ती खासमा नियमित प्रशासनिक प्रक्रिया थियो वा सत्ता समीकरणले निर्देशित खेल ? के नेतृत्वको मूल्यांकन निष्पक्ष रूपमा भएको थियो ? शक्ति सन्तुलनका लागि एउटा लोकप्रिय पात्रलाई नै हटाउनुपर्यो ? सरकारसँग अधिकार निश्चय नै थियो, तर कुनै निर्णय कानुनी रूपमा सही हुँदा पनि जनताको मनोविज्ञानविरुद्ध गएमा त्यसको असर गहिरो हुन्छ।

सरकार जवाफदेही त हुनैपर्छ, तर कहिलेकाहीँ हामीले आफैंसँग भलाकुसारी पनि गर्नुपर्छ ।

किन हामीलाई यस्तो लाग्दैछ, कुलमान घिसिङ गएपछि देश फेरि लोडसेडिङको भयमा बाँच्न बाध्य हुन्छ ?

किन कुनै संस्था नेतृत्व परिवर्तनपछि पनि स्वचालित रूपमा चल्ने विश्वास हामीलाई छैन ?

के संस्थाहरू व्यक्ति-निर्भर भइरहने हो, कि तिनलाई प्रणाली-निर्भर बनाउनुपर्ने हो?

कुनै व्यक्तिले गरेको असाधारण काम अरूलाई हस्तान्तरण गर्न सकिन्छ कि सकिन्न ? सिकाइको प्रक्रिया निरन्तर हुनुपर्छ कि व्यक्तिविशेषमा मात्र निर्भर रहनुपर्छ ? नेतृत्व हस्तान्तरण नियमित प्रक्रियाजस्तै हुनुपर्छ कि फेरि शून्यबाट सुरु गर्नुपर्ने बाध्यता जस्तो ?

सोच्नूस् त !

एउटा कर्मचारीले राम्रै काम गर्यो भने त्यसको ब्याज कति वर्षसम्म खाने हो ?

एउटा व्यक्तिलाई केही हुँदा नै सिंगै संस्था नै धरमर हुन्छ भने त्यो संस्थाको संरचना कत्तिको सबल छ ?

यी प्रश्नहरू सतहमा सामान्य लाग्न सक्छन्, तर वास्तविकता गम्भीर छ। के राज्य संस्थानहरू केही व्यक्तिको छायामा मात्र चल्ने हुन् ?

तर, सरकारको पछिल्लो निर्णयले के देखायो भने नेपालमा संस्थाहरू होइन, व्यक्तिहरू शक्तिशाली छन्। नेतृत्व प्रणाली होइन, प्रवृत्ति हावी छ। प्रश्न सत्ता बदल्नेको मात्र होइन, सत्ता चलाउने शैलीको हो।

आज बहस कुलमान घिसिङ मात्र होइन। बहस नेपालमा संस्थागत स्थायित्व बनाउने कि व्यक्तिहरूको पूजामा राजनीति सीमित गर्ने ?

तर, के अब पनि नागरिकले यस्तै खेल स्वीकार्नेछन् ? कि प्रतिरोधको भाषा बदल्नेछन्?

तर, आजको कुरा यति मात्र होइन।

विषय अलि फरक छ।

कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले जारी गरेको प्रेस विज्ञप्तिको अन्तिम अनुच्छेदमा भनिएको थियो, ‘भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा पार्टीले नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता जनाउनेछ।’

तर, यही एउटा वाक्यलाई तोडमोड गर्दै प्रश्न तेर्स्याए-

‘के राजावादीहरूले गर्ने आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि मिसिन लागेको हो ?’

हेर्दा सामान्य लाग्ने यो प्रश्नको गहिराइ अत्यन्त फरक छ। यो केवल एक पार्टीको समर्थन वा विरोधको कुरा होइन।

यो सत्ताको चरित्र, प्रतिरोधको नैतिकता र लोकतन्त्रको दिशासँग गाँसिएको छ।

सत्तापक्षको अकर्मण्यता, समाजमा बढ्दै गएको असन्तोष र जनआक्रोशको विविध रूपलाई एउटै कोष्ठभित्र हालेर बुझ्ने मानसिकता स्वयंमा गलत हो। जब सत्ता भ्रष्टाचारको संरक्षणमा उत्रिन्छ, बिचौलियाको स्वार्थ पूरा गर्न मरिहत्ते गर्छ र जनताको चाहनालाई कुल्चन्छ, तब त्यसको विरोधमा उठ्ने स्वरहरू स्वाभाविक रूपमा मिल्न सक्छन्।

