
१७ चैत, काठमाडौं । औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङ हटेसँगै धागो उद्योगीले खुसी व्यक्त गरेका छन् ।
नेपालका सीमित निर्यातमुखी उद्योगमध्ये अग्रणी धागो उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यस क्षेत्रमा आश्रित उद्योगी र कामदार तथा सरकारको राजस्व आम्दानीमाथि नै गम्भीर असर परेको उद्योगीहरूको भनाइ छ ।
घरायसी प्रयोजनमा लोडसेडिङ अन्त्य भए पनि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङका कारण धागो उत्पादन लागत बढेको, क्षमता अनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवर्द्धनमा असर परेको धागो उत्पादक संघ अध्यक्ष पवनकुमार गोल्यानले बताए ।
यस अवस्थामा भारतबाट थप बिजुली आयात गरी नेपाल विद्युत् प्राधिकरणले पछिल्ला केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा धागो उत्पादक संघ हर्षित र उत्साहित भएको उनको भनाइ छ ।
‘औद्योगिक क्षेत्रमा लोडसेडिङ हटाउन भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गर्ने प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशकज्यू, ऊर्जामन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू तथा समग्र पहलकदमी लिने प्रधानमन्त्रीज्यूमा संघका तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले भने ।
संघमा आबद्ध उद्योगबाट हुने उत्पादनको ८० प्रतिशतभन्दा बढी वस्तु अहिले विभिन्न देशमा निर्यात भइरहेको छ । २०५३ सालमा संघ स्थापना भएयता वार्षिक करिब ४० हजार टन धागो निर्यात गरिरहेको यस उद्योगले निर्यातमार्फत राज्यको ढुकुटी र अर्थतन्त्रमा उल्लेख्य योगदान गरिरहेको उनले बताएका छन् ।
लोडसेडिङले पारेको समस्या पूर्णरूपमा समाधान गर्दै औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा विद्युत् उपभोग गर्न पाउने सुनिश्चितता प्रदान गरी उद्योग–व्यवसाय सञ्चालनका लागि सहज वातावरण सिर्जनातर्फ सरकारको सार्थक प्रयास रहने विश्वास उनको छ ।
उनले समग्र औद्योगिक क्षेत्रको अभिभावकीय जिम्मेवारीमा सरकार खरो उत्रियोस् भन्ने अपेक्षा सहित धन्यवाद व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4