+
+
Shares
उदीयमान उद्यम :

बच्चाको ब्रान्ड ‘कोक्रोमा’ : २ लाखमा खुल्‍यो, करोडौंको व्यापार

रेवतीले केही दिनमा कोक्रो र लुगासहित प्याकेज तयार गरिन् । सबै तयारी पूरा भइसकेपछि सबै सामान राखेको कोक्रो नियाल्दा उनको दिमागमा झट्ट नाम फुर्‍यो– ‘कोक्रोमा’ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८१ चैत १७ गते २०:२०

१७ चैत, काठमाडौं । उनले सायद सोचेकी थिइनन्– कुनै दिन यो एउटा ‘ब्रान्ड’ बन्छ भनेर । अनि, सोचेकी पनि थिइनन्– २ लाखमा सुरु गरिएको व्यवसायले करोडौंको कारोबार गर्छ भनेर ।

तर, नसोचे पनि आफूले सुरु गरेको सानोतिनो व्यवसायलाई उचाइमा पुर्‍याउनुपर्छ भन्ने सोच चाहिँ उनमा थियो ।

अनि, सोच अनुसार उनले मिहिनेत, चुनौती र संघर्षको त्रिपक्षीय संगमलाई पनि सँगसँगै लगिन् । अहिले जुन मुकाम भेटेकी छिन्, त्यसबाट अझै हौसिएकी पनि छिन् ।

स्थानीय बजारमा मात्र बेचबिखन गर्ने भनेर सुरु गरेको व्यवसायले अहिले अन्तर्राष्ट्रिय पहिचान पनि पाउन थालेको छ । उनले उत्पादन गर्ने यस्ता सामान अमेरिका, अस्ट्रेलियादेखि ताइवान लगायत देशमा पनि पुग्छ ।

पाँच वर्षअघि रेवतीले सुरु गरेको स्टार्टअप बिजनेस हो– कोक्रोमा । कोक्रो भन्नासाथ अधिकांशले झोलुंगो भन्ने बुझ्छन् । सुरुवाती दिनमा उनले कोक्रो बनाएर राखेको ‘कोक्रोमा’ ले अहिले भने कोक्रोे बनाउँदैन ।

यतिको सफलता पाएपछि रेवती गुरुङ नहौसिने कुरा पनि भएन । मिहिनेत, संघर्ष र चुनौतीले दिएको सफलतालाई अझै उचाइमा पुर्‍याउने रेवतीको लक्ष्य जारी छ ।

‘मलाई अहिले यसो पुराना दिन सम्झिँदा यहाँसम्म आइपुग्छु भन्ने लागेकै थिएन,’ रेवती खुसी साट्छिन्, ‘तर, मिहिनेत र संघर्षमा खरो उत्रिन सकेका कारण यो सफलता हात लागेको हो भन्ने मेरो बुझाइ हो ।’

पाँच वर्षअघि रेवतीले सुरु गरेको स्टार्टअप बिजनेस हो– कोक्रोमा । कोक्रो भन्नासाथ अधिकांशले झोलुंगो भन्ने बुझ्छन् । सुरुवाती दिनमा उनले कोक्रो बनाएर राखेको ‘कोक्रोमा’ ले अहिले भने कोक्रोे बनाउँदैन ।

यसले त अहिले साना नानीबाबुलाई न्यानो बनाउन चाहिने दौरासुरुवाल, पजामा (टिसर्ट–सुरुवाल), टोपी, पन्जा, मोजा र यस्तै अन्य आवश्यक सामग्री अनि तोरीको सिरानी पनि बनाएर बेच्छ ।

     रेवतीको जीवनका उतारचढाव

रेवती सिन्धुली दुधौलीमा जन्मिई हुर्किन् । त्यहीँ स्कुले पढाइ सकिन् । उच्च शिक्षा लिन धरान झरिन्, स्नातक सकिन् । अनि, स्नातकोत्तर गर्न काठमाडौं पसिन् । पद्मकन्या क्यामपसबाट अंग्रेजी भाषा र विकास अनुसन्धानमा स्नातकोत्तर गरिन् ।

