+
+
Shares

प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न राष्ट्रसंघसँग नेपालको आग्रह

पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले नेपाल–संयुक्त राष्ट्रसंघीय पर्यटनसँगको सम्बन्धलाई थप सशक्त बनाउन नेपालले अब राष्ट्रसंघ पर्यटनसँग अझ घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १४:३५

१७ चैत, काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघसँग प्रविधि र दिगो पर्यटनमा सहयोग गर्न आग्रह गरेको छ ।

नेपालका पर्यटन गन्तव्य प्रवर्द्धन कार्यक्रम अन्तर्गत युरोप यात्रामा रहेको नेपाल पर्यटन बोर्डको टोलीले स्पेनको म्याड्रिडमा संयुक्त राष्ट्रसंघीय पर्यटन अधिकारीसँगको छलफलमा दिगो पर्यटनका लागि सहयोगको आग्रह गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको नेतृत्वमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघ पर्यटन मुख्यालयमा भएको छलफलमा विगतमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै प्रविधि, डिजिटल इनोभेसन र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यका लागि आग्रह गरेको हो ।

सचिव सिंहले नेपाल पर्यटन रणनीतिक योजना (२०१६–२०२५) र आईटीबी बर्लिन मन्त्रीस्तरीय बैठक २०२५ मा नेपालको सहभागिता स्मरण गरे ।

उनले नेपालमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई), डिजिटल इनोभेसन र दिगो पर्यटन विकासका क्षेत्रमा थप सहकार्यको आवश्यकता रहेको बताए । यसका लागि यूएन टुरिज्मलाई सहयोगका लागि आग्रह गरे ।

द्विपक्षीय प्रतिनिधिमण्डल बैठकमा राष्ट्रसंघ पर्यटनका एसिया–प्रशान्त क्षेत्रीय विभाग निर्देशक ह्यारी हुआङले नेपाली प्रतिनिधिमण्डलको संयुक्त राष्ट्रसंघ पर्यटनको मुख्यालय भ्रमणलाई ऐतिहासिक क्षणका रूपमा उल्लेख गरे । उनले नेपाललाई पर्यटन विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले नेपाल–संयुक्त राष्ट्रसंघीय पर्यटनसँगको सम्बन्धलाई थप सशक्त बनाउन नेपालले अब राष्ट्रसंघ पर्यटनसँग अझ घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपालको पर्यटन नीति सुधार, समावेशी पर्यटन प्रवद्र्धन र पर्यटन लाभको समान वितरणका लागि राष्ट्रसंघ पर्यटनको सहयोग आवश्यक रहेको बताए ।

पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालको साहसिक पर्यटन, इको–टुरिज्म र ग्रामीण पर्यटन सम्भावनाबारे चर्चा गर्दै नेपाललाई विश्व पर्यटन क्षेत्रमा अझ उचाइमा पुर्‍याउन संयुक्त परियोजना आवश्यक रहेको बताए ।

संयुक्त राष्ट्रसंघ पर्यटनका निर्देशक हुआङले नेपाललाई आगामी राष्ट्रसंघीय पर्यटन कार्यक्रममा सक्रिय सहभागी हुन, प्राथमिकताहरू उल्लेख गर्दै औपचारिक प्रस्ताव पेस गरे थप सहयोग गर्न तयार रहेको बताए । यस बैठकले नेपाल–राष्ट्रसंघीय पर्यटन सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

यसअघि पर्यटन बोर्डले स्पेनको म्याड्रिडमा स्पेनस्थित नेपाली दूतावाससँग सहकार्य गर्दै गन्तव्य प्रवद्र्धन कार्यक्रम आयोजना गरेको थियो । नेपाल र स्पेनबीच पर्यटन सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यक्रममा टुर तथा ट्राभल व्यवसायी र सञ्चारकर्मी सहभागी थिए ।

कार्यक्रममा स्पेनका लागि नेपालका राजदूत शनिल नेपालले नेपाल– स्पेनबीचको लामो समयदेखिको सम्बन्ध र हरेक वर्ष नेपाल भ्रमण गर्ने स्पेनी पर्यटकको बढ्दो संख्याबारे चर्चा गरेका थिए ।

पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक खड्गविक्रम शाहले नेपालको प्रकृति, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आतिथ्य सेवा सम्बन्धी प्रस्तुतीकरण गर्नुका साथै स्पेनी पर्यटकका लागि नेपाल प्रमुख गन्तव्य हुन सक्ने विषयमा जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?