कुनै पनि आन्दोलनको सार ‘कोही बोलेको छ’ भन्नेमा सीमित हुँदैन, बरु ‘केका लागि बोलेको छ’ भन्ने कुराले अर्थ राख्छ।

विरोधको आवाज स्वतन्त्रताको साइनो हो, प्रतिरोधको नैतिकता लोकतन्त्रको मेरुदण्ड हो। यदि सत्ता गलत बाटोमा हिँड्छ भने त्यसको विरोध गर्ने हक हरेक सचेत नागरिकको कर्तव्य हो, चाहे त्यो आन्दोलन राजावादीको होस्, लोकतन्त्रवादीको होस् वा स्वतन्त्र नागरिकको।

सवाल सरकारको पार्टीसँग नजिक हुने वा टाढिने होइन। सवाल सत्ताको अन्यायको समर्थन गर्ने कि प्रतिरोध गर्ने भन्ने हो।

यदि प्रतिरोधको आधार न्यायसंगत छ भने, हिजो राजतन्त्रविरुद्ध उठेको स्वर जस्तै आज यो स्वर भ्रष्टाचारविरुद्ध पनि उठ्नुपर्छ। किनभने, प्रश्न व्यक्तिको होइन, अवस्थाको हो। सत्ता जसको हातमा छ, जब त्यसले जनताको विश्वास तोड्छ, त्यसको प्रतिरोध गर्न हिच्किचाउनु कायरता हो।

विचार मस्तिष्कको कुनामा मात्र होइन, भावनाको केन्द्रमै बसेर धड्किनुपर्छ, तब त्यो विचारले बाटो कोर्छ । अनि पो त त्यसको आकृति देखिन्छ, विस्तारै त्यसको उपस्थिति महसुस हुन थाल्छ,  अनि अस्तित्व बोध प्रवाहित हुन्छ।

शक्तिलाई प्रश्न नगर्ने, अन्यायको विरोध नगर्ने र सत्ता जुनसुकै गलत बाटोमा हिँड्दा पनि मौन बस्ने प्रवृत्तिले नै मुलुकलाई अधोगतिमा पुर्याएको छ। विरोधको भाष्य कुनै दलविशेषको स्वामित्व होइन, यो जनताको अधिकार हो। त्यसैले प्रश्न ‘को आन्दोलन गरिरहेको छ ?’ भन्ने भन्दा पनि ‘केका लागि आन्दोलन भइरहेको छ ?’ भन्ने महत्वपूर्ण हो। किनभने, जब प्रश्न नै गलत कोणबाट उठ्छ, त्यहाँ सत्यको हत्या अनिवार्य हुन्छ।

अमेरिकी मनोवैज्ञानिक जे.आर. ऐन्जलका अनुसार हाम्रो मस्तिष्क दृश्यात्मक रूपमा सोच्न बढी सक्षम हुन्छ। मानिस तबसम्म कुनै नयाँ चिज कल्पना गर्न सक्दैन, जबसम्म उसले विगतका अनुभवहरू वा दृश्यात्मक तस्बिरहरूसँग त्यसलाई जोड्न सक्दैन।

लियोनार्डो दा भिन्चीले हावामा उड्ने यन्त्रको चित्र बनाए, त्यो केवल कल्पना थियो। कल्पना सिर्जनात्मक प्रक्रिया हो। जबसम्म उनको कल्पनालाई कसैले यथार्थमा रूपान्तरण गरेन, त्यो कागजमा सीमित  रहिरह्यो। त्यो कल्पना यथार्थमा बदलिन चार शताब्दी लाग्यो। राइट दाजुभाइले चार वर्षसम्म निरन्तर अनुसन्धान, परीक्षण र अथक परिश्रमले सपनाको पखेटा उडाइदिए ।

चरा-चुरङ्गी उड्ने आकाशमा विमान उड्न थाल्यो। पहिलो पटक आकाशले मानव उडानको अनुभूति गर्यो। राइट दाजुभाइले त्यो कल्पनालाई जीवन दिए। मानव उड्डयनलाई यथार्थमा बदल्न सफल भए। उड्ने रहर केवल कागजमा सीमित रहेन, आकाशमा फैलियो।

मानिसको मनोविज्ञान पनि उस्तै हो जबसम्म कुनै चीज मस्तिष्कमा स्पष्ट रूपमा देखिँदैन, त्यसको सम्भावनालाई बुझ्नै सकिन्न। जब कुनै कल्पना हाम्रो मन-मस्तिष्कमा जीवन्त रूपमा अंकित हुन्छ, तब मात्र त्यो सपना उड्न थाल्छ।