उनले जीवनमा थुप्रै आरोह–अवरोह पार गरिन् । एकल आमा उनको १४ वर्षका छोरा छन् । श्रीमान्सँग अलग भएको ४ वर्ष भयो ।

रेवती आफूलाई एकदमै सुस्त गतिमा अगाडि बढेको मान्छे भन्न रुचाउँछिन् । ‘योङ एजमा मान्छे कति स्मार्ट हुन्छन्, आफ्नो जीवनबारे सोच्छन्,’ उनी भन्छिन् ‘म एसएलसी पास गर्ने बेलासम्म पनि ठूलो भएपछि यही बन्छु भनेर मनमा आउँदैनथ्यो ।’

उनलाई उद्यमी बन्छु भन्ने त झन कहिल्यै पनि दिमागमा आएको थिएन । ‘मैले आफ्नो ४२ वर्षको जीवन यात्रामा यति धेरै हन्डर खाएँ कि त्यसले नै मलाई उद्यमी बनाएको हो,’ उनी सुनाउँछिन्, ‘मलाई म उद्यमी भएँ भन्ने पनि भर्खर थाहा हुँदैछ ।’

रेवतीलाई सानैदेखि पढ्नुपर्छ भन्ने चाहिँ लागिरहन्थ्यो । एसएलसी पास गरिसकेपछि उनलाई के गर्ने भन्ने भयो । गाउँमा आमाबाबु थप पढाउन सक्दैनथे । उनका काका धरानमा बस्थे । एसएलसीपछिको पढाइका लागि उनले भारतीय सेनामा कार्यरत काकालाई सहमत गराइन् ।

‘मैले काकालाई धरान आउँछु, भाइहरू हेर्छु, काकीलाई सघाउँछु र पढ्छु पनि भनेँ,’ उनले सुनाइन्, ‘काकालाई पनि छोरीले पढ्छे भन्ने लागेर हुन्छ भन्नुभयो ।’

पढाइमा एकदमै राम्रो विद्यार्थी नभए पनि उनमा छिटो सिक्ने कला भने थियो । ‘म सानै हुँदा मलाई आमाले काम गर्नुपर्छ भन्नुहुन्थ्यो,’ उनी बाल्यकाल स्मरण गर्छिन्, ‘बारीमा टमाटर फलेको हुन्थ्यो, आमाले बजार लगेर बेच भन्दा म एकदमै लजाउँथे, मलाइ त जागिर खानुपर्छ भन्ने लाग्थ्यो, लजाउने मान्छे अहिले उद्यमी बनेँ ।’

३ दिदीबहिनीमध्ये कान्छी रेवतीले मात्रै पढ्न पाइन् । उनका दिदीहरू भने बेलैमा बिहे गरेर घरबारे भए ।

स्नातक सकेपछि रेवतीको पनि बिहे भयो । बिहे हुँदा रेवती २२ वर्षकी थिइन् । बिहेपछि उनी काठमाडौं आइन् । अहिले उनलाई आफ्नो विवाहबारे खासै सम्झन मन लाग्दैन ।

काठमाडौं आइसकेपछि रेवतीका दिन कष्टप्रद रहे । श्रीमानसँगै काठमाडौं आएकी रेवतीलाई अझै पढ्न मन भयो । काठमाडौंमा मास्टर्स (स्नातकोत्तर) पास गर्ने उनको इच्छा थियो, तर श्रीमान्ले ‘अब योभन्दा बढी पढ्नु पर्दैन र पढेर केही हुँदैन’ भने ।

‘श्रीमान्ले वेटर काम सिकेर साउदी गएर पैसा कमाउनुपर्छ भने,’ उनी ती दिन सुनाउँछिन्, ‘मैले ट्रेनिङ पनि लिएँ र एभरेस्ट होटलमा जागिर पनि पाएँ । जागिर पाएको सुरुकै दिनमा मलाई लाग्यो यो काम मेरा लागि बनेको होइन ।’

