+
+
Shares

म्यानमार भूकम्पः एकै भवनमा ९० जनाभन्दा बढी फसेको आशंका, क-कसले सघाउँदैछन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार भूकम्पपछि त्यहाँको प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्ने बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १६ गते १६:३७

१६ चैत, काठमाडौं । मध्य म्यानमारको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने रेडक्रसका एक अधिकारीले शनिबार जानकारी दिएका छन् ।

शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित मान्डलेका भवनमध्ये ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ पनि एक हो ।

उक्त भवनको भग्नावशेषबाट ’नौ जनाको मृत शरीर र ४४ जनालाई जीवितै निकालिएको छ,’ घटनास्थलमा रहेका रेडक्रसका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भने ।

उनले भने, ‘९० जनाभन्दा बढी मानिस भित्र हुन सक्छन् । हामी अझै पनि डाटा सङ्कलन गरिरहेका छौँ । हराएका परिवारका सदस्यहरूको खोजी गरिरहेका  छन् र हामीले सूचना सङ्कलन गरिरहेका छौँ।’

भूकम्पका कारण म्यानमारमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ तर सञ्चार सेवा नराम्ररी अवरुद्ध भएको छ । विपत्तिको वास्तविक परिमाण बाहिर आउन थालेको छ ।

यो दशकौँपछिको देशको सबैभन्दा ठूलो भूकम्प हो जसमा१७ लाखभन्दा बढी जनसङ्ख्या भएको दोस्रो ठूलो सहर मान्डले नराम्ररी प्रभावित भएको छ ।

भूकम्पका कारण स्काई भिल्ला कोन्डोको १२ तल्लामध्ये छ तला मात्र दखिएको छ ।

भूकम्पले सडक तथा पुलहरू भत्काएको कारण भग्नावशेष हटाउनका लागि आवश्यक साधनहरू लिएर प्रभावित क्षेत्रमा पुग्न समस्या भइरहेको छ । स्थानीय स्तरमा उपलब्ध डोजर र स्काईभेटरले विशेषज्ञहरूको सहयोगमा काम गरिरहेका छन् ।

बढ्दै सहायताको आश्वासन

विश्व समुदायबाट भूकम्प प्रभावित क्षेत्रमा आर्थि राहत तथा सहायता र भौतिक सहयोग आउने क्रम जारी रहेको छ ।

भूकम्पका कारण म्यानमारमा हजारौँ व्यक्ति मारिएका हुनसक्ने घटनास्थलमा पुगेका सहयोगी समूहहरूले जानकारी गराएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भूकम्पपछिको ‘ट्रमा इन्जुरी’ सामग्री तयार गर्न दुबईमा रहेको आफ्नो केन्द्रलाई परिचालन गरिरहेको र यसको आपतकालीन व्यवस्थापन प्रतिकार्यलाई गति दिएको जनाएको छ ।

 

प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभास्थित मुख्यालयबाट भूकम्प प्रतिकार्यका लागि समन्वय गरिरहेको जानकारी दिँदै भने, ‘हामी यसलाई ठूलो घटनाका रुपमा हेरिरहेका छौँ।’

त्यस्तै, बेइजिङको आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार ८२ जनाको उद्धार टोली म्यानमार पठाएको जनाएको छ ।

चीनको युनानबाट एउटा छुट्टै उद्धार टोली शनिबार म्यानमारको व्यापारिक केन्द्र याङ्गुन आइपुगेको सीसीटीभीले जनाएको छ ।

चीन सरकारले म्यानमारलाई आपतकालीन मानवीय सहायताका लागि १० करोड युआन (एक करोड ३८ लाख अमेरिकी डलर) पनि उपलब्ध गराउने घोषणा गरेको छ ।

यता, भारतले म्यानमारमा शनिबार एक भारतीय सहायता विमान अवतरण गरेको छ ।

भारतीय विदेशमन्त्री एस. जयशङ्करले सी–१३० सैन्य परिवहन विमानलाई हाइजिन किट, कम्बल, खाद्य पार्सल र अन्य आवश्यक सामग्रीहरू लिएर पठाइएको जानकारी दिए ।

उनले भने, ‘सहयोग लिएर गएको उडानमा खोजी तथा उद्धार टोली र मेडिकल टोली पनि रहेको छ ।’

उनले घटनाक्रमको अनुगमन जारी राख्ने र थप सहयोग पठाइने पनि उल्लेख गरे ।

अमेरिकाले पनि सघाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार भूकम्पपछि त्यहाँको प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग गर्ने बताएका छन् ।

‘यो भयानक प्राकृतिक विपत्ति भएको छ,’ ट्रम्पले ओभल अफिसमा पत्रकारसँग भने, ‘यो वास्तविक एक विनाशकारी विपत्ति हो । हामी मद्दत गर्नेछौँ। हामीले प्रभावित मुलुकसँग कुरा गरिसकेका छौँ ।’

यस्तै, दक्षिण कोरियाको विदेश मन्त्रालयले भूकम्पपछि ‘तत्काल उद्धार र राहत कार्यमा सहयोग गर्न’ २० लाख अमेरिकी डलर मानवीय सहायता पठाउने जनाएको छ ।

‘कोरियाली सरकारले आफ्नो सहयोगले प्रभावित क्षेत्रमा जीवन बचाउन र दुःख कम गर्न मद्दत गर्ने आशा गरेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सियोलले पनि स्थितिको मूल्याङ्कन र प्रभावित मुलुकसँग राय लिई थप सहयोग पठाउन सक्ने बताएको छ ।

इरानको विदेश मन्त्रालयले शनिबार म्यानमार र थाइल्याण्डका जनता र सरकारप्रति तेहरानको समवेदना पठाउँदै मानवीय प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाइद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा ‘राहत र उद्धार प्रक्रियामा सहयोग गर्न इरान तयार रहेको घोषणा’ गरिएको छ ।

मलेसियाको विदेश मन्त्रालयले म्यानमारमा पनि टोली पठाउने जनाएको छ ।

मन्त्रालयका अनुसार एक जना कमाण्डरसहित ४९ जना तालिमप्राप्त उद्धारकर्मीले जारी मानवीय तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउने छन् ।

म्यानमार र थाइल्याण्ड सदस्य रहेको दक्षिणपूर्वी एशियाली समूह आसियान दुवै देशलाई सहयोग गर्न तयार रहेको विदेशमन्त्री मोहम्मद हसनले बताए ।

त्यस्तै, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले म्यानमा र थाइल्याण्डप्रति समवेदना प्रकट गर्दै सहयोगको प्रस्ताव गरेका छन् ।

‘यस कठिन घडीमा हाम्रो विचार र प्रार्थना दुवै देशका जनताको साथमा छ’, उनले लेखेका छन्, ‘इन्डोनेसिया प्रभावित क्षेत्रमा उद्धारप्रयासका लागि आवश्यक सबै सहयोग गर्न तयार छ ।’ एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?