हामी त्यसलाई महसुस गर्न सक्छौँ, त्यसको उज्यालोमा हिँड्न सक्छौँ। नत्र, त्यो केवल धुवाँ जस्तै फुसफुसिन्छ, एकछिन त तैरिन्छ, तर अन्ततः हराएर जान्छ। हलुका, पातलो बन्दै जान्छ।

विचार मस्तिष्कको कुनामा मात्र होइन, भावनाको केन्द्रमै बसेर धड्किनुपर्छ, तब त्यो विचारले बाटो कोर्छ । अनि पो त त्यसको आकृति देखिन्छ, विस्तारै त्यसको उपस्थिति महसुस हुन थाल्छ,  अनि अस्तित्व बोध प्रवाहित हुन्छ।

मस्तिष्कले महसुस गर्न नसकेको चाहना, चेतनाले नछोएको अभिलाषा, बाल्यकालमा हत्तपत्त सम्झन नसकिने कुनै सपना जस्तै हुन्छ, ब्युँझेपछि सम्झन खोज्दा विस्तारै हराउँदै जाने, धुमिल हुँदै जाने।

मानौं, यो देशका सारा मान्छे मूर्ख छन्, थोत्रिएका नेता मात्र सही छन्। मानौं, देश जनताले होइन, नेताले मात्र चलाउँछन्। मानौं, नेताहरूको निर्णय नै राष्ट्रको भाग्य हो, अनि जनता केवल भीड हुन्। जसलाई जबरजस्ती ताली बजाउन लगाइन्छ, नारामा सामेल गरिन्छ, अनि चुनावको दिन ‘लोकतन्त्रको उत्सव’ भनेर लाइनमा उभ्याइन्छ।

यदि यस्तै सोचले राजनीतिलाई अघि बढाइयो भने, के अब आउने पुस्ताले पनि यही बाटो समाउँदैन ?

हिजोका केही पुस्ताले सत्ता टिकाउन जनता बेचिदिए। उनीहरूका लागि राजनीति अवसर थियो, आन्दोलन सिँढी थियो र सत्ता सम्पत्ति बन्यो।

राजनीतिमा आउनुको उद्देश्य के हो ? चुनाव जितेर सत्तामा पुग्नु कि व्यवस्थापन सुधारेर देश बनाउनु ?

अब राजनीति भ्रम, अन्धभक्ति र नक्कली राष्ट्रवादको ओढारबाट बाहिर निस्किनुपर्छ। राजनीति अब भाषणले होइन, परिणामले मापन हुनुपर्छ। नेतृत्व अब उमेर, पदवी वा पार्टीगत स्वामित्वले होइन, कसले देशलाई सही दिशा दिन सक्छ भन्ने कुराले निर्धारण हुनुपर्छ।

अब राजनीतिमा आउनेहरूको उद्देश्य परिवर्तनको हुनुपर्छ ।

– यातना दिएर नागरिक भाँडने होइन, जोड्ने राजनीति।

– आफ्ना लागि होइन, देशका लागि सोच्ने नेतृत्व।

– संस्थाहरूलाई बलियो बनाउने, ताकि व्यक्ति हट्दा पनि व्यवस्था चलिरहने संरचना।

अब आउने पुस्ताले समस्या देखेर गुनासो गर्ने होइन, समाधान खोज्ने राजनीति गर्नुपर्छ। व्यक्तिगत महत्त्वाकांक्षाको होइन, संस्थागत स्थायित्वको राजनीति गर्नुपर्छ।

यदि नयाँ पुस्ताले पुरानै शैलीको भ्रष्ट, अवसरवादी, र सत्ता-मोहित राजनीति अँगाल्छ भने यो पुस्ताको पनि इतिहासको अर्को गम्भीर भूल हुनेछ।

तर, यदि यो पुस्ताले आफ्नो मूल्य, इमानदारिता र कर्तव्यलाई प्राथमिकता दियो भने राजनीति फेरिनेछ, देश बदलिनेछ। राजनितिको चित्र मस्तिष्कमा मोहित हुने खालको हुनेछ ।

अनि राजनीति ?

राजनीतिको पनि त आकृति कोरिएकै हो, तर सबैको भाग्य दा भिन्चीको जस्तो कहाँ हुन्छ। उनको चित्र अर्निथोप्टर फ्लाइङ मेसिनले राइट ब्रदर्स पायो। दुर्भाग्य ! नेपाली राजनीतिले सधैं रङ ब्रदर्स पायो, जसले कहिले पनि सही हुनुपर्ने मानक स्थापित गर्नै सकेनन्। गर्नै खोजेनन्।

किनभने, उनीहरु जान्दथे, त्यो मापदण्डभित्र उनीहरु कहिले पनि समाहित हुन सक्दैनन् भनेर।

उनीहरू बुझ्दथे कि, त्यही घेराले उनीहरूको अस्तित्वलाई संकुचित पार्नेछ भनेर ।

जानाजान भष्म हुने मुटु कहाँ छ यिनीहरुको ?