त्यसबेला उनलाई फिलोसोफी, लिटरेचरमा इन्ट्रेस्ट थियो । उनलाई प्रोफेसर बन्छु भन्ने लाग्थ्यो ।

उनलाई अब कसरी मास्टर्स पढ्ने भन्ने चिन्ताले सताउन थाल्यो । उनका श्रीमान विदेश गइसकेका थिए । अब रेवतीको एकमात्र चिन्ता मलाइ कसले पढाउँछ, कहाँ बस्ने भन्ने थियो । घरबाट उनले कुनै सहयोग पाइनन् । मास्टर्स ज्वाइन गर्न दुई महिना ढिला भइसकेको थियो । पछि उनले म्याद सकिएपछि पनि भर्ना भएर पढ्न पाइन्छ भन्ने थाहा पाएपछि पद्मकन्यामा भर्ना भइन् ।

भर्ना त भइन्, अब कहाँ बसेर पढ्ने भन्ने भयो । उनले कलेजको होस्टलमा बस्ने निर्णय गरिन् । तर, विवाहित महिला त्यहाँको होस्टलमा बस्न पाउँदैनथे । रेवती भने आफूलाई अविवाहित भनेर त्यहाँ बसेर पढाइ पूरा गरिन् । ‘मैले लुकाएको कुरा कलेजलाई थाहा भएको भए म सिधै रेस्टिकेट हुन्थेँ,’ संघर्षका दिन सम्झँदै उनले सुनाइन् ।

स्नातकोत्तर गरेपछिको जीवन

मास्टर्स सकेपछि रेवतीले विभिन्न संस्थामा जागिर खाइन् । सन् २०१४ मा उनी निकै तनावपूर्ण अवस्थामा पुगिन् । त्यतिबेला उनलाई आफूले गरेको कामले आफैंलाई असन्तुष्ट बनायो ।

‘मलाई मैले गरिरहेका कामको असर कहाँ छ त भन्ने लाग्यो,’ उनले सुनाइन्, ‘म खुसी नै हुन नसक्ने अवस्थामा पुगेँ, मलाई बाँच्नै मन लाग्न छाडेको थियो । म यस्तो अवस्थामा पुगेँ कि कुनै कुराको दुःख, खुसी, पीडा केही पनि हुँदैनथ्यो ।’

त्यसपछि उनी जागिर छाडेर जीवनमा केही अर्थपूर्ण काम गर्नुपर्छ भनेर लागिपरिन् । त्यसपछि जागिर छाडेर एक वर्ष घरमै बसिन् ।

२०७२ सालको भूकम्पपछि उनको जीवन परिवर्तन हुन पुग्यो । भूकम्पपछि उनले अब धेरै समय छैन, जीवनमा केही परिवर्तन ल्याउनैपर्छ भनेर सोच्न थालिन् ।

भूकम्पपछि रेवती ‘लैंगिक, सांस्कृतिक र राजनीतिक’ विषय अध्ययनका लागि युरोपको फिनल्यान्ड पुगिन् । त्यसै क्रममा उनले फिनल्यान्डको एक परियोजना ‘फिनिस बेबी बक्स’ बारे जान्ने अवसर पाइन् । त्यसमा भर्खरै सुत्केरी भएका आमाहरूलाई नवजात शिशु सुताउन कार्डबोर्डको एउटा बाकस र बच्चाका लागि केही जोर लुगा दिइने रहेछ । नवजात शिशुलाई दिइएको त्यो बेबी बक्सले रेवतीको मन असाध्यै तान्यो ।

त्यस विषयमा धेरै कुरा जान्ने बुझ्ने मौका नै नपाउँदै रेवती आफ्नो छोटो समयको पढाइ पूरा गरेर नेपाल फर्किइन् ।

अनि, सुरु भयो ‘कोक्रोमा’

स्वदेश फर्किएपछि उनी आफ्नै काममा व्यस्त हुन थालिन् ।

उनी एक वृत्तचित्र (डकुमेन्ट्री) निर्माण कार्यशालामा सहभागी भइन् । यसपछि फेरि गरिबी निवारण कोष र विश्व बैंकको एक परियोजनामा जोडिन पुगिन् ।

