
१५ चैत, काठमाडौं । राजावादीहरुको आन्दोलनको तस्वीर खिच्न गएका फोटोपत्रकार सुरेश रजकले आगजनीमा जलेर ज्यान गुमाएका छन् । त्यतिमात्रै होइन, राजावादीहरूले सञ्चारमाध्यमका कार्यालयहरूमा पनि आक्रमण गरेका छन् ।
प्रहरीसँगको झडपपछि प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा आक्रमण गरेका हुन् । उनीहरूले मञ्चबाटै सेतोपाटी र अन्नपूर्ण पोष्टको नाम लिँदै प्रदर्शनकारीहरूलाई त्यहाँ आक्रमण गर्न उक्साएका थिए ।
कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेलका अनुसार, आक्रमणकारीहरूले ‘कान्तिपुर यही होइन ?’ भन्दै इटा र ढुंगा हान्न शुरु गरेका थिए ।
‘चौथो तलामा रहेको समाचारकक्षमा अहिले पनि बोतल, सिसा र ढुंगा छन्’ उनले भने, ‘संयोगवश कसैलाई लागेन र हामी जोगियौं ।’ राजावादीहरूको आक्रमणका कारण पहिलो र दोस्रो तलाको झ्यालका सिसाहरू फुटेका छन् ।
टेलिभिजन परिसरभर आक्रमणकारीहरूले फालेको ढुंगा र इटाका टुक्रा हटाउने काम भइरहेको सम्पादक पौडेलले बताए । उनीहरूले सीसीटीभी क्यामेरामाथि पनि ढुंगा प्रहार गरेका थिए । बेलैमा मोटरसाइकल र गाडी हटाएकाले क्षति पुग्न नपाएको उनले बताए ।
शुरुमै कम्पाउण्डभित्र प्रवेश गर्न खोजेका प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीहरूले रोकेका थिए । त्यसपछि उनीहरूले आक्रमण शुरु गरेका थिए । प्रहरीलाई खबर गरेपनि घटनास्थलमा पुगुन्जेल उनीहरू आक्रमण गरेर भागिसकेको पौडेलले बताए ।
तीनकुनेमै रहेको अन्नपूर्ण पोष्ट दैनिक रहेको भवन पनि आन्दोलनकारीको आक्रमणको निशानामा परेको छ । आक्रमणकारीहरूले मञ्चबाट नै मिडियाको नाम उद्घोष गरेर एउटा समूह पठाएर आक्रमण भएको अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारीले बताए ।
ढुंगा र इटाका टुक्रा प्रहार गरेर उनीहरूले कार्यालय तोडफोड गरेपछि आगो लगाउने प्रयास गरेका थिए । नजिकै पेट्रोल पम्प समेत रहेकाले ठूलो क्षति गराउने उद्देश्यले नियजित आक्रमण भएको भण्डारीले बताए ।
‘धन्न हामी सहकर्मीहरू र प्रहरीले बेलैमा आगो निभाएकाले क्षति हुन पाएन’ उनले भने, ‘पत्रकारहरूलाई त्रासदीपूर्ण अवस्थामा पुर्याउने उद्देश्यका साथ यो आक्रमण भएको देखिन्छ ।’

२०६२/६३ को आन्दोलनमा अग्रणी भूमिका खेलेको कान्तिपुरले त्यसयता प्रकाशित गरेका समाचार र अरु सामग्रीका कारण आक्रमणकारीहरूको निशानामा परेको कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक विजय पौडेलले बताए ।
‘हामीले लेखेको समाचार, टिप्पणी र विषयवस्तु स्पष्टै छन् । सायद उनीहरूलाई त्यो कुरा मन परेको थिएन’ उनले भने, ‘हामीले सम्पादकीय नीतिमार्फत लिएको अडान र दृष्टिकोणका कारण यसरी आक्रमण भएको हुनसक्छ ।’
अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी समाचार र दृष्टिकोणकै कारण सञ्चारमाध्यममाथि आक्रमण गर्ने शाही सरकारकालिन रवैया यसपटक पनि प्रकट भएको बताए ।
उनले भने, ‘हामीले निरन्तर लेखेका विषयवस्तु नै आक्रमणको कारण हो । मानसिक त्रास सिर्जना गरेर आलोचनात्मक सामग्री प्रकाशित गर्न नसकुन भन्ने उद्देश्य राखेको हुनसक्छ ।’
यस्तै अलनाइनखबरका संवाददाता दिनेश गौतममाथि राजावादीहरूले गम्भीर आक्रमण गरेका छन् । आन्दोलन कभर गर्न तीनकुने पुगेका गौतमलाई एक राजावादी प्रदर्शनकारीले प्रहरीको राइफल खोसिरहेको भिडियो खिचिरहेका बेला आन्दोलनकारीले पछाडिबाट तानेर आक्रमण गरेका थिए । सो आक्रमणमा उनको बायाँ खुट्टा भाँचिएको छ ।
उत्तेजक प्रदर्शनकारीहरूले सेतोपाटी, अनलाइनखबर लगायतका सञ्चारमाध्यमको नाम लिएर त्यहाँ समेत आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । प्रदर्शनकारीहरूले मञ्चबाट नै सेतोपाटी र अन्नपूर्ण पोष्टको नाम लिएका थिए । यसैगरी प्रदर्शनकारीले हिमालयन टेलिभिजनको भ्यान समेत तोडफोड गरेका छन् ।
दुई दशकअघि इराकमा गएका १६ जना नेपालीको त्यहाँको विद्रोही समूहबाट हत्या भएपछि काठमाडौंमा मेनपावर र सञ्चारमाध्यमहरूमाथि तोडफोड भएको थियो । त्यतिबेला विध्वंशका क्रममा सुरक्षा संयन्त्रलाई अस्वाभाविक रूपमा निष्कृय बनाइएको थियो ।
सक्रिय राजनीतिमा आउने दाउ खोजिरहेका तत्कालीन राजा ज्ञानेन्द्रको शंकास्पद भूमिकामाथि पनि त्यतिबेला प्रश्न उठेको थियो । पत्रकार नारायण वाग्लेले शुक्रबारको घटनालाई त्यतिबेलाको विध्वंशसँग तुलना गरे । ‘आज हामीलाई थाहा छ, कमाण्ड कसको हो ? र उद्देश्य के हो ?’ वाग्लेले अनलाइनखबरसँग भने, ‘यो नियोजित हो, शहरी विद्रोहको एउटा चेष्टा हो ।’
सञ्चारगृह र पत्रकारमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघले भत्सर्ना गरेको छ । महासंघका अध्यक्ष निर्मला शर्माले राजावादी आन्दोलनमा सडकमा उत्रिएको भीडले आज विभिन्न सञ्चार गृहमा र आन्दोलन कभरेज गर्न गएका पत्रकारमाथि गरेको आगजनी र हातपातको कडा शब्दमा भर्त्सना गरेकी छन् ।
शर्माले भनेकी छन्, ‘नेपाल अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक ग्यारेन्टी भएको मुलुक हो, राजाकालीन नियन्त्रित कालखण्ड होइन । प्रेसमाथि हमला गर्ने प्रत्येक व्यक्तिलाई कारबाहीको भागिदार बनाउन म सरकारसँग माग गर्दछु ।’
प्रतिक्रिया 4