+
+
Shares

हिंस्रक राजावादीको निसानामा निजी सम्पत्ति र व्यवसायी

नेपालको कानुनअनुसार शुक्रबारको तोडफोड, लुटपाट र आगजनीको क्षति पूर्वराजा ज्ञानेन्द्र शाहलगायतले बेहोर्नुपर्छ, जन्म कैदसम्म हुन सक्छ ।

जनार्दन बराल जनार्दन बराल
२०८१ चैत १५ गते २१:०४

१५ चैत, काठमाडौं । संघीय राजधानी काठमाडौंमा शुक्रबार राजावादीको नाममा भएको हिंसात्मक गतिविधिको निसानामा निजी सम्पत्ति र व्यवसायहरू परेका छन् ।

हिंसात्मक समूहले तीनकुने, कोटेश्वर, बानेश्वर, बालकुमारी क्षेत्रका निजी भवन तथा सवारीसाधनमा तोडफोड तथा आगजनी मात्रै गरेका छैनन्, भाटभटेनी सुपर स्टोरमा लुटपाट पनि मच्चाएका छन् ।

हिंस्रक समूहको आक्रमणबाट करोडौं रुपैयाँको क्षति भएको सरकारी अधिकारीहरूको अनुमान छ । त्यतिमात्र होइन, अन्नपूर्ण पोस्ट तथा कान्तिपुर टेलिभिजन जस्ता निजी सञ्चारमाध्यममा पनि तोडफोड लगत्तै आगजनी प्रयास भएका छन् ।

दुर्गा प्रसाईं, धवलसमशेर राणा तथा रविन्द्र मिश्रजस्ता राजावादीहरूको नेतृत्वमा कोटेश्वर–तीनकुने क्षेत्रमा जम्मा भएको हिंसात्मक समूहले सबैभन्दा पहिलो तीनकुनेमा रहेको मार्बल हाउसमा तोडफोडबाट आफ्नो अराजक गतिविधि सुरु गरेका थिए । उनीहरूले त्यो भवनमा आगजनी मात्रै गरेनन्, तीनकुने क्षेत्रका अन्य भवनमा पनि अन्धाधुन्द तोडफोड गरे ।

आगजगी भएको घरसँगैको अर्को घरका धरधनी नयन पण्डितका अनुसार उनको घरको बाहिरी भाग आन्दोलनकारीको ढुंगा प्रहारबाट पूर्णरूपमा ध्वस्त भएको छ ।

‘मेरो घरमा आगो मात्रै नलागेको हो, बाँकी सम्पूर्ण रूपमा क्षति भएको छ,’ उनले भने, ‘त्यहाँ जान सक्ने अवस्था पनि छैन, कति क्षति भयो भन्ने आकलन पनि छैन,’ उनले भने, ‘मेरो घर भाडामा लिएर बसेका कार्यालयहरूमा कति क्षति भयो, अहिले भन्न सक्दिनँ ।’

त्यसलगत्तै राजावदीहरूले केही पर रहेको अन्नपूर्ण मिडियाको कार्यालय रहेको कर्पोरेट टावरमा तोडफोड गरेका थिए । उक्त भवनमा उनीहरूले आगजनी प्रयास गरे पनि प्रहरीले रोकेको थियो ।

त्यससँगै उनीहरूले तीनकुनेमै रहेको कान्तिपुर टेलिभिजनमा समेत तोडफोड गरेका थिए ।

त्यसको केही समयपछि बाटोमा भेटिएका निजी सवारीसाधनमा उनीहरूले तोडफोड र आगजनी गरेका थिए ।

त्यहाँबाट निस्केको भीडले फेरि बालकुमारी पुल नजिकै रहेको भाटभटेनी सुपर स्टोरको कोटेश्वर शाखामा तोडफोड र लुटपाट गरेका थिए ।

उनीहरूले सुपर स्टोर भवनमा अन्धाधुन्द तोडफोड मात्रै गरेनन्, त्यहाँ पार्किङ गरिराखेका सर्वसाधारणका दर्जनजति सवारीसाधनमा पनि तोडफोड गरेका थिए । साथै, सुपर स्टोरभित्र सयौँको संख्यामा हिंसात्मक समूह प्रवेश गरेर लुटपाट मच्चाएको छ ।

भाटभटेनीमा भएको लुटपाट र तोडफोड ।

भाटभटेनी सुपर स्टोरबाट मोबाइल फोन, घडी, महँगा मदिरा, लत्ताकपडा, खाद्यान्न, फलफूल, तरकारी लगायत सामान लुटपाट भएको भाटभटेनी व्यवस्थापनका एक अधिकारीले जानकारी दिए । तोडफोड र लुटपाटबाट कति परिमाणको क्षति भयो भन्ने अहिले भन्न नसकिए पनि त्यो करोडौंको हुन सक्ने उनले बताए ।

