
१५ चैत, काठमाडौं । तिनकुनेस्थित राजावादीहरूको प्रदर्शनका क्रममा अनलाइनखबरकर्मी दिनेश गौतम घाइते भएका छन् ।
प्रदर्शनकारीहरूले सुरक्षाकर्मीहरूको अश्रुग्यास प्रहार गरेको बन्दुक खोसेको तस्वीर खिच्ने क्रममा रहेका बेला उनलाई प्रदर्शनकारीले हुलहुज्जत गरेका थिए । गौतमका अनुसार, उनलाई धकेलेर मोबाइल समेत खोस्न खोजेका थिए ।
त्यसक्रममा उनीहरूले गौतमलाई धकेलेर लडाइदिएका थिए । त्यसलगत्तै सुरक्षाकर्मीको टोली आएर अश्रुग्यास प्रहार भएपछि गौतम भागेका थिए । भागेर कोटेश्वरतर्फ जाने क्रममा उनलाई उच्छृङ्खल प्रदर्शनकारीले लखेटेका समेत थिए । त्यसबेला प्रदर्शनकारीले उनलाई प्रहरीको सीआईडी भन्दै त्यस्तो गरेको थियो ।
घटनास्थलमा पुगेका अर्का अनलाइनखबरकर्मीका अनुसार, भाग्दै आइपुगेका गौतमलाई त्यसपछि महादेवस्थान छिर्ने बाटोतर्फ लगिएको थियो । त्यसपछि उनी सुरक्षित भएका थिए ।
घटनामा घाइते भएका गौतमलाई एभरेस्ट अस्पताल लगिएको थियो । त्यसक्रममा उनको खुट्टा भाँचिएको भेटिएको चिकित्सकहरूले बताएका छन् ।
राजावादी समूहले गरेको प्रदर्शनले उग्ररूप लिँदा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको पनि मृत्यु भएको छ ।
प्रदर्शनकारीहरूले कान्तिपुर, अन्नपूर्ण पोष्ट लगायतका सञ्चारमाध्यमविरुद्ध समेत आक्रोश पोख्दै कार्यालयमा तोडफोड गर्न उक्साएका थिए । राजावादी समूहका नेताहरूले स्टेजबाटै समेत तोडफोड गर्न भन्दै भीडलाई उत्तेजित पारेका थिए ।
प्रतिक्रिया 4