+
एनएसएल २०२५ :

नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र झापा एफसी भिड्दै

२०८१ चैत  १७ गते ८:३९ २०८१ चैत १७ गते ८:३९
नेपाल सुपर लिगमा आज बुटवल लुम्बिनी र झापा एफसी भिड्दै

१७ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

शनिबार सुरु भएको एनएसएलको तेस्रो संस्करणमा ७ टोली सहभागी छन् । लिग चरणमा ६ खेल मात्र हुने भएकोले दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

एनएसएलमा गत संस्करण डेब्यु गरेको झापाले बुटवल लुम्बिनीलाई १-० ले हराएको थियो ।

बुटवल लुम्बिनीको कप्तानी मिडफिल्डर एरिक विष्टले गर्नेछन् । राष्ट्रिय टिमका अर्का मिडफिल्डर मनिष डाँगी बुटवलको मार्की प्लेअरमा छन् । उता राष्ट्रिय टिमकै मिडफिल्डर लकेन लिम्बु झापाको मार्की प्लेअर र कप्तानमा छन् । यस पटक लकेन सामु धेरै जिम्मेवारी छ ।

बुटवल लुम्बिनीमा मनिष र एरिकसँगै राष्ट्रिय टिमाका गोलकिपर दीप कार्की, सुमन श्रेष्ठ र विमल पाण्डे छन् । यस्तै राष्ट्रिय टिमबाट खेलेका युवा फरवार्ड निराजन धामी र राष्ट्रिय टिममा परेका अर्का गोलकिपर टिकेन्द्र थापा पनि यसै टिममा छन् ।

बुटवलमा राष्ट्रिय टिमको अनुभव लिएका आधा दर्जन खेलाडी छन् । यस्तै विदेशी खेलाडीहरमा पनि बुटवल लुम्बिनीमा राम्रो नामहरु छ । बुटवल लुम्बिनी यस सिजन विदेशी गोलकिपर अनुबन्ध नगर्ने एक्लो टोलीको रुपमा रहेको छ ।

बुटवल लुम्बिनीले विदेशी खेलाडीमा इंग्ल्याण्डका डिफेण्डरद्वय एडम मिटर र नाथन माभिला, जापानका मिडफिल्डर केन्टा होरा र स्कटिस मिडफिल्डर फ्रांक रोस, नाइजेरियन फरवार्ड इजेकेल तामारा र घानाका फरवार्ड फिलिपि अजालाई अनुबन्ध गरेको छ ।

उता झापा एफसीमा लकेनसँगै राष्ट्रिय टिमबाट खेल्ने डिफेण्डर छिरिङ लामा पनि छन् । झापाले यस पटक छिरिङलाई मात्र रिटेन गरेको थियो । यस्तै झापाले अक्सनमा लिएर गोलकिपर एन्जल श्रेष्ठ भर्खरै राष्ट्रिय टिममा परेका छन् । उनले डेब्यु गर्न बाँकी छ । गत वर्ष एन्जलले काठमाडौं रेजर्सबाट एनएसएल खेलेको थियो ।

यस बाहेक राष्ट्रिय टिमको अनुभव भएका डिफेण्डर आशिष गुरुङ पनि झापामा छन् । झापाबाटै खेलेका उज्वल राई पनि यस पटक झापामा छन् ।

झापाले नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरिसकेका र हाल अष्ट्रेलियामा रहेका मिडफिल्डर ऋतिक खड्कालाई पनि अनुबन्ध गरेको छ । झापाले अमेरिकामा खेल्ने भुटनिज खेलाडी प्रविन बस्नेतलाई पनि अनुबन्ध गरेको छ र हङकङमा खेल्दै आएका नेपाली मिडफिल्डर आर्यन राईलाई पनि भित्र्याएको छ ।

यस बाहेक विदेशी खेलाडीले झापाले उज्वेकिस्तानका अजामात अब्दुलेभ र मुहम्मद इसाएभ, नाइजेरियाका फरवार्ड अल्हाजी गेरो, सर्वियन फरवार्ड लाजार अर्सिक र मोन्टेनेग्रोका किपर नेमान्जा लेमासिकलाई अनुबन्ध गरेको छ ।

बुटवल लुम्बिनी स्क्वाड
गोलकिपर : दिप कार्की, टिकेन्द्र थापा
डिफेण्डर : सरोज तामाङ, विमल पाण्डे, सन्दीप कार्की, सुमन श्रेष्ठ, निङसाङ लिम्बु, खेमराज श्रेष्ठ, नाथन माभिला*, एडम मिट्टर*
मिडफिल्डर : मनिष डाँगी, एरिक विष्ट, प्रदिप लामा, फत्तेमान घले, फ्रांक रोस*, केन्टा होरा*
फरवार्ड : निराजन धामी, मनिष सेढाई‌, इजेकेल तामारा*, फिलिपि अजा*
झापा एफसी स्क्वाड
गोलकिपर : अन्जल श्रेष्ठ, नेमान्जा लेमाजिक*
डिफेण्डर : छिरिङ लामा, आशिष गुरुङ, दिपेश धिमाल, दिपेन्द्र विक, अजामात अब्दुलेभ*, सृजन दानी,
मिडफिल्डर : लकेन लिम्बु, रोशन पहारी, अभिनाश स्याङ्गतान, आरोन थापा, मुहम्मद इसाएभ*, आर्यन राई (रुकी प्लेअर), श्याम मुर्मु, ऋतिक खड्का (एनआरएन), सौरभ सुब्बा
फरवार्ड : उज्वल राई, प्रविन बस्नेन*, लाजार अर्सिक*, अल्हाजी गेरो*
नेपाल सुपर लिग २०२५

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय