
काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सले हालै विद्यार्थीलाई व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।
कलेजमा अध्ययनरत विद्यार्थी तथा पूर्वविद्यार्थीलाई विभिन्न व्यावसायिक व्यक्ति तथा लगानीकर्ता समक्ष आफ्नो नवीन व्यावसायिक अवधारणा प्रस्तुत गर्ने मौका प्रदान गर्ने गरी १४ चैतमा ‘बिजनेस पिचिङ इभेन्ट’ आयोजना गरिएको कलेजले जनाएको छ ।
कलेजका अनुसार कार्यक्रममा दुई विद्यार्थी समूह सहभागी थिए । उनीहरूले कार्यक्रममा आ–आफ्ना विभिन्न अवधारणा प्रस्तुत गरेका थिए । जसमध्ये एक थियो, धिरेन हमालले प्रस्तुत गरेको सुपर एप । उक्त एपले मेसेजिङ, पेमेन्ट सोलुसन्स, साना व्यवसायहरूको डिजिटल रूपान्तरण, राइड सेयरिङ जस्ता विभिन्न सेवा एउटै प्लेटफर्मबाट दिने लक्ष्य राखेको छ ।
हमालले उक्त एप बनाउन सफ्टवेरिका कलेजकै २०१२ का विद्यार्थी मोहित श्रेष्ठ (प्रडक्ट अनर), सहसंस्थापक तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) अनन्तविजय दौलिया र अर्का वित्तीय सल्लाहकारसँग सहकार्य गरेका छन् ।
त्यस्तै अर्को प्रडक्ट थियो, मार्केट ल्याब । यो एडटेक कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा केन्द्रित ट्रेन्डिङ फन्ड म्यानेजमेन्ट र लगानी सम्बन्धी कोर्सहरू उपलब्ध गराउने जनाइएको छ । यो अवधारणा कलेजका अन्तिम वर्षका विद्यार्थी आशिष सापकोटाले प्रस्तुत गरेका थिए ।
कलेजको यस्तो प्रेरणादायी कार्यक्रममा विद्यार्थीहरूको व्यावसायिक सोच सुन्न र सके सहयोग गर्न ग्लोबल इक्विटी फन्ड प्रबन्ध निर्देशक डा. मनीष थापा, डोल्मा इक्विटी फन्डका इन्भेस्मेन्ट एसोसिएट एकेन्द्र जोशी, बिजनेस कन्सल्ट्यान्ट सुदीप भाजु उपस्थित थिए ।
त्यसैगरी एभरेस्ट कलेजका संस्थापक तथा प्रिन्सिपल अनुप आचार्य, सनवे कलेजका निर्देशक कुशल रेग्मी र सनवे कलेजकी सञ्चालन निर्देशक सिमोली देसाइ थिए ।
यस कार्यक्रमले विद्यार्थीहरूलाई उद्योगका अनुभवी व्यक्तिसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने, सुझाव लिने, आफ्नो पेसागत सञ्जाल विस्तार गर्ने तथा सम्भावित लगानी अवसर खोज्ने अवसर प्रदान गरेको जनाइएको छ ।
त्यसैगरी सफ्टवेरिका कलेजले उद्यमशीलता तथा नवप्रवर्तन प्रवर्द्धन गर्न विद्यार्थीहरूलाई प्रेरित गर्ने प्रतिबद्धता झल्काएको जनाइएको छ ।
प्रतिक्रिया 4