‘त्यहाँ मेरो काम भनेको महिला उद्यमीसँग कुरा गरेर उनीहरूको व्यावसायिक स्टोरी तयार गर्ने थियो,’ उनले सुनाइन्, ‘मैले बनाएको पहिलो डकुमेन्ट्री राम्रो भयो । त्यसपछि देशका विभिन्न जिल्ला पुगेर मैले महिला उद्यमी र उनीहरूका उत्पादनबारे थप डकुमेन्ट्री बनाएँ ।’

त्यो प्रोजेक्टका लागि रेवतीले एक वर्षमा हस्तकलाका ८ वटा डकुमेन्ट्री बनाउनुपर्ने थियो । परियोजनाको काम सकिएपछि अलि फुर्सदिली भइन् । अब चाहिँ आफ्नो व्यवसाय सुरु गर्ने समय आयो भन्ने रेवतीलाई लाग्यो ।

त्यसपछि उनले आफू उद्यमी त बन्ने तर उत्पादन चाहिँ के गर्ने होला भनेर सोच्न थालिन् ।

सोच्दै गर्दा उनको स्मृतिमा झट्ट आयोे फिनल्यान्डमा देखेको ‘बेबी बक्स’ । रेवतीले सोही बेबी बक्सलाई स्वदेशी हस्तकलासँग जोड्ने योजना बनाइन् ।

‘एमए पढेको मान्छेले कोक्रो बुनेर, भोटो सिलाएर बस्ने ? भन्ने सुनेपछि मैले कसैलाई केही सुनाइनँ,’ उनी सम्झिन्छिन्, ‘मसँग केही गर्छु भन्ने आत्मशक्ति जागेका बेला गरिछाड्छु भन्ने संकल्प लिएँ ।’

‘नवजात शिशुका लागि त कोक्रो आवश्यक वस्तु हो, कोक्रोसँगै स्वदेशी कपडाको न्यानो लुगा बनाएर सेट तयार गर्छु र त्यसलाई बेच्छु भन्ने मेरो योजना भयो,’ उनले सुनाइन्, ‘कोक्रो बनाउन सामान कसरी जुटाउने ? कसले बनाउँछ ? लुगा बनाउने स्वदेशी कपडा कहाँबाट ल्याउन भन्ने विषयले भने मलाइ पिरोल्यो ।’

त्यसपछि रेवतीले कसैको साथ मिलिहाल्छ कि भनेर आफ्नो योजना साथीभाइ र परिवारलाई सुनाइन् । योजना सुने तर रेवतीलाई सहयोग गर्न भने कोही तयार भएनन् ।

‘एमए पढेको मान्छेले कोक्रो बुनेर, भोटो सिलाएर बस्ने ? भन्ने सुनेपछि मैले कसैलाई केही सुनाइनँ,’ उनी सम्झिन्छिन्, ‘मसँग केही गर्छु भन्ने आत्मशक्ति जागेका बेला गरिछाड्छु भन्ने संकल्प लिएँ ।’

रेवतीको मनसपटलमा फिनल्यान्डमा देखेको बेबी बक्स मात्रै घुमिरह्यो । उनले सुरुमा त्यस्तै बनाउने कोसिस गरिन् । बनाइसकेपछि आफ्नै चित्त बुझेन ।

त्यसपछि उनले नेपाली संस्कृति सम्झन थालिन् । दिमागमा कोक्रो आयो । अनि, कोक्रो बनाएर त्यसैमा शिशुका पूरै लुगा सेट नै राखेर प्याकेज बनाएर बेच्ने आइडिया फुराइन् ।

रेवतीले कोक्रो बनाएर तोरीको सिरानी, टोपी, भोटो, दौरासुरुवाल, पन्जा, पजामा लगायत राख्ने विचार गरिन् ।

रेवतीले केही दिनमा कोक्रो र लुगासहित प्याकेज तयार गरिन् । सबै तयारी पूरा भइसकेपछि सबै सामान राखेको कोक्रो नियाल्दा उनको दिमागमा झट्ट नाम फुर्‍यो– ‘कोक्रोमा’ ।

उनले सुरुमा कोक्रोसहित २० वटा सेट बनाइन्, जसको मूल्य ३५ हजार रुपैयाँ राखिन् । त्यस्तो सेटमा कोक्रो, भोटो, दौरासुरुवाल, पन्जा, मोजा, सिरानी, किताब लगायत थियो । तर, बिकेन ।

‘सामान धेरैले मन पराए तर महँगो ठानेर कसैले किनेनन्,’ उनले सुनाइन ‘मैले सोचेकी थिएँ, सामान उत्पादन गर्छु, बेच्छु अनि महिलाहरूलाई काममा लगाउँछु । तर, परिणाम त उल्टो पो निस्कियो । फेरि, म त डिप्रेसनमै पुगेँ ।’

त्यसपछि रेवतीको दिमागमा अर्को आइडिया आयो– त्यही सामान फुटाएर बेच्ने ।

उनी त्यही फुटाएको सामान झोलामा बोकेर साथीभाइ र आफन्तकहाँ पुग्न थालिन् । रेवतीकी नाता पर्ने भाउजु गर्भवती थिइन् । तिनै भाउजुलाई भेट्न पुगिन् रेवती । भाउजुलाई आफ्नो व्यवसायबारे भनेपछि उनले थोरै सामान किनिदिइन् ।

उनको बिक्री भएको त्यो पहिलो सामान थियो । उनलाई केही खुसी र केही दुःख लागिरहेको थियो । किनभने, उनीसँग भएको सबै पैसा त्यही व्यवसायमा लगाएर सकिएको थियो ।

‘ती भाउजुलाई मैले ३ हजार रुपैयाँको सामान बेचेँ,’ उनी सम्झिन्छिन्, ‘त्यो दिन त अलिकति खुसी महसुस भयो, त्यही पैसाले कफी खानुपर्‍यो भनेर काठमाडौंको बौद्ध स्तुपा नजिकैको एउटा क्याफेमा गएँ । म कफी मगाएर कुर्सीमा बसेकी थिएँ, म एक्लै बसेको हुनाले एक जना विदेशी महिला पनि आएर त्यही टेबुलमा बसिन् ।’

आफन्तले पत्याएनन्, विदेशी महिलाले गरिन् सहयोग

रेवतीलाई चिन्तित देखेर ती विदेशी महिलाले सोधिन्, ‘के भयो ?’

रेवतीलाई सुरुमा त आफ्नाले साथ नदिएका बेला यो अर्काको देशबाट आएको मान्छेलाई आफ्नो समस्या के सुनाउने भन्ने पनि लाग्यो । फेरि उनले सोचिन्, ‘यतिका दुःख सुनिदिने मान्छे पाउँदा किन नसुनाउँ ?’

आफ्नो देश फर्किन लागेकी ती विदेशी महिलालाई रेवतीले आफ्नो कहानी सुनाउन लागिन् ।

उनलाई पनि हतार भएको हुँदा १० मिनेट मात्रै कुराकानी गर्न पाइन् रेवतीले । ‘ती विदेशी महिलाले आफ्नो प्लेन छुट्न लाग्यो भनेर न्यापकिनमा आफ्नो इमेल ठेगाना लेखेर दिइन्,’ रेवतीले सुनाइन्, ‘तिम्रो व्यवसायबारे यही इमेलमा लेख्नू है भनिन् र उनी आफ्नो बाटो लागिन् ।’

यति भनेर ती महिला गएपछि रेवतीले सोचिन्, ‘आफ्नाबाट नपाएको साथ सहयोग समुद्र पारिबाट आएको, कुनै साइनो नभएको मान्छेबाट के पाउँला ?’