शुक्रबार साँझसम्म विध्वंशकारी राजावादी समूहले तीनकुने, कोटेश्वर, बालकुमारी, नरेफाँट लगायत क्षेत्रमा सयौं सवारीसाधनमा आगजनी गरेका छन् ।

जडीबुटी कम्पनीमा भएको आगजनी ।

त्यस्तै जडीबुटीस्थित सरकारी उद्योग जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा समेत आगजनी गरी ध्वस्त बनाएका छन् ।

राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले बताइन् ।

लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई भए पनि निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने अधिकार कसैलाई नभएको नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।

आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ ।

आफूहरूले प्रहरी तथा प्रशासनसँग सुरक्षा माग गर्दा पनि त्यो नपाएको गुनासो भाटभटेनीले पनि गरेको छ ।

यसका साथै, त्यो हिंसात्मक समूहले नेकपा समाजवादीले भाडामा लिएको आलोकनगरस्थित घरमा समेत तोडफोड र आगजनी गरेका छन् । कोटेश्वरस्थित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घरमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।

एकीकृत समाजवादी पार्टी कार्यालयमा भएको आगजनी ।

राजावादी आन्दोलनका नाममा निजी सम्पत्ति, व्यवसाय तथा सवारीसाधनमा भएको तोडफोड र लुटपाटको निजी क्षेत्रले तीव्र आलोचना गरेको छ ।

लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई भए पनि निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्ने अधिकार कसैलाई नभएको नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।

यस्तो अराजकता र तोडफोड मच्चाउनेलाई सरकारले कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

निजी क्षेत्रका अगुवा नै राजावादी आन्दोलनको समर्थनमा

शुक्रबार राजावादीको आन्दोलनलाई समर्थन गर्ने मनसायले केही व्यक्तिले भेला गरी छलफल गरेका थिए र बुधबारै वक्तव्य जारी गरेका थिए । त्यसमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ र भवानी राणा तथा पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्वउपाध्यक्ष किशोर प्रधान, दिनेश श्रेष्ठसमेतको नाम छ।

यो भेलाको संयोजन महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष तथा एभिन्युज टेलिभिजनका अध्यक्ष राजकर्णिकारले गरेका थिए । अध्यक्ष राजकर्णिकारले समर्थन गरेको राजावादी आन्दोलनकारीले तीनकुनेमा घरमा आगजनी गर्दा उनकै एभिन्युज टेलिभिजनकै एक पत्रकारको जिउँदै जलेर मृत्यु भएको छ ।

उक्त भेलामा सहभागीमध्ये एक  महासंघ उपाध्यक्ष राणाले पनि शुक्रबार निजी सम्पत्ति, व्यवसायमा भएको आगजनी, तोडफोड र लुटपाटको आलोचना गरेकी छिन् ।

‘हामी निजी क्षेत्रले कुनै पनि किसिमको अराजकताको समर्थन गर्दैनौं । आन्दोलन शान्तिपूर्ण हुनुपर्छ, सरकारले पनि शान्ति, सुव्यवस्था कायम गर्नुपर्छ,’ उनले भनिन्, ‘शुक्रबार जुन तोडफोड, आगजनी र लुटपाट भयो, त्यसले निजी क्षेत्र त्रसित भएको छ ।’

आन्दोलन गर्ने पक्षले पनि आफ्नो आन्दोलनलाई शान्तिपूर्वक सञ्चालन गर्नुपर्ने, राज्यले पनि कुनै अप्रिय घटना हुन दिन नहुने तथा त्यसबाट अर्थतन्त्र प्रभावित हुन नहुने भन्ने मनसायले एउटा भेलामा आफू गएको उनले बताइन् ।

उक्त भेलामा सहभागी उद्योग वाणिज्य महासंघ पूर्वउपाध्यक्ष किशोर प्रधानले राजावादी आन्दोलनमा आफ्नो समर्थन नरहेको भन्दै शुक्रबार मच्चिएको अराजकताको भर्त्सना गरेका छन् ।

‘त्यस्तो अराजकतावादी कुराको हामी समर्थन गर्न सक्दैनौं, यो राम्रो भएन,’ उनले भने ।

आफू बुधबारको भेलामा गएको भए पनि राजावादी आन्दोलनमा ऐक्यबद्धता नजनाएको बताए ।

‘अर्थतन्त्र बिग्रियो, त्यसबारे छलफल गर्नुपर्‍यो भनेर भाष्करराज राजकर्णिकारले बोलाएर गएको हुँ, एकछिन बसेर फर्कें, तर पछि राजावादी आन्दोलनलाई समर्थन गर्ने भनेर लेखेका रहेछन्, त्यसमा मेरो समर्थन छैन,’ उनले भने ।

