+
+
Shares

ज्ञानेन्द्रको उक्साहटमा हिंसात्मक बने राजावादी

राप्रपाजस्ता राजनीतिक शक्तिलाई उपेक्षा गर्दै विवादित व्यवसायी दुर्गा प्रसाईंलाई कमान्डर तोकेर पूर्वराजा ज्ञानेन्द्र शाहले थालेको पुनर्स्थापनाको अभियान पहिलो दिनमै हिंसात्मक र अराजक बन्न पुगेको छ ।

सइन्द्र राई सइन्द्र राई
२०८१ चैत १५ गते २१:०८

१५ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अपिलअनुसार अगाडि बढेको राजावादी गतिविधि हिंसात्मक र अराजक बनेको छ ।

विवादित व्यापारी दुर्गा प्रसाईं कमान्डर बनेर तीनकुनेमा शुक्रबार निस्किएको राजावादी प्रदर्शन हिंसात्मक र अराजक बन्न पुगेको हो । प्रदर्शनकारीको अराजकता र प्रहरीको प्रतिवादका क्रममा शुक्रबार साँझसम्म दुई जनाको मृत्यु भएको छ ।

प्रदर्शनको भिडियो खिच्न बसेको घरमै प्रदर्शनकारीले आगो लगाउँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो । गृह मन्त्रालयका सहसचिव छविराज रिजालका अनुसार प्रदर्शनकै क्रममा कीर्तिपुरका २९ वर्षीय सुविन महर्जनले ज्यान गुमाए ।

प्रहरीको प्रारम्भिक सूचनाअनुसार कम्तीमा २२ जना घाइते भएका छन् । ठूलो संख्यामा भौतिक संरचनामाथि तोडफोड र आगजनी भएका छन् । स्थिति सामान्य अवस्थामा फर्काउन गृह प्रशासनले कोटेश्वर, तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।

मानव अधिकार आयोगले प्रदर्शन हिंसात्मक बनेको निर्णय सार्वजनिक गरेको छ । ‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरुको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन,’ आयोगले भनेको छ, ‘यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारलाई आग्रह गर्दछ ।’

राजतन्त्रको वकालत गर्ने बलियो शक्ति राप्रपाले संस्थागत रुपमा यो प्रदर्शनको जिम्मा लिने देखिँदैन ।

राजतन्त्र फर्काउने घोषणासहित भएको यो प्रदर्शन कसरी अगाडि बढ्छ भन्ने प्रष्ट छैन । यद्यपि, सरकारले दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिने तयारी गरेको छ ।

राजतन्त्रको वकालत गर्ने बलियो शक्ति राप्रपाले संस्थागत रुपमा यो प्रदर्शनको जिम्मा लिने देखिँदैन । पार्टीभित्र फरक मत राख्दै रवीन्द्र मिश्र र धवल शमशेर राणाहरुले दुर्गा प्रसाईंलाई साथ दिए पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन आफैं मैदानमा उत्रने पक्षमा देखिँदैनन् । आजकै प्रदर्शनमा पनि लिङ्देन थिएनन् ।

अनलाइनखबरसँग लिङदेनले राप्रपा हिंसाको पक्षमा नउत्रने प्रष्ट गरे । ‘जसले जे प्रयोजनमा हिंसा गरे पनि राप्रपा त्यसको विपक्षमा छ,’ लिङदेन भन्छन्, ‘सबै प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुपर्छ र आजको घटनाप्रति दुःख व्यक्त गर्दछु ।’

पूर्वराजाको उक्साहट

दुर्गा प्रसाईं कमान्डर बनेर सडकमा उत्रिए पनि यसको खास डिजाइनर पूर्वराजा ज्ञानेन्द्र शाह नै हुन् । उनले गत ६ फागुनमा पोखराबाट भिडियो सन्देश सार्वजनिक गर्दै राजतन्त्र फर्काउन अपिल गरेका थिए । त्यसयताका शृंखलाबद्ध गतिविधिमा कतै उनी प्रत्यक्ष, कतै परोक्ष इशारा गरिरहेका छन् ।

तीनकुने प्रदर्शनले हिंसात्मक रूप लिइरहेको बेला आयोजकका तर्फबाट दुर्गा प्रसाईं, धवल शमशेर जबरा, रवीन्द्र मिश्रहरुले दिएको अभिव्यक्ति र गतिविधिले राजावादीहरुको पूर्वयोजना बमोजिम परिस्थिति निर्माण भएको अनुमानलाई बल पुग्छ ।

ज्ञानेन्द्र शाहको अपिलबमोजिम पूर्वपञ्चहरू, राप्रपा र राजावादी अभियन्ताहरूको गतिविधि चलिरहेको छ । देशका केही भू–भागमा मोटरसाइकल र्याली, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने जस्ता गतिविधि हुँदै राजतन्त्र फर्काउन संयुक्त जनआन्दोलन समिति बनेको छ ।