‘मैले मनमा संकोच राख्दै केही दिनपछि इमेलमा आफ्नो र व्यवसायबारे सम्पूर्ण कुरा लेखेर ती महिलालाई पठाएँ,’ रेवती भन्छिन्, ‘परिस्थिति त मैले सोचेको भन्दा विपरीत पो भयो । मेरो इमेलको प्रतिक्रिया ती महिलाले पठाइन् । उनले मलाई तीन किस्ता गरेर १५ हजार डलर दिने वाचा गरिन् । म त अवाक भएँ ।’

ती महिलाले रेवतीलाई ३ वर्षमा आत्मनिर्भर बन्नुपर्छ भनेकी थिइन् । पहिलो किस्तामा ती महिलाले रेवतीलाई ५ हजार अमेरिकी डलर पठाइन् । कुनै अपरिचित विदेशीले १० मिनेटको भेटमा यति ठूलो सहयोग गर्दा रेवतीको हृदय भरिएर आयो ।

‘आफ्नाको साथ सहयोग नपाएकी म एक अपरिचितले यति धेरै विश्वास गर्दा मेरो त खुसीको सीमा रहेन,’ उनले सुनाइन्, ‘त्यो पैसाले लुगा सिलाउने दुइटा मेसिन, कटिङ टेबल र अन्य आवश्यक पर्ने सामान किनेँ ।’

रेवतीले सुरुमा काम गर्न २ जना कामदार राखिन् । जति सक्दो काममा उनी आफैं खटिन्थिन् । ‘दिनमा १८ घण्टा त म आफैं काममा खटिन्थेँ,’ उनी सुनाउँछिन्, ‘२ जनालाई तलब दिन म फेरि डकुमेन्ट्री बनाउन थालेँ । उनीहरूले सामान तयार पारेपछि म पसल–पसल पुर्‍याउन जान्थेँ ।’

उनी र उनका दुई सहकर्मीको मिहिनेतले फल दिन थाल्यो । रेवतीको व्यवसायले गति लिन थाल्यो । उनले पहिलो एक महिनामा ४० हजार रुपैयाँको लुगा बिक्री गरिन् । दोस्रो महिनाको कारोबार दोब्बर भएर आयो । दोस्रो महिना ८० हजारको कपडा बेचिन् ।

त्यसपछिको कारोबार लाखौंमा हुन थाल्यो । सामान सबैले मन पराउन थाले । ९ महिनापछि फेसबुक पेज बनाएर उनले लुगाको विज्ञापन पनि गरिन् ।

‘महिनाको बिक्री २ लाख पुग्न लागेका बेला कोरोना महामारी फैलियो,’ उनी सुनाउँछिन्, ‘तै पनि मैले हिम्मत हारिनँ, कोरोनामा आयात बन्द भएका बेला मेरो उत्पादनले खुबै बजार पायो । एक हिसाबले मेरो व्यवसायलाई फाइदा नै पुग्यो ।’

यसरी नै उतारचढाव झेल्दै उनले हिम्मत नहारी व्यवसाय अगाडि बढाउँदै लगिन् । कारोबार बढ्दै जाँदा उनको त्यो व्यवसाय वार्षिक करोडौं रुपैयाँको भइसकेको छ ।

घरको कोठामा सुरु भएको कोक्रोमाले हाल बौद्धको व्यावसायिक क्षेत्रमा शोरुम राखेको छ । अर्को शोरुम सानेपामा छ । लुगा सिउने कारखाना जोरपाटीमा छ । उनले मेडिसिटी हस्पिटलभित्र पनि कपडा बेच्छिन् । अनलाइन प्लेटफर्म दराजबाट पनि कोक्रोमाको उत्पादन किन्न पाइन्छ । उनका उत्पादन झम्सिखेल, दरबारमार्ग लगायत पसलमा पनि बिक्री हुन्छन् । उनी अहिले अनलाइनमै फोकस भएको बताउँछिन् ।

व्यवसाय विस्तार गर्दै रेवती

अब रेवती यो व्यवसाय अझै बढाउने योजनामा छिन् । अहिले उनको कम्पनीमा १८ महिला कामदार छन् । अबको ५ वर्षमा ४० महिलालाई काम दिने लक्ष्य लिएर मिहिनेत गरिरहेको उनी सुनाउँछिन् ।