उक्त भेलामा सहभागी महासंघ पूर्वउपाध्यक्ष दिनेश श्रेष्ठले पनि बुधबारको भेलामा गएको भए पनि तोडफोड, आगजनी र लुटपाटको समर्थन नगर्ने बताए ।

‘भेलामा उद्योग वाणिज्य महासंघकै तीनजना पूर्वअध्यक्ष हुनुहुन्थ्यो, हामीले निजी क्षेत्रले फेरि पनि पीडित हुनु नपरोस् भनेर भनेका हौं,’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकारको नाम पनि राजावादी आन्दोलनलाई ऐक्यबद्धता गर्नेको सूचीमा छ । तर, उनले पनि शुक्रबारको अराजकता र विध्वंश दुःखद भएको बताए । राजावादी आन्दोलनलाई आफ्नो समर्थन नरहने पनि उनले बताए ।

पूर्वराजा ज्ञानेन्द्र लगायतले बेहोर्नुपर्छ क्षतिपूर्ति, जन्म कैदसम्म हुन सक्छ

शुक्रबार भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनामा सरकारले फौजदारी संहिता अनुरूप कारबाही अघि बढाउन सक्ने देखिएको छ ।

संहिता अनुसार यो कसुर गर्ने तथा गर्न उकास्नेहरू पूर्वराजा ज्ञानेन्द्र शाह लगायतलाई लामो समयसम्म कैद हुनेमात्र नभई सम्पूर्ण क्षतिपूर्ति बेहोर्नुपर्ने देखिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा ७३ मा कसैले कानुन बमोजिम आवश्यक वस्तु मानिने कुनै वस्तु वा सार्वजनिक वा निजी सम्पत्ति हानि, नोक्सानी, तोडफोड वा आगजनी गर्न वा गराउन वा अरू कसैलाई प्रयोग गरी वा आफैंले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्न हुँदैन भन्ने उल्लेख छ ।

कानुनविदहरूका अनुसार यो आन्दोलन पूर्वराजा ज्ञानेन्द्रको उक्साहट र नवराज सुवेदी, दुर्गा प्रसाईं, रविन्द्र मिश्र लगायतको नेतृत्वमा भएको हो । त्यसो हुँदा उक्साउने र आगजनी गर्ने दुवैलाई यो कसुरमा सजाय हुन सक्छ ।

यस्तो कसुरबाट त्यस्तो वस्तु वा सम्पत्तिको हानि, नोक्सानी भइसकेको रहेछ भने त्यसको बिगो बमोजिमको क्षतिपूर्ति समेत क्षति पुर्‍याउनेबाट भराउनुपर्ने व्यवस्था उक्त दफामा छ ।

यस्तो कसुर गर्ने व्यक्ति यकिन भएकोमा सोही व्यक्ति र त्यस्तो व्यक्ति यकिन नभएकोमा त्यस्तो काम गर्न उक्साउने वा आदेश दिने व्यक्तिले कसुर गरेको मानिने पनि सोही दफामा उल्लेख छ ।

यो दफा अनुसारको कसुर गर्ने व्यक्तिलाई क्षतिपूर्ति भराउने मात्रै होइन, कैद हुने व्यवस्था रहेको अधिवक्ता बिष्णु ढकाल बताउँछन् ।

कानुनविदहरूका अनुसार यो आन्दोलन पूर्वराजा ज्ञानेन्द्रको उक्साहट र नवराज सुवेदी, दुर्गा प्रसाईं, रविन्द्र मिश्र लगायतको नेतृत्वमा भएको हो । त्यसो हुँदा उक्साउने र आगजनी गर्ने दुवैलाई यो कसुरमा सजाय हुन सक्छ ।

‘कसुर गर्ने र कसुर गर्न उक्साउने व्यक्तिहरूलाई यो सजाय हुने हो, त्यसो हुँदा पूर्वराजा ज्ञानेन्द्र शाह, आन्दोलनका कमान्डर दुर्गा प्रसाईं लगायतलाई यो सजाय हुन सक्छ,’ अधिवक्ता ढकालले भने ।

शुक्रबार भएको कसुरमा भाग २ को परिच्छेद १ बमोजिमको राज्यविरुद्ध कसुर सम्बन्धी दफा ४९, ५० तथा ५१ पनि आकर्षित हुने देखिने उनी बताउँछन् ।

त्यस्तै परिच्छेद २ अन्तर्गतको दफा ६०, ६४, ६५ र ७३ पनि आकर्षित हुने उनी बताउँछन् । यी दफा अनुसारको कसुरमा जन्म कैदसम्मको सजाय हुने अपराध संहितामा उल्लेख छ ।

नेपाल सरकारले अनुसन्धान गर्दा के खुल्छ, के लगाउँछ, त्यो सरकारमा भर पर्ने अधिवक्ता ढकाल बताउँछन् ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?