गत ४ चैतमा पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति बनेको थियो । प्रसाईं नेतृत्वको आजको प्रदर्शनलाई समर्थन जनाएका सुवेदी स्वयं जनप्रदर्शनमा उत्रिएका थिए ।

तर, राजसंस्था पुनर्स्थापना कार्यक्रम शान्तिपूर्ण हुन सकेन । तीनकुनेमा प्रदर्शन सुरू हुनुअघि नै प्रहरीमाथि आक्रमण, त्यसपछि प्रहरीबाट अश्रुग्यास प्रहार, राजावादीहरुबाट सर्वसाधारणका घर र पसलमा तोडफोड, आमसञ्चार माध्यम, राजनीतिक दलहरूको पार्टी कार्यालय र व्यापारिक भवनहरूमा आगजानी हुँदै कर्फ्युतर्फ परिस्थिति अगाडि बढ्यो ।

तीनकुने प्रदर्शनले हिंसात्मक रूप लिइरहेको बेला आयोजकका तर्फबाट दुर्गा प्रसाईं, धवल शमशेर जबरा, रवीन्द्र मिश्रहरुले दिएको अभिव्यक्ति र गतिविधिले राजावादीहरुको पूर्वयोजना बमोजिम परिस्थिति निर्माण भएको अनुमानलाई बल पुग्छ । किनकि, उनीहरु सबैले परिस्थितिलाई भड्काउने र अराजक बन्न समर्थकहरुलाई अपिल गरेका थिए ।

राप्रपाका महामन्त्रीसमेत रहेका धवल शमशेरले प्रहरीको हस्तक्षेपपछि तितरबितर भएको भीडलाई निषेधित क्षेत्र तोड्न उक्साएका थिए । मञ्च पुगेर अरू नेतालाई कार्यक्रममा फर्कन र कार्यकर्ताहरुलाई निषेधित क्षेत्र तोड्न अपिल गरेका थिए ।

राप्रपाका वरिष्ठ नेता मिश्रले सञ्चार माध्यमहरुलाई गैरजिम्मेवार अभिव्यक्ति दिएका थिए । तोडफोड, आगजनी जस्ता हिंसात्मक गतिविधिलाई प्रोत्साहन गर्नेगरी उनले भनेका थिए, ‘२०४६, २०६२/०६३ को प्रदर्शन हेर्नुभएको छ ? कुनै नेताको नियन्त्रणमा थियो ? धनजनको क्षति भएको थिएन ?।’ नेपालमा राजतन्त्र फर्काउनु भारतको हितमा रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका मिश्रले आज समर्थकहरुलाई संयम गुमाउन बल पुर्‍याएका थिए ।

मिश्रले सामाजिक सञ्जालमार्फत त एकदिन अगाडि नै यस्तो हुनसक्ने संकेत गरेका थिए । ‘राजसंस्था पुनर्स्थापित गर्न नवीन समझदारीमा जाने भए जाऊँ, नत्र परिणाम भोगौं । बंगलादेश, सिरिया र श्रीलंकामा के भयो, याद गरौं,’ सामाजिक सञ्जालमा उनले लेखेका थिए । अर्थात् हिंसात्मक बल प्रयोगबाट सत्ता पल्टाउने मिश्रको चेतावनी थियो ।

माओवादी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै एमालेका केन्द्रीय सदस्यसमेत बनेर आमवृत्तमा चिनिएका दुर्गा प्रसाईंले गत वर्ष ७ मंसिरमा पनि यस्तै प्रकृतिको प्रदर्शन गरेका थिए ।

तीनकुनेमा हुने घोषणा कार्यक्रमका निम्ति कमान्डर तोकिएका दुर्गा प्रसाईंको अभिव्यक्ति त सधैं उत्तेजक हुने गरेको छ । मुलुकको नेतृत्व गरिरहेका नेताहरुमाथि ‘बल प्रयोग’, ‘बहिष्कार’, ‘देशबाट लखेट्ने’, व्यापारिक क्षेत्रप्रति आक्रमण, आमसञ्चार माध्यमहरुप्रति अविश्वास र आक्रमण गर्ने जस्ता अभिव्यक्ति दिने गरेका छन् ।

माओवादी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै एमालेका केन्द्रीय सदस्यसमेत बनेर आमवृत्तमा चिनिएका दुर्गा प्रसाईंले गत वर्ष ७ मंसिरमा पनि यस्तै प्रकृतिको प्रदर्शन गरेका थिए । त्यसबेला प्रसाईं नेतृत्वको समूह र एमाले कार्यकर्ता आमने–सामने भएका थिए । एकैदिन एकअर्काविरुद्ध प्रदर्शनको तयारी भएपछि सरकारले अलग–अलग क्षेत्र तोकेको थियो । प्रसाईं समूहलाई बल्खु र एमाले कार्यकर्ताहरुलाई तीनकुने क्षेत्र प्रदर्शनका निम्ति छुट्याइएको थियो ।

सरकारले अपनाएको त्यो शैलीले त्यसबेला काम गरेको थियो । प्रसाईंले भने त्यसबेला पनि राजा फर्काउने निर्णायक प्रदर्शन भनेर मानिस उतारेका थिए । यद्यपि, बल्खुबाट अगाडि बढ्न खोजेको भीडलाई प्रहरीले अश्रु ग्याँस प्रहार गरेर नियन्त्रणमा लिएको थियो । र, प्रसाईंको आन्दोलन त्यसै रोकिएको थियो ।

सडक प्रदर्शन नगरे पनि त्यसयता उनको गतिविधि निरन्तर चल्दै आएको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत राजनीतिक दलका नेताहरू, व्यापारिक संस्थाहरु र आमसञ्चार माध्यमप्रति घृणा फैलाउने कार्य निरन्तर गरिरहेका छन् । सामाजिक सञ्जालको अन्तर्वस्तुकै कारण प्रसाईं हिरासत बस्नु परेको थियो ।

तिनै प्रसाईंलाई अहिले पूर्वराजा ज्ञानेन्द्र शाह, राप्रपा र नवराज सुवेदी सहितका पूर्वपञ्चहरुले साथ दिएका छन् । तीनकुने प्रदर्शन तितरबितर भएपछि पनि ‘आमसञ्चार माध्यमहरुमाथि आक्रमण गर्न र सार्वजनिक सम्पत्ति तोडफोड गर्न’ जस्ता हिंसात्मक आह्वान गरिएको थियो । जसको परिणााम राजधानी अस्तव्यस्त र अशान्त बन्न पुगेको छ ।

यद्यपि, प्रसाईंसहित राप्रपाका नेताहरूले निजी सम्पत्ति आक्रमण नगर्न समर्थकहरुसँग आग्रह गरेका छन् । ‘प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो । कयौं साथीहरु र प्रहरीहरु घाइते हुनुभएको छ । यसप्रति दुःख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, दुर्गा प्रसाईंको अपिल छ ।

‘हिंसा र लुटपाटबाट आन्दोलन हुँदैन । २०६२/०६३ सालमा लाखौं मानिस सडकमा आउँदा पनि लुटपाट भएको थिएन । हिंसा भएको थिएन,’ विश्लेषक सुवेदी भन्छन्, ‘अब केही ठाउँमा प्रदर्शन त होला, तर त्यसले ठूलो अर्थ राख्दैन ।’

प्रदर्शन हिंसात्मक र अराजक बन्नुमा सरकार दोषी रहेको उनीहरूले तर्क गरिरहेका छन् । प्रहरी प्रशासनले दमन गरेकाले परिस्थिति भड्किएको उनीहरुको दाबी छ ।

विश्लेषक झलक सुवेदी पनि आजको घटनामा गृह प्रशासनको कमजोरी देख्छन् । मान्छेको ज्यानै जानेगरी हिंसात्मक गतिविधि हुनसक्ने पूर्वानुमान गृह प्रशासनले गर्न नसकेको उनी बताउँछन् ।

‘दुर्गा प्रसाईंले प्रहरीलाई नै किच्नेगरी गाडी गुडाएर अगाडि बढ्दा उनलाई त्यही पक्राउ गरिनुपर्थ्याे, तर प्रहरीसँग कुनै तयारी रहनेछ,’ सुवेदी भन्छन् । यद्यपि, हिंसात्मक प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र नराम्रोसँग फसेको उनको विश्लेषण छ ।

‘हिंसा र लुटपाटबाट आन्दोलन हुँदैन । २०६२/०६३ सालमा लाखौं मानिस सडकमा आउँदा पनि लुटपाट भएको थिएन । हिंसा भएको थिएन,’ विश्लेषक सुवेदी भन्छन्, ‘अब केही ठाउँमा प्रदर्शन त होला, तर त्यसले ठूलो अर्थ राख्दैन ।’

सरकारले अब पूर्वराजा ज्ञानेन्द्र र उनको नेतृत्वमा चलिरहेको हिंसात्मक गतिविधिको छानबिन राज्यले अगाडि बढाउने भएकाले पनि तत्काललाई राजावादी गतिविधि नियन्त्रणमा आउने उनी बताउँछन् ।

‘ज्ञानेन्द्र आफैंले प्रत्यक्ष अपिल गरेको र मानिसहरु सडकमा आएको हुनाले सारा तोडफोड र हिंसाको जिम्मा उनले लिनुपर्छ । राज्यले दिएको सुरक्षा र सुविधाभित्र बसेर यस्तो कार्य गर्न मिल्दैन र सरकारले खोस्ने निर्णय गर्नुपर्छ’, उनी भन्छन् ।

 

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?