
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले शान्तिपूर्ण प्रदर्शनको नाममा हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन सरकारसँग माग गरेको छ ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
राजावादी समर्थकको हिंसात्मक प्रदर्शनका कारण ज्यान गुमाउनेप्रति गहिरो संवेदना व्यक्त गर्दै कांग्रेसले घाइतेहरूको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारसँग आग्रह गरेको छ ।
‘संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्दछ । तर आज राजधानीको तीनकुने लगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् त्यो अत्यन्तै निन्दनीय छ । व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारीसाधन आदिमा भएको तोडफोड र आगजनीलाई गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
‘नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सम्भव छ । नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं । हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं । नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यहि संविधानको दायरा भित्रैबाट क्रमशः गर्न सकिन्छ । लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । सबै राजनीतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपिल समेत गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4