‘मेरो उद्देश्य भनेको धेरै पढलेख गर्न नजान्ने महिलालाई सिप सिकाएर उनीहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने हो,’ उनी भन्छिन्, ‘उनीहरू सक्षम भए भने अरू चार जनाका लागि रोजगारी सिर्जना गर्न सक्छन् ।’

कोक्रोमाले मासिक २० देखि २५ लाख बराबरको कपडा उत्पादन गर्ने रेवती बताउँछिन् । बिक्री पनि त्यही हिसाबले हुन्छ । कोक्रोमाले सुरुमा दुई वर्षसम्मका बच्चालाई लक्षित गरी कपडा उत्पादन गथ्र्यो । तर, अहिले भने १३ वर्षसम्मका छोराछोरीका लागि लुगा उत्पादन गर्छ ।

देशमा निर्यातभन्दा आयात बढी हुने हुँदा रेवतीको फोकस स्वदेशमा धेरैभन्दा धेरै उत्पादन गरेर विदेश निर्यात गर्ने हो । सकेसम्म आफ्नो व्यवसायमा पनि स्वदेशी कच्चापदार्थ प्रयोग गर्ने उनी बताउँछिन् ।

रेवती आफैंले उत्पादन गरेर उपभोक्तालाई गुणस्तरीय सामान दिन पाउँदा सन्तुष्ट छिन् ।

‘हाम्रोमा उत्पादन भएका सामान गुणस्तरकै कारण धेरैले मन पराउनुभएको छ,’ उनी भन्छिन्, ‘म अझै उपभोक्तालाई सन्तुष्ट बनाउन लागिपर्छु ।’

अन्तर्राष्ट्रिय बजार पुग्यो कोक्रोमा

कोक्रोमाका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पनि जाने गरेको छ । ताइवान, नेदरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, जापान, स्विजरल्यान्ड, बेल्जियम र भारतबाट बच्चाको कपडा अर्डर आउने गरेको रेवतीले बताउँछिन् । अहिले अमेरिकाका दुई ठाउँमा पनि कोक्रोेमाको होलसेल पसल सुरु भएको छ । जर्मनीमा पनि सुरु हुँदैछ ।

कोक्रोमाले मासिक २० देखि २५ लाख बराबरको कपडा उत्पादन गर्ने रेवती बताउँछिन् । बिक्री पनि त्यही हिसाबले हुन्छ । कोक्रोमाले सुरुमा दुई वर्षसम्मका बच्चालाई लक्षित गरी कपडा उत्पादन गथ्र्यो । तर, अहिले भने १३ वर्षसम्मका छोराछोरीका लागि लुगा उत्पादन गर्छ ।

रेवतीलाई ५ वर्षमै यति सफल हुन्छु भन्ने लागेको थिएन । ‘मैले यो व्यवसायका लागि जुन जोखिम लिएँ त्यही अनुसारको प्रतिफल पाएको महसुस हुन्छ,’ उनी खुसीसाथ सुनाउँछिन्, ‘सुरुका तीन पर्ष त मैले एकदमै दुःख भोगेकी हुँ ।’

अहिले रेवतीलाई बच्चासँगै आमाको कपडाको पनि अर्डर आउँछ । तर, रेवतीलाई बच्चाकै माग धान्न भ्याइनभ्याइ छ । ‘म बच्चाको लुगामै फोकस हुन्छु,’ उनी भन्छिन्, ‘एउटामै राम्रोसँग गर्ने हो, धेरैतिर हात हाल्न थाल्यो भने डुबिन्छ ।’

रेवतीको अबको उद्देश्य भनेको यसलाई स्टार्टअपमा मात्रै सीमित नराखेर ठूलो व्यवसायमा परिणत गर्ने र धेरै महिला दिदीबहिनीलाई रोजगारी प्रदान गर्ने हो ।

‘हामी समय परिस्थिति अनुसार परिवर्तन हुन सक्नुपर्छ,’ उनी भन्छिन्, ‘समयलाई बुझियो र अपरचुनिटी ग्र्याब गरियो भने असम्भव केही छैन ।’

तस्वीरहरू : चन्द्रबहादुर आले 

उदीयमान उद्यम
लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?