नेपालको राजनीतिमा सधैं गलत पात्रहरूले सही स्थान ओगटिरहे। अवसर र परिवर्तनका सम्भावना त यहाँ पनि थिए, तर तिनीहरूलाई सही दिशामा लैजान सक्ने राइट दाजुभाइजस्ता संकल्पशील हातहरू कहिल्यै भेटिएनन्। चार वर्षको अनुसन्धानले विमान बन्यो, तर यो देशमा पाँच वर्षे सरकार कहिल्यै बन्न सकेन।

यहाँ नीति बने, संविधान लेखिए, नाराहरू गुञ्जिए तर तिनको कार्यान्वयन कहिल्यै भएन। कागजमा मात्रै सीमित सपना जस्तै, यी सबै योजनाहरू अन्ततः च्यातिए, हराए, धुलिसात भए। विचारहरू कागजमा सीमित भए पनि तिनको प्रभाव समय र सीमाभन्दा पर फैलिन्छ। तर यहाँ अज्ञानता फैलियो, विचार साँघुरियो !

अनि जनता ?

जनता केही समयका लागि उत्साहित हुन्छन्, दिन, केही महिना, कतिपय अवस्थामा केही वर्षसम्म पनि।  सामाजिक सञ्जालमा हलचल मच्चिन्छ, समर्थन र विरोधका छालहरू उर्लिन्छन्। कति बेला थाहा छ ?, जब हरेक नारा, हरेक आन्दोलन, हरेक चुनाव नयाँ उडानको आशा देखाउँछन्।

लाग्छ, अब देश बदलिन्छ, अब राजनीति सुध्रिन्छ, अब भविष्य उज्यालो बन्छ। तर के हुन्छ ? केही समयपछि त्यही मुद्दा बिर्सिन्छ, नयाँ घटनाले ध्यान तान्छ, पुरानो घाउ सेलाएर अर्को चोट सहन तयार भइसक्छौं। यो चक्र एक-दुईपटक होइन, दशकौँदेखि दोहोरिइरहेको छ।

हामीले कति पटक केवल कल्पनामा रमाएर, वास्तविक उडानलाई बिर्सियौँ, कति पटक सही नेताहरूलाई गलत भनी नकार्यौँ र कति पटक गलत नेताहरूलाई सही बनाउने प्रयत्न गर्यौँ ?

यहाँ हरेक पिँढीले नया राजनीति जन्माउने सपना देख्छ, तर प्रत्येक पुस्ताले उही पुराना गल्तीहरू दोहोर्याउँछ। किनभने, हामीले केवल आकाशतिर हेर्न जानेका छौँ, पखेटा बनाउन जानेका छैनौँ। परिवर्तनका कल्पनाहरू छन्, तर तिनलाई जीवन दिने साहसिक नागरिकहरू छैनन्।

कति पटक हामीले वास्तविक परिवर्तनलाई बिर्सियौँ, कति पटक सही नेताहरूलाई गलत भनेर तिरस्कार गर्यौँ अनि कति पटक गलत नेताहरूलाई देवत्वकरण गर्यौँ । हाम्रो स्मृति किन यति कमजोर छ ? किन हामी केवल सतही तुफानमा रमाउँछौँ, गहिराइमा पुगेर सत्य किन केलाउँदैनौँ ?

राजनीति क्रान्तिको क्षण होइन, यो स्थायी परिवर्तनको प्रक्रिया हो। जबसम्म जनता प्रतिक्रियामा सीमित रहन्छन्, जबसम्म हामी आफ्नै अवस्थासँग सम्झौता गर्न बाध्य भइरहन्छौँ, तबसम्म परिवर्तन कल्पनामा सीमित रहन्छ।

नेपालमा पनि परिवर्तनका चित्र कोरिन्छन्, नाराहरू उठ्छन्, क्रान्तिहरू घोषणा गरिन्छन् तर त्यसलाई यथार्थमा बदल्ने राइट ब्रदर्स को हुन् ? कहाँ छन् ती नागरिक, जसले सही नेताहरूलाई उचाल्नेछन्, गलतलाई चिन्दै अस्वीकार गर्नेछन्।

यहाँ सपना बेच्नेहरू त भए, तर सपना देख्नेहरू भएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?