
१६ चैत, काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई फोन गरेर क्यानडाको सार्वभौमसत्ताको सम्मान गर्ने बताएका जानकारी दिएका छन् ।
दुवै नेताबीच यो पहिलो टेलिफोन संवाद हो । अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडासँग व्यापार युद्ध चलिरहेको बेला त्यहाँका प्रधानमन्त्री कार्नीलाई फोन गरेका हुन् ।
ट्रम्पले यसअघि धेरै पटक क्यानडालाई अमेरिका ५१औं राज्य भन्नेसम्मको टिप्पणी गरेका थिए।
कार्नीले ट्रम्पसँगको फोन वार्तालाई ‘धेरै रचनात्मक’ भनेका छन्। उता ट्रम्पले पनि यो वार्तालाई ‘धेरै उपयोगी’ भनेका छन्।
डोनाल्ड ट्रम्पले आयातित गाडीका पार्ट्समा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन्, जुन क्यानडाको गाडी उद्योगका लागि निकै हानिकारक हुनसक्छ।
क्यानडाका प्रधानमन्त्री कार्यालयका अनुसार, दुवै नेताले क्यानडाको अप्रिल २८ मा घोषणा गरिएको चुनाव सकिनासाथ नयाँ आर्थिक र सुरक्षासम्बन्धी व्यापक वार्ता सुरू गर्ने सहमति व्यक्त गरेका छन्।
टेलिफोन संवादको एक दिनअघि मात्र मार्क कार्नीले क्यानडाको अमेरिकासँग रहेको पुरानो सम्बन्ध सकिएको अभिव्यक्ति दिएका थिए । दुई देशबीच आर्थिक एकीकरण, सुरक्षा र सैनिक सहयोगमा आधारित सम्बन्ध रहँदै आएको छ ।
प्रतिक